मौसम परिवर्तनका बेला रुघाखोकी लाग्दा पनि कोरोनाको त्रास

डिसी नेपाल
१३ असोज २०७७ १४:१९

काठमाडौं। हरेक वर्षको मौसम परिवर्तनका समयमा रुघाखोकी लाग्दा सामान्यरुपमा बुझ्ने हाम्रो समाज यो वर्षको मौसमी रुघाखोकीमा भने डराइ रहेको छ।

अघिल्ला वर्षहरुमा झै हिउँद लाग्न सुरु भएपछि सामान्य रुघाखोकीका लक्षणहरु देखिनु स्वभाविकै भएको जनस्वास्थ्य विज्ञहरुको बुझाइ छ। तर, यो वर्षको मौसमी रुघाखोकीमा हरेकले कोरोना देख्ने गरेका छन्। सामान्य रुघाखोकी लाग्दा पनि कोरोना परीक्षण अनिवार्य प्राय भएको छ।

‘गएका केही दिन रुघाखोकी लाग्याे,’ नुवाकोटकी रञ्जिता न्यौपानेले भनिन्, ‘कोरोना हो कि भन्ने त्रास भयो। आफैंले अफैलाई सम्झाएँ घर छोडेर कहीँ गएकी थिइन् कसरी कोरोना लाग्छ। तर, पनि कोरोनाको परीक्षण गराएँ।’

घरमै बसेकाहरुको पनि कोरोनाका कारण मृत्यु भएको खबरहरु सञ्चार माध्यममा सुनेको÷देखेको हुँदा डराएर कोरोना परीक्षण गराएको उनले सुनाइन्।

‘कोरोनाको रिपार्ट नेगेटिभ आयो,’ न्यौपानेले भनिन्, ‘पछि २÷४ दिनमा रुघाखोकी निको पनि भयो। तर, खोक्दा पनि अरुले के भन्छन् झैं मनभित्र डर लागिरह्यो।’

नुवाकोटको बेलकोटगडीमा मेडिकल सञ्चालन गर्दै आएका केशव अधिकारी भने मौसमी फ्लू हुदाँ रुघाखोकी लाग्नु सामान्य भएको बताउँछन्। उनले भने, ‘मौसम परिवर्तनका बेला रुघाखोकी लाग्नु सामान्य हो। तर, अहिले मान्छेहरु आत्तिँदै सोधपुछका लागि आउँछन्।’

जनस्वास्थ्यविद् डा. रविन्द्र समिर भने कोरोना र मौसमी रुगाखोकीको लक्षणहरु चिन्न र नआत्तिन सबैमा अनुरोध गर्छन्। डिसी नेपालसँगको कुराकानीमा उनले भने, ‘मौसम परिवर्तन हुँदै छ। गर्मी मौसम सकिएर चिसो मौसम सुरु हुनेबेला भयो। यो बेला मौसमी रुघाखोकी पनि लाग्न सक्छ। लक्षण चिन्ने गरौं। नआत्तिऔं।’

डा. समिरका अनुसार रुघाखोकी लाग्यो भने नाकबाट पानी बग्ने, नाक बन्द हुने, सामान्य खोकी लाग्ने ज्वरो आउने र सामान्यतः २÷४ दिनमा निको हुनेखालको हुन्छन्। कोरोनाका लक्षणहरु उस्तै देखिए पनि फरक हुने गरेको उनले बताए।

उनले भने, ‘कोरोना संक्रमण हुँदा आउने ज्वरो सामान्यतः १०२ डिग्रीदेखि १०४ डिग्री सेल्सियस हुन्छ। सुख्खा तथा लहरे खोकी लाग्छ। स्वास फेर्न गाह्रो हुन्छ। घाँटी बस्ने र थकाई बढी लाग्ने हुन्छ।’

डा समिरले भने, ‘दोस्रो चरण भएपछि आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्छ। पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुन्छ। स्वासप्रस्वासको अफ्ठेरोले गर्दा आफ्ना अन्य दिर्घ रोगलाई बढावा दिन्छ।’

कोरोना संक्रमण भएको तेस्रो चरणमा पुगेपछि स्वास फेर्न निकै गाह्रो हुने, बोल्न गाह्रो हुने, धेरै छाति दुख्ने, उठने निकै गाह्रो हुने, कुराहरु बिर्सर्ने बानी हुने र बेहोस हुने गरेको डा. रविन्द्र समिर बताउँछन्।  डा समिरले सबैलाई कोरोना संक्रमणको लक्षण र मौसमी रुघाखोकीको लक्षण चिनेर औषधि उपचार गर्न अनुरोध गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *