प्रदेश सभामा तोडफोड गरेपछि काँग्रेसको चौतर्फी आलोचना, मन्त्रीले पनि दिए विधायकलाई बाहिर निकाल्ने आदेश

डिसी नेपाल
१९ असोज २०७७ १७:१२

काठमाडौं। सोमबार प्रदेशको स्थायी राजधानीका विषयमा प्रदेश सरकारले पेश गरेको प्रस्तवमाथि छलफल हुँदा प्रदेश नम्बर ५ को प्रदेश सभामा अप्रिय घटना भयो। त्यसमा पनि आफूलाई संसदीय परम्पराको हिमायती ठान्ने दल नेपाली काँग्रेसका विधायकहरुबाट।

प्रदेश सरकारका मन्त्री कुलप्रसाद केसी संसदको रोष्टममा सरकारको प्रस्ताव टेबुल गर्न जाँदै गर्दा काँग्रेस विधायकहरुले एकाएक कुर्सी तोडफोड शुरु गरे। उनीहरुले कुर्सीमात्र तोडफोड गरेनन् माइक पनि भाँचिदिए।

काँग्रेस विधायकहरुको यो चर्तिकला प्रदेशसभाको यूट्युब च्यालनबाट लाइभ प्रशारण भइरहेको थियो। अहिले सो कुर्सी तोडफोडको फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सामाजिक सञ्जालमा आलोचनासहित सो फुटेज शेयर गर्नेहरुको संख्या ह्वात्तै बढेको छ।

फेसबुक, ट्वीटरमा यो भिडियो सयौं मानिसहरुले शेयर गरेका छन्। सबै तप्तकाबाट काँग्रेस विधायकहरुको आलोचना भएको छ। कतिपयहरुले काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्मालाई मेन्सन गर्दै यी विधायकहरुलाई कारबाही गर्न चुनौतिसमेत दिएका छन्।

सोमबारको बैठकमा अमर्यादित गतिविधि काँग्रेस विधायकले मात्र गरेनन्, मन्त्री केसी पनि अमर्यादित भाषामा उत्रिए। उनले सरकारको प्रश्तावमाथि उठेका प्रश्नको जवाफ दिँदा तोडफोड रोकिएको थियो, नारावाजी भने चलिरहेको थियो।

त्यसपछि रोष्टममा उभिएका मन्त्री केसीले मर्यादापालकलाई आदेश दिए, ‘यी हल्ला गर्नेहरुलाई घिसारेरै बाहिर निकाल।’ मन्त्री केसीको यो भनाई पनि संसदीय परम्परा र मर्यादामा नपर्ने विषय हो। रोष्टमबाट कुनै पनि मन्त्रीले विधायकहरुमाथि कुनै आदेश वा व्यक्तिगत टिप्पणी गर्न पाउँदैन। र बैठक कक्षबाट बाहिर निकाल्ने आदेश दिन सक्दैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *