मुखमा शान्ति र रामरामः बगलीमा बारुद र बम

डिसी नेपाल
१४ असोज २०७७ ७:०२

अस्ति, सेप्टेम्बर २२ विश्व शान्ति दिवस, सबैको मुखमा शान्ति शान्ति। ४ दिनपछि सेप्टेम्बर २६, परमाणु निर्मुल दिवस, सबैको मुखमा शान्ति शान्ति। ७ दिनपछि पर्सि अक्टोबर २, अहिंसा दिवस। सबैको मुखमा शान्ति शान्ति। तर व्यवहारमा किन हाम्रो सोच, दृष्टि र कर्म लोभी, पापी अशान्ति र बिनाशकारी?

एकातिर हामी विश्व शान्ति दिवस मनाउँदै शान्तिको पुकार र प्रार्थना गर्दछौं। अर्कोतिर हामी जैविक हतियार, परमाणु हतियार, अन्तरदेशीय र अन्तरमहादेशीय क्षेप्यास्त्र निर्माण विकास र परीक्षणको खातिर अन्धाधुन्ध ठूलो धनराशी खर्च गरिरहेका छौं। कराइ र गराइबीचको यो भिन्नताको डरलाग्दो खाडल केले पुर्ने टाल्ने र भावी पुस्तालाई आश्वस्त पार्ने?

गरिब राष्ट्रले बनजंगल वन्यजन्तु हिमाल जोगाइदिनुपर्ने। अक्सिजन र शुद्ध हावा प्रवाहको पवित्र काम गरिदिनुपर्ने। धनीको कार्वनडाईअक्साईड घटाउने लुकाउने धर्म गरिदिनुपर्ने।

उनीहरुको क्यामरा रमाउने बाघ चितुवाजस्ता हिंस्रक र हात्ती गैंडाजस्ता भीमकाय वन्यजन्तु पालेर राखिदिनुपर्ने। गाँस, बास, कपास, शिक्षा स्वास्थ्य र विकासलाई तिलाञ्जली दिएर प्रकृति संरक्षणका खातिर स्रोत साधन सम्पति लगानी गरेर मानव–वन्यजन्तु द्वन्द्वको तनाव झेलेर जिउनुपर्ने।

धनी राष्ट्रले प्रकृतिको धनी धर्ती कमाउने, भत्काउने र टुक्राटुक्रा पार्ने जैविक र परमाणु हतियार निर्माण र संचिति गर्दै जाने। खोई शान्तिको आत्मसात् र सम्मान ? खोई बालबालिकाको भविष्यको हेक्का?

भेटरानहरुको मनोविज्ञान

दोश्रो विश्वयुद्धका भेटरानहरुको बहादुरी र गौरवको गाथा मृत्युवरण गर्ने बेलामा पश्चातापमा परिणत भएको पाए“। सिग्नल, मेडिकल, बन्दोबस्ती, यातायात अथवा सर्भिस सपोर्ट समूहका भेटरानहरुको पश्चाताप होइन शान्ति र गर्वले सुस्वास्थ्य, दीर्घ जीवन र मुहारमा चमक देखियो। मिसिनगन, तोप, बम–बारुद खेलाउने, पड्काउने, मार्नेको मन पश्चातापले डढाएको र शान्ति भंग भएको देखें।

अहिंसाका अनुयायी महात्मा गान्धीलाई खिल्ली उडाउँदै भारत अहिले न्युक्लियर शक्ति बढाउन उद्यत छ। बहुफ्रण्टमा सिमानाभरि सैनिक शक्ति तैनाथ गरेर युद्ध तयारीको सन्देश दिइरहेको छ।

अर्थ, उद्देश्य र गन्तविहिन पराइद्वारा पराइको लागि रचिएको र लादिएको नेपालको द्वन्द्वमा लड्ने मर्ने मार्ने कामको उत्तर र औचित्य आफू मरेपछि पनि नपाउने कुरामा आफैं ढुक्कु छु र त्यसको पीडाले घरिघरि घोचिरहन्छ पोलिरहन्छ। उमेर ढल्कदै जादा पीडा बढ्दै जाने छ र मृत्यूवरणको घडी कष्टप्रद हुने अनुभव ती भेटरानहरुबाट पाएको छु।

न्युक्लियर बम बनाउन शुरु गरेको आज (सन् १९३९–२०२०) ८१ वर्ष पूरा भएको छ। स्वघोषणा गरेर र अभिलेख राखेर धर्ती काम्ने र प्रकृति समूल नष्ट हुने गरी २०५६ पटक शक्तिशाली न्यूक्लियर परीक्षणको धक्का बेहोरेको छ प्रकृतिको धनी सुन्दर शान्त यो पृथ्वीले आजसम्म।

गोप्य परीक्षण र दुघर्टनाको लेखाजोखा छैन। आकाश, धर्ती, पात्ताल, समुन्द्रले बेहोरेको यो चोट र क्षतिको कल्पना गरेर ती शक्तिशाली विश्व नेताहरु, प्रशासकहरु, सैनिक कमाण्डरहरु, र वैज्ञानिक एवं प्राविधिकहरुले कुन सुख र शान्तिले देह त्याग गरे होलान्?

८१ वर्ष पछाडि आजका अन्धा र मुर्ख शासकहरुलाई समेत वर्तमान जुनियर रेञ्जर र बालबालिकाको अहम् प्रश्न त्यही रहेको छ। आज पनि रुस, अमेरिका, फ्रान्स, चीन र बेलायत क्रमशः ६८५०, ६१८५, ३००, २८० र २१५ न्यूक्लियर वारहेड् च्यापेर शान्तिमाथि धावा बोलिरहेका छन्। मुखमा राम राम जप्नेका बगलीका धारिला र विनासकारी छुरा हुन् ती। विश्वमाथि दादागिरी गर्ने र विश्वलाई तह लगाउने लुकेका खाने दाँत।

यो विनासकारी हतियार निर्माण, विकास, परीक्षण र प्रयोग गर्ने ती भेटरानहरुको मनमा खुशी, सुख, शान्ति र गर्व होला भनेर एउटा शान्तिकामी संवेदनशील मानिसले पत्याउने आधार पटक्कै देखिँदैन। लोभ, पाप र शक्तिको मातले उनीहरुले आफूमात्र देखे । भावी पिंढीको ख्यालै राखेनन्।

सन् १९४५ मा खाएको चोट आज ७५ वर्षसम्म निको भएको छैन हिरोसिमा र नागासाकीमा। लाखौंको ज्यान लिएको विष्फोटनका कारण त्यहाँ एउटा रुख उम्रिन सक्ने प्राकृतिक वातावरण फिरेको छैन।

चेर्नोबिल र फुकुसिमा दुर्घटनाको असरले मानवलगायत सम्पूर्ण जीवजन्तु माटो हावा पानीले आजसम्म सास्ती बेहोरिरहेको छ। अमेरिकाले नाभाडामा गरेको परीक्षणको असर युटाहा, कोलोराडो, योमिङ्ग, एरिजोना र न्यूमेक्सिकोसम्म परेको पाइएको छ। रुसको परीक्षणस्थल नोभाई जेम्लियामाको प्रभाव क्षेत्र उस्तै व्यापक छ।

विश्व शान्ति खलबल्याउने र मानवताविरुद्ध प्रयोग गर्न तयारी हालतमा राखिएका यी विनासकारी हतियारहरु बनाउने ती भेटरानहरुको अपवित्र आत्माको पश्चातापको ज्वाला कल्पनामात्र गरौं।

अनि सोधौं ती देशहरुलाई त्यसको अध्ययन, अनुसन्धान, विकास, परीक्षण र सन्चितिमा भएको खर्चको विवरण? अकल्पनीय धनराशी। सबैभन्दा भय त्रास र पीडाको भार तत्तत् देशलाई छ। विश्व प्रकृतिलाई र बालबालिकालाई झन् धेरै छ।

विश्व सैनिकको मनोविज्ञान

सैनिकहरु औषत अथवा सोभन्दा मुनिका सामान्य परिवारका सदस्य हुन्। अत्याधुनिक हतियारले सुसज्जित भएपनि त्यो क्षणिक हो र आफ्ना परिवार हलो कोदालो ट्याक्टर चलाउने श्रमजीवि मात्र हुन्। न्युक्लियर हतियारको होडबाजी र प्रयोग सैनिकविरुद्ध मात्र होइन उसको परिवार र समग्र मानवताविरुद्ध छ।

ऊ रामराज्यको सैनिक हुन चाहन्छ। तर विश्वमा भष्मासुर राक्षस र दैत्यहरुको शक्तिमात् र कुशासन व्याप्त छ। हाल महामारीको संक्रमणबाट गुज्रिरहेको विश्व समुदायमा माया ममता भातृत्व र एकताको अंकुर पलाएको छ। तर विश्वका शासकहरु झन उल्टो निरंकुश र तानाशाह बनेर ताण्डव नृत्य देखाइरहेका छन्। यस्तो पापी र दरिद्र विश्वका सैनिकहरु धर्म संकटमा छन्। राक्षसको शासनसत्ता बेहोर्न विवस छन्।

यो उनीहरुको चाहना होइन बाध्यता हो। किनभने सैनिक पनि मानव हो र ऊ जन्मजात् शान्तिकामी छ। ऊ अदूरदर्शी भ्रष्ट शासकलाई होइन प्रकृति र बालबालिकाको पक्षमा उभिन चाहन्छ। अमेरिकी सेनाले हालैको आन्दोलनमा शासकको होइन जनताको पक्षमा उभिएर विश्वलाई मानवताको पाठ सिकायो।

बालबालिकामा परेको असर

बालबालिकाका घर, बगैचा, स्कूल, कलेज शान्तिक्षेत्र हुन्। बालबालिका आफै शान्तिका दूत हुन्। आजका बालबालिकालाई थाहा छ– जैविक र परमाणु हतियारले उनीहरुको सुन्दर शान्त पृथ्वीलाई ध्वस्त पार्ने छ। त्यो मानवता र विश्व शान्तिविरुद्ध छ।

आज नभए भोलि, नभए पर्सी, नभए भविष्यमा कुनै एक दिन। बढ्दो जनसंख्या र धन तथा विकासे महत्वकांक्षाले मानिस ज्यादै तनावमा छ। मानवीय दरिद्रता र लोभपापले प्रकृतिको विनाश चुलिएको छ। सीमा नाघेको छ। प्रकृति झन् ठूलो पीडामा छ।

त्यसैले बालबालिकाको प्रकृतिको हक हरिएको छ। शुद्ध हावापानी वातावरणको हक लुटिएको छ। भावी सन्ततिको प्रकृतिलाई जैविक र परमाणु हतियारको चितामाथि राखिएको छ। विश्वभरि आतंकवाद, क्षेत्रीयता, जातीयता, रङ्ग, वर्ण, लिङ्ग, धर्म युद्धको बिजारोपण गरेर ‘विश्व शान्ति नारा’ लाई भरेको तोपको मुखमा राखिएको छ।

८० वर्षअघिका भेटरानहरु जीवित रहने कुरा भएन। २० वर्ष अगाडिका भेटरानहरुपनि छन् वा छैनन्। तर सुन्दर धर्तीलाई कुरुप पार्ने र यी विनासकारी हतियार थोपरेर जाने सबै भेटरानहरुले पृथ्वी प्रकृति र भावी पिंढीको स्वामित्व र अपनत्व लिएर संवेदनशील भै कर्म धर्म निभाएको देखिएन। ती सबै अक्षम्य अपराधी थिए।

क्षेत्रीय, जातीय, लैङ्गिक, वर्गीय, धार्मिक बिभेद निर्मुल गर्ने, सबैलाई समानता र सामाजिक न्याय दिने भनिएको थियो। तर कसरी परिणाम उल्टो भयो ? खोई हिजो बम बारुद् आगजनी गरेर राष्ट्रिय पूर्वाधार ध्वस्त पारेर ल्याएको शान्ति र परिवर्तन?

विश्वको यति धेरै राष्ट्रहरु र बालबालिकालाई गरिबीको रेखामुनि जबरजस्त धकेलेर आफू न्युक्लियर शक्ति बन्नेहरुको पापको पराकाष्ठा हेरौं। कुपोषण, भोग, रोग, अशिक्षाको अन्धकार र अन्यौलतामा धकेलेर आफू विनासकारी क्षेप्यास्त्रमाथि सिरानी राखेर सुत्न सक्ने धनी र ठूला भनाउदाहरुसंग अवोध बालबालिकाको चित्त कुंडिएको छ।

संयुक्त राष्ट्र संघमाथि खबरदारी

बालबालिकालाई जवाफ देऊ, संयुक्त राष्ट्र संघ तिमी को हौ? किन खडा भएका हौ ? कोद्वारा कसका लागि किन संचालित छौ? तिम्रो औचित्य के? अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवसको नाटक किन? खोई तिम्रो सन् १९४६ देखिको ‘विश्व परमाणु निषेध’ को संकल्प? कति सन्धि संझौता भए र तिनको खिल्ली उडाइयो। अहिंसा र विश्व शान्तिको नाटक किन?

पवित्र उद्धेश्य लिएर स्थापना भएको युएनको यति धेरै उपेक्षा र हेला किन? स्थापित विश्व संस्थाहरु निरीह, निकम्मा र बिघटन गर्न किन हतारो? जब कि विश्व शान्तिको नारा र आवश्यकता झन बुलन्द भएर आएको छ। संस्था खडा गर्न प्रलय कठिन हुन्छ, तर बिघटन सजिलो।

प्रश्नहरु जरुर उठेका छन् तर उत्तर कतैबाट आएको छैन। खोई ग्लोबल वार्मिङ्ग रोकेको? को हो जलवायु परिवर्तनको श्रोत र सम्वाहक? यति धेरै न्युक्लियर आर्सनलहरु, प्रकृतिका बोझ र क्यान्सरहरु, प्रकृतिमाथि थुपारेर निमुखा निम्छरा देशलाई ग्यास उत्सर्जन कम गरौं कुन नैतिकता र मुखले भन्ने?

पृथ्वीमा किन बन्दैन साना देशहरुको सशक्त संघ? बालबालिका र युवाहरुका लागि सरकार? वृद्धहरुलाई पृथ्वी र सन्ततिको माया छैन भनेर प्रमाणित भइसकेपछि युवाहरु किन अग्रसर नहुनु? शासन सत्ताको वास्तविक हकदार युवा हुन् जसलाई तुलनात्मक लामो बांच्नु छ। प्रकृति र पृथ्वीको लामो उपभोग गर्नु छ।

तपोभूमिको उपहास

गौतम बुद्धको जन्मभूमि नेपालको बुद्धत्व खुइल्याउन यहाँ रक्तपात गराइयो। जातीय, क्षेत्रीय, धार्मिक विखण्डनको विजारोपण गराइयो। त्यही बाटोमा जान हामी प्यादाहरु अशान्तिको खेल खेलिरहेका छौं।

अहिंसाका अनुयायी महात्मा गान्धीलाई खिल्ली उडाउँदै भारत अहिले न्युक्लियर शक्ति बढाउन उद्यत छ। बहुफ्रण्टमा सिमानाभरि सैनिक शक्ति तैनाथ गरेर युद्ध तयारीको सन्देश दिइरहेको छ। जब कि बुद्धको ‘विश्व शान्ति’ र महात्मा गान्धीको ‘विश्व अहिंसा’ ले युएनमा स्थान पाए र युएन लगायत सम्पूर्ण विश्वले भव्यताका साथ यी दिवस मनाउँदै आएको छ। बिडम्बना फेरि कराइ एउटा गराइ अर्को। नारा एउटा पारा अर्को।

पाँच न्यूक्लियर शक्तिलाई चुनौती दिँदै भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलले समेत न्युक्लियर हतियार विकास गरिसकेका छन्। आफू गर्ने अरुलाई नदिने दादा राष्ट्रहरुको बद्नियत् कहिलेसम्म सफल होला? युएन कति निरीह र मुकदर्शक भएर बस्ने?

नयाँ  नेपालको कथाव्यथा
बुद्धको शान्त देश, शान्ति क्षेत्र प्रस्ताव गरेर सयौं देशको स्वस्फूर्त समर्थन प्राप्त देश, शान्तिकामी जनता र शान्ति सैनिकहरुको देश।  नयाँ नेपालका शासकहरुले जिज्ञाशा मेटाइदिनुपर्यो हामी किन यति धेरै अशान्त र हिंस्रक ? अर्काले थोपरेको द्वन्द्व खेलेर भाइ भाइ काटमार गरेर शान्ति प्रक्रियामा अगाडि बढिरहेको नाटक गरिरहदा अझै किन एउटा खुट्टा संसदभित्र अर्को जङ्गलमा?

किन यति धेरै सशस्त्र विद्रोही समूहहरु? किन नेपाल आमालाई चिरेर पत्र पत्रमा हातहतियार गोला बारुद लुकाएर राखेको? प्रकृतिको दोहन र विनासमा किन लिप्त?

क्षेत्रीय, जातीय, लैङ्गिक, वर्गीय, धार्मिक बिभेद निर्मुल गर्ने, सबैलाई समानता र सामाजिक न्याय दिने भनिएको थियो। तर कसरी परिणाम उल्टो भयो ? खोई हिजो बम बारुद् आगजनी गरेर राष्ट्रिय पूर्वाधार ध्वस्त पारेर ल्याएको शान्ति र परिवर्तन?

नयाँ नेपाललाई परमाणु हतियारको बात लाग्ने कुरा भएन। तर सरकारी अत्याचार, भ्रष्टाचार, अन्याय, असमानता, हिंसा र विदेशी हस्तक्षेप नेपालको परमाणु हतियारको बाउ हो। हिंसा र अर्को भयानक द्वन्द्वको बिजोरोपण हो। अर्को आन्दोलन, विष्फोटन र परिवर्तनको सूचक हो।

निचोड

युएन, विश्व शान्ति संघ–संस्था, अधिकारकर्मी, संचारकर्मीले शान्ति, अहिंसा र परमाणु निषेधको नाटक बन्द गर। महाशक्ति र शक्ति राष्ट्रहरुले भातृत्व, शान्ति, विकासको नाटक बन्द गर।

मुखमा शान्ति व्यवहारमा क्रान्ति बन्द गर। सबैले फोहोरी राजनीतिक खेल, शक्ति सत्ता कुर्सी र सम्पतिको लोभी पापी खेल छिटो बन्द गर।
नाटक होइन, परिणाम देउ। तिम्रा परमाणुका कणभन्दा लाखौं गुना सानो कोरोना किटाणुबाट पाठ सिक–परमाणु र जैविक हतियार इमान्दारसाथ छिटो नष्ट गरौं।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *