डोनल्ड ट्रम्पअघि यी अमेरिकी राष्ट्रपतिले पनि आफ्नो स्वास्थ्यसम्बन्धी समस्या लुकाएका थिए

डिसी नेपाल
१९ असोज २०७७ १२:३९

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका चिकित्सक डा. सीन कोन्लीले राष्ट्रपतिलाई अक्सिजन दिइएको स्वीकार गरेका छन्। तर अघिल्लो दिनसम्म उनले यो कुरा पुष्टि गर्ने मानेका थिएनन्।

कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि वाशिङ्टनस्थित द वाल्टर रीड न्याश्नल मिलिटरी मेडिकल सेन्टरमा ट्रम्प भर्ना भएका छन्।

यसअघि अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पलाई कोरोनाभाइरस सङ्क्रमण भएको पहिल्यै थाहा भइसकेको जनाएका थिए। तर बिहीवार फोक्स न्यूज च्यानलमा देखा पर्दा पनि ट्रम्पले त्यसबारे केही खुलाएका थिएनन्।

सङ्क्रमणको जोखिमलाई लिएर कतिपयले त्यसको पनि आलोचना गरे। तर पदासीन राष्ट्रपतिको स्वास्थ्य स्थितिबारे विरोधाभासपूर्ण जानकारी दिने ट्रम्प प्रशासन पहिलो भने होइन।

अमेरिकी राष्ट्रपतिहरूले आफ्नो स्वास्थ्य समस्यालाई लुकाउने इतिहास लामै रहेको छ। सन् १८१३ मा राष्ट्रपति जेम्स म्याडिसनको प्रशासनले कङ्ग्रेसका सदस्यहरूलाई भेट्न उनी असमर्थ रहेको जानकारी गरायो।

तर आन्द्रासम्बन्धी समस्या र ज्वरो आएर एक महिनादेखि उनलाई बिसन्चो भएको विषयमा प्रशासनले केही पनि बताएन। उनी यतिसम्म बिरामी भए कि आफूकहाँ ल्याइने गरिएका कङ्ग्रेसका दस्तावेजहरू पनि उनी पढ्न नसक्ने भए।

सन् १८९३ मा राष्ट्रपति ग्रोभर क्लेभल्यान्डले मुखको क्यान्सरको उपचार गराए। तर उनले आफू बिरामी भएको र शल्यक्रिया गराउनुपरेको कुरा बाहिर नजाओस् भन्ने चाहे।

अस्पतालबाट सूचना चुहिन सक्ने आशङ्कामा राष्ट्रपति क्लेभल्यान्डले आफ्ना साथीको एउटा पानीजहाजमै चिकित्सकहरूबाट शल्यक्रिया गराए। सबैभन्दा चर्चित घटना सम्भवतः राष्ट्रपति फ्र्याङ्क्लिन डी. रूजवेल्टको हुनुपर्छ।

सन् १९३३ देखि १९४५ सम्म राष्ट्रपति रहेका रूजवेल्ट ‘लेग ब्रेसेज’ बिना हिँड्न सक्दैनथे। तर ह्वाइट हाउसले राष्ट्रपतिको स्वास्थ्यमा पक्षाघातको असर परेको कुरा जनताबाट सधैँ लुकाउने प्रयत्न गरिरह्यो।

अनि अमेरिकाका सबैभन्दा कान्छो राष्ट्रपतिको स्वास्थ्यमा समस्या रहेको कुरा बाहिर आउन कैयौँ वर्ष लाग्यो। उनी ‘एड्रिनल डिस्अर्डर’ बाट पीडित थिए।

तर ती स्वास्थ्य समस्याहरू वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको जस्तो सङ्क्रामक रोगसँग सम्बन्धित थिएनन्। आउँदो नोभेम्बर ३ तारिखमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनसँग ट्रम्पको प्रतिस्पर्धा हुनेछ। शनिवार राष्ट्रपति ट्रम्पले आफू चुनावी प्रचारप्रसार अभियानमा फर्किन चाहेको बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *