राष्ट्रसंघीय महासचिवद्धारा कारबम हमलाको निन्दा

डिसी नेपाल
१९ असोज २०७७ १६:०९

न्युयोर्क । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा गरेका छन् । अफगानिस्तानको नानगाहार प्रान्तको एक जिल्लामा रहेको सरकारी कार्यालय परिसर गएको शनिबार अपराह्न तालिबानी आत्मघाती लडाकूहरुले कारबम हमला गरेका थिए ।

त्यस कारबम आक्रमणमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको थियो भने अरु करिब ४२ जना नराम्ररी घाइते भएका थिए । अपरान्ह कार्यालय समयमा सेवा लिन गएका सर्वसाधारण नागरिकहरुको भिडभाड रहेको मौका पारेर आत्मघातीहरुले नान्गाहार प्रान्तको जिल्ला प्रशासनिक कार्यालयमा सो बम हमला भएको थियो ।

त्यस क्रममा सरकारी काम लिन सो कार्यालयमा लाममा बसेका सर्वसाधारणको ज्यान गएको थियो । घाइते हुने पनि सेवा लिन त्यहाँ पुगेका सर्वसाधारण थिए । यसरी आफ्ना कामका लागि सरकारी कार्यालयमा पुगेका सर्वसाधारण नागरिकको हत्या गर्नु जघन्य अपराध हो भन्दै महासचिव गुटर्रेसले त्यस कार्यको कडा शब्दमा निन्दा गरेका छन् ।

महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकद्धारा आइतबार जारी गरिएको विज्ञप्तिमा सो कुरा बताइएको छ । सो विज्ञप्तिमा महासचिव गुटर्रेसले यस जघन्य अपराधमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने पनि बताएका छन् ।

साथै उनले यस आक्रमणमा परी ज्यान गुमाएका परिवारका सदस्यहरुप्रति समवेदना व्यक्त गर्दै निधन भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । महासचिव गुटर्रेसले सो बम हमलामा परी घाइते भएका सर्वसाधारण नागरिकको स्वास्थ्या लाभको कामना गरेको पनि उनका प्रवक्ता डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *