इतिहासले स्मरण गरिरहने लभस्टोरी भूमिकामा काम गर्ने इच्छा छ : गौरव विष्ट

डिसी नेपाल
८ भदौ २०८३ ९:४६

काठमाडौं । अभिनेता गौरव विष्ट नेपाली चलचित्र क्षेत्रका लागि अब नौलो नाम रहेन । उनको अभिनय उकालो यात्रामा छ । ‘परस्त्री’बाट अभिनेताका रूपमा डेब्यु गरेका विष्टले ‘पीताम्बर’, ‘के घर के डेरा’, ‘घर नम्बर २’ र ‘एक मुठी बादल’सम्म आइपुग्दा अभिनयमा निकारपन देख्न सकिन्छ ।

चलचित्रसँगै थिएटर र म्युजिक भिडियोमा समेत सक्रिय विष्ट अहिले आफूलाई फरक–फरक भूमिकामा प्रस्तुत गर्ने तयारीमा छन् ।

अभिनयमा निरन्तर सिकाइ र खोजीमा रहेका विष्टको अबको चाहना भने एउटा मिठो नेपाली लभस्टोरीमा अर्थपूर्ण चरित्र निर्वाह गर्नेछ । विश्व सिनेमामा ‘रोमियो एन्ड जुलियट’ जस्ता प्रेमकथाको उदाहरण दिँदै उनले नेपाली चलचित्रमा पनि लामो समयसम्म सम्झिइने प्रेमकथा बन्नुपर्ने धारणा राखे ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा विष्टले आफूले नेपालीपन बोकेको र दर्शकको मनमा लामो समयसम्म बस्न सक्ने लभस्टोरीमा काम गर्न चाहेको बताए ।

‘एउटा फिल्म सिध्याएर बसेको छु, अब नेक्स्ट प्रोजेक्टको तयारीमा ट्राइ गर्न खोजेको छु,’ उनले भने, ‘नेपालमा बसेर एउटा मिठो नेपाली वा मौलिक लभस्टोरीमा काम गर्न चाहन्छु ।’

उनका अनुसार नेपाली साहित्य तथा संस्कृतिमा प्रेमकथाका आफ्नै बलिया उदाहरण छन्। विशेषगरी ‘मुनामदन’लाई उनले नेपाली समाजले दशकौँपछि पनि सम्झिरहेको प्रेमकथाका रूपमा हेरेका छन् । त्यस्तै प्रकारको चरित्र र कथा चलचित्रमा निर्वाह गर्ने इच्छा आफूमा रहेको उनको भनाइ छ ।

‘वल्र्डवाइड नै एउटा उदाहरण छ नि, लभस्टोरीको रोमियो जुलियट भनेजस्तो। नेपालमा पनि पहिला मुनामदन भन्ने एउटा मिठो कथा थियो, जुन हामीले अहिलेसम्म पनि याद गर्छौं,’ उनले भने, ‘यस्तो खालको एउटा मिठो क्यारेक्टर भएको लभस्टोरी चाहिँ मलाई गर्न मन छ।’

युकेको बसाइ छाडी अभिनयको यात्रामा

गौरव विष्टको जीवनयात्रा निकै रोचक छ । चलचित्रमा ब्रेक पाउनुअघि उनी लामो समयसम्म बेलायत (युके) मा बस्थे। युकेमै बस्दा उनमा अभिनयप्रतिको मोह जागेको थियो र त्यहाँ नै अभिनयका केही प्रयासहरू पनि गरेका थिए । तर, नेपाली दर्शक र नेपाली माटो सुहाउँदो अभिनयका लागि युकेको साङ्गीतिक वा फिल्मी वातावरण त्यति सहज (फिजिबल) नहुने महसुस गरेर उनी स्वदेश फर्किए ।

नेपाल फर्केलगत्तै उनले व्यावसायिक रूपमा अभिनय कक्षा लिए र त्यसपछि लगातार चार–पाँच वर्षसम्म रंगमञ्च (थिएटर) मा कडा परिश्रम गरे । थिएटरमा लामो समय बिताएपछि मात्र उनले अन्ततः ठूलो पर्दामा (मुभीमा) अवसर पाएका हुन् ।

‘यूकेमा बस्दाखेरि नै एक्टिङमा केही गर्छु भन्ने थियो तर यूके अलिक फिजिबल हुँदैन नि त हाम्रो लागि,’ उनले भने, ‘त्यसैले नेपाल आएर नै केही गर्छु भनेर एक्टिङ क्लास लिएँ। त्यसपछि चार–पाँच वर्ष थिएटर गरेपछि मुभीमा ब्रेक पाएँ ।’

हालको साङ्गीतिक तथा फिल्मी यात्राप्रतिको सिकाइ र मेहनतप्रति उनी पूर्ण रूपमा सन्तुष्ट छन् । कलाकारिता भनेको निरन्तर सिकिरहने प्रक्रिया भएकाले आफूले अझै धेरै कुरा सिक्न बाँकी रहेको र नेपाली दर्शक तथा चलचित्र उद्योगलाई दिनका लागि धेरै कुराहरू बाँकी रहेको उनको भनाइ छ ।

थिएटर र चलचित्र : माध्यम फरक, कलाकार एउटै

रंगमञ्च र ठूलो पर्दाको चलचित्र दुवै विधामा काम गरिसकेका गौरव यी दुवै माध्यमका अनुभवहरूलाई निकै रोचक तरिकाले व्याख्या गर्छन् । थिएटर र चलचित्रमा काम गर्दाको अनुभव फरक भए पनि कलाकारका रूपमा आफूले हरेक माध्यममा उत्कृष्ट काम गर्ने प्रयास गर्ने गरेको विष्टको भनाइ छ ।

उनले भने, ‘समानता भनेको त म यसलाई इक्वालिटी भन्छु, किनकी दुवैतिर मैले आफ्नो सय प्रतिशत बेस्ट दिन र इमान्दार हुन प्रयास गरेको छु ।’

तर, विधागत रूपमा थिएटर र चलचित्रको जनरा पूर्ण रूपमा फरक रहेको उनको बुझाइ छ । उनका अनुसार थिएटरमा कलाकारले प्रत्यक्ष दर्शकमाझ अभिनय गर्न पाउने भएकाले त्यहाँ आफ्नो प्रस्तुति फराकिलो हुन्छ । चलचित्रमा भने क्यामेरा, फ्रेम, एंगल, बडी ल्याङ्ग्वेजलगायत प्राविधिक पक्षले अभिनयलाई नियन्त्रण गर्छ ।

‘थिएटरको जनरा एकदमै डिफरेन्ट हो, मुभीको जनरा एकदमै डिफरेन्ट हो, म्युजिक भिडियोको फेरि अर्को कम्प्लिट्ली डिफरेन्ट हो,’ उनले भने ।

थिएटरमा कलाकारले प्रत्यक्ष दर्शकको प्रतिक्रिया महसुस गर्न पाउने भए पनि चलचित्रमा सानोभन्दा सानो हाउभाउसमेत क्यामेराले कैद गर्ने भएकाले अभिनयको शैली फरक हुने उनको अनुभव छ ।

तर लामो समय विभिन्न माध्यममा काम गरेपछि अहिले आफूलाई यी सबै माध्यम बिस्तारै एउटैजस्तो लाग्न थालेको विष्ट बताउँछन् ।

क्राइम थ्रिलरभन्दा अहिले लभस्टोरीतिर आकर्षण

अभिनय यात्राको सुरुवाती चरणमा भने गौरवलाई क्राइम थ्रिलर विधाका चलचित्रमा काम गर्ने इच्छा थियो । विश्वका विभिन्न चलचित्र हेर्ने क्रममा आफूलाई क्राइम थ्रिलरमा केही फरक गर्न सकिन्छ कि भन्ने लाग्ने गरेको उनले बताए । तर अहिले उनको प्राथमिकता परिवर्तन भएको छ ।

‘पहिला चाहिँ क्राइम थ्रिलरमा अलिकति केही गर्न मन छ जस्तो लाग्थ्यो। तर अहिले आएर नेपालमा बसेर एउटा मिठो नेपाली लभस्टोरी दिन सक्यो भने भन्ने लाग्छ,’ उनले भने ।

उनका अनुसार प्रेमकथा केवल प्रेमी–प्रेमिकाको सम्बन्धमा सीमित नभई उनीहरूको जीवनयात्रा, संघर्ष, ड्रामा र भावनालाई समेटिएको हुनुपर्छ । आफूले त्यही खालको कथामा काम गर्न चाहेको उनले बताए ।

नेपाली चलचित्र उद्योगमा नयाँ विषय र शैलीको प्रयोग कम भइरहेको भन्ने बहस भइरहेका बेला विष्ट भने प्रयोगको प्रयास भइरहेको बताउँछन् । यद्यपि, सीमित बजेट र लगानीको जोखिमका कारण निर्माताहरू केही हदसम्म सुरक्षित बाटो रोज्न बाध्य हुने उनको बुझाइ छ ।

दर्शकको रुचि र नेपालीपन पनि चलचित्र निर्माणको एउटा महत्वपूर्ण पक्ष भएको उनको धारणा छ । नेपाली दर्शकले बाल्यकालदेखि नै सिरियल, म्युजिक भिडियो तथा चलचित्रमार्फत आफूलाई परिचित लाग्ने कथा र शैली हेर्दै आएको कारण पनि त्यसप्रतिको अपनत्व बलियो रहेको उनले बताए । यद्यपि बिस्तारै नयाँ विषय र शैलीका चलचित्र पनि आउन थालेको उनको बुझाइ छ ।

तीन खम्बा नै प्रेरणा

गौरवले आफ्नो अभिनय यात्राको प्रेरणाका रूपमा नेपाली चलचित्रका तीन चर्चित कलाकारलाई विशेष रूपमा सम्झिएका छन् । राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठलाई उनले आफ्नो पुस्ताले चलचित्रप्रति आकर्षित हुने आधारका रूपमा हेरेका छन् ।

‘म उहाँहरुलाई तीन पिलर नै भन्छु—राजेश सर, भुवन सर, शिव सर,’ उनले भने, ‘उहाँहरूको फिल्म हेर्दाहेर्दै मुभीलाई माया गरेर उहाँहरूबाट सुरु गरेका हौँ ।’

उनीहरूकै स्तरको कलाकार बन्ने चाहना आफूमा रहेको विष्टले बताए । त्यसका लागि अझै धेरै मेहनत र सिकाइ आवश्यक रहेको उनले बताए ।

‘पारिजात’मा गौरवको प्रेमभाव

अभिनयसँगै गौरव पछिल्लो समय म्युजिक भिडियोमा पनि देखिएका छन् । उनको अभिनय रहेको ‘पारिजात’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतलाई प्रकाश सिलवालले कम्पोज गर्नुका साथै आफैले स्वर दिएका छन् ।

प्रकाश र गौरवको सहकार्य करिब एक वर्ष अगाडि ‘रुमानी मौसम’ नामक अर्को मिठो गीतबाट सुरु भएको थियो । त्यसबेला नै प्रकाशले आफ्नो यो ड्रिम प्रोजेक्टबारे गौरवलाई बताएका थिए । त्यो कुरा सुनेपछि गौरव तत्कालै उक्त टिमसँग जोडिनका लागि उत्साहित भए ।

‘उहाँले मेरो अर्को गीत आउँदैछ, एकदमै मनमा भएको गीत, अहिलेसम्मको ड्रिम प्रोजेक्ट हो भन्नुभएको थियो,’ विष्टले भने, ‘त्यो भन्नेबित्तिकै म उहाँको लागि नै एक्साइटेड थिएँ । त्यसपछि लेट्स डु इट टुगेदर भनेर टिम बनाएर काम ग¥यौँ ।’

उनका अनुसार ‘पारिजात’को म्युजिक भिडियो तयार गर्न समय लागेको थियो । पाँच मिनेटको भिडियो देखिए पनि त्यसका हरेक साना–साना दृश्य र भावनालाई कैद गर्न निकै समय लागेको उनले बताए ।

‘साना–साना मोमेन्टहरूलाई कम्बाइन गर्दा त्यो पाँच मिनेटको मिठो भावना बन्ने हो,’ उनले भने, ‘एउटा पाँच सेकेन्डको मोमेन्ट खेलाउनलाई पनि आधा दिन जान सक्छ । त्यो मोमेन्टलाई कसरी क्याप्चर गर्ने र कसरी ब्युटिफुली देखाउने भन्नेमा काम गर्नुपर्छ ।’

आफ्नो आगामी परियोजनाबारे भने विष्टले ठोस घोषणा गरिसकेका छैनन् । तर एउटा स्क्रिप्टमा काम भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार आफूले चाहेको जस्तो प्रेमकथा बनाउनका लागि कुराकानी र तयारी भइरहेको छ । यद्यपि, कुन चलचित्र, कसको निर्देशन वा कहिले छायांकन सुरु हुने भन्ने विषयमा अहिले नै सार्वजनिक गर्ने अवस्था नरहेको उनले बताए ।

भविष्यको योजनाबारे उनी धेरै टाढासम्म सोचेर दबाब लिन चाहँदैनन् । अहिले आफूले गरिरहेको काममा खुसी र सन्तुष्ट रहेको उनको भनाइ छ ।

‘भविष्य कसले देखेको छ र ? भविष्य त कसैले देख्दैन,’ उनले भने, ‘म प्रेजेन्टमा बिलिभ गर्छु, अहिले म जे गरिरहेको छु, त्यसमा खुसी छु । भोलि यही कामबाट सफल भइयोस् भन्ने चाहना त सबैलाई हुन्छ, तर स्याटिस्फाइड हुनुपर्छ । म अहिले स्याटिस्फाइड छु ।’

गौरवका लागि अहिलेको समय सिकाइ, प्रयोग र आफूलाई फरक भूमिकामा प्रमाणित गर्ने चरण हो । नेपाली चलचित्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै जाँदा अबको उनको खोजी भने दर्शकले लामो समयसम्म सम्झिरहने एउटा प्रेमकथा र चरित्रतर्फ केन्द्रित देखिन्छ । स्क्रिप्टमा काम निरन्तर भइरहेकाले दर्शकले चाँडै नै उनलाई नयाँ भूमिकामा देख्न पाउनेछन् ।

उनले ‘पारिजात’ म्युजिक भिडियो दर्शकले हेरेर प्रतिक्रिया दिनसमेत आग्रह गरेका छन् । ‘मनबाट काम गरेका छौँ, मनबाट एउटा मिठो कुरा दिन खोजेका छौँ,’ उनले भने, ‘प्लिज हेरिदिनुहोस्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *