विदेशमा समस्यामा परेका नेपाली श्रमिकको व्यवस्थापनका लागि आईएलओको थप ५ करोड सहयोग

डिसी नेपाल
१२ असोज २०७७ २०:१३

काठमाडौं। विदेशमा अफ्ठ्यारोमा परेका नेपाली श्रमिकको व्यवस्थपनका लागि संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई थप ५ करोड रुपैयाँ अनुदान दिने भएको छ। आईएलओ र एनआरएनएबीच यसै साता सहमतिपत्रमा हस्ताक्षर भएको संघका उपाध्यक्ष डा बद्री केसीले डिसी नेपाललाई बताए।

यसअघि आईएलओले संघलाई ५ करोड  १० लाख रुपैयाँ सहयोग दिएको थियो। अन्तर्राष्ट्रिय श्रम संगठनले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका श्रमिकहरुको सहयोगका लागि थप ५ करोड रुपैयाँ उपलब्ध गराएको उपाध्यक्ष केसीको भनाइ छ।

उनका अनुसार यो रकम विशेष गरी कोरोना महामारीका कारण मलेसिया, यूएई, कतार र साउदी अरबमा समस्यामा परेका नेपाली श्रमिकहरुको व्यवस्थापन तथा उद्धारमा खर्च गरिनेछ। त्यस्तै कोरोनाले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न पनि यो रकमको प्रयोग हुनेछ।

केसीका अनुसार प्राप्त उक्त रकम ती चार देशमा अत्यन्तै समस्यामा परेका नेपाली फर्काउनका लागि समेत खर्च गरिनेछ। त्यहाँ रोजगारी गुमाएर अत्यन्तै कठिनाइमा परेका नेपालीको स्वदेश फिर्ती तथा स्वदेश फर्किएपछि पीडितहरुलाई घरसम्म पुर्याउन रकम खर्च गरिने केसीले बताए।

संघले यसअघि प्राप्त गरेको रकमबाट ती चार मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली दूतावाससँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाइसकेको उनले बताए।

एनआरएनएले विदेशी संस्थाबाट यति ठूलो आर्थिक सहयोग प्राप्त गर्नु संघका लागि उपलब्धी भएको केसीको भनाइ छ। आईएलओले गरेको सहयोगले एनआरएनएलाई अन्तर्राष्ट्रिय समूदायले समेत विश्वास गर्ने वातावरण बनेको उनले बताए। यसले सकारात्मक सन्देश प्रवाह गरेको केसीले जनाए।

सहयोगका लागि गैरआवासीय नेपाली संघकातर्फबाट उपाध्यक्ष केसीसहित महासचिव डा हेमराज शर्मा, डा पुरु श्रेष्ठ र एकनाथ खतिवडाले प्रस्तावाना तयार पारेका थिए।आईएलओले संघको प्रस्तावलाई लामो समय अध्ययन गरेपछि आर्थिक सहयोग गरेको केसीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *