भारतले म्यानमारसँग व्यापारिक र सैन्य सम्झौता गर्दै, चीनका लागि रणनैतिक काउन्टर

डिसी नेपाल
१८ असोज २०७७ १२:२९

काठमाडौं। भारतले म्यानमारसँग बहुप्रतिक्षित २ सम्झौता गर्दैछ । एउटा व्यापारिक र अर्को सैन्य सम्झौता हुन लागेको हो । सैन्य सम्झौता अन्तर्गत भारतले म्यानमारसँग जोडिएको आफ्नो सीमा क्षेत्रमा म्यानमारको सहयोगमा सुरक्षालाई थप बलियो पार्नेछ । भने अर्को सामुद्रिक व्यापार सम्बन्धी सम्झौता पनि हुँदैछ । यो व्यापारिक सम्झौतापछि बंगालको खाडीमा रहेको म्यानमारको सितवे बन्दरगाह र कलादान नदीमा बनेको बहुपक्षीय मोडल लिंक परियोजना हुँदै भारतीय जहाज सजिलै मिजोरम पुग्न सक्नेछन् ।

हिन्दूस्तान टाइम्सका अनुसार यो सम्झौता गर्नको लागि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र विदेश सचिव हर्षवर्धन श्रृंगला आइतबार २ दिवसीय भ्रमणको लागि म्यानमार जाँदैछन् । उनीहरुले म्यानमारकी स्टेट काउन्सिलर आंग सांग सुकी र सेना प्रमुख मिन अंग लेंगससहित शीर्ष राजनैतिक नेताहरुसँग भेट्नेछन् । यस क्रममा भारत–म्यानमार सीमा क्षेत्रमा अवैध लागूऔषध तस्करी र यहाँबाट हुने भारतविरोधी घुसपैठबारे पनि चर्चा हुने बताइएको छ ।

म्यानमार भारतको लागि रणनैतिक रुपमा निकै महत्वपूर्ण छ । भारत र म्यानमारबी १६४० मिलोमिटर लामो सीमा छ । उग्रवाद प्रभावित भारतका पूर्वोत्तर राज्यहरु नागाल्याण्ड, मनिपुर सहित कैयौं राज्यको सीमा म्यानमारसँग जोडिन्छ । भारतको यी राज्यमा सक्रिय उग्रवादी समूहले म्यानमारमा शरण लिने गरेका छन् । अहिले हुन लागेको सम्झौतामा यी समूहलाई म्यानमारमा शरण नदिने विषय पनि छ । म्यानमारसँग भारतको यो सम्झौता यसकारण पनि महत्वपूर्ण छ कि म्यानमारमा चीनको ठूलो प्रभाव छ । म्यानमारमा सडक, पुल लगायतका आधारभूत संरचनाको निर्माण, हाइड्रोकार्बन, उलर्जा र बन्दरगाहका क्षेत्रमा चीनको ठूलो सहयोग र लगानी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *