एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको प्रक्रिया अघि बढाउन उपमेयरको संयोजकत्वमा कार्यदल

डिसी नेपाल
२० असोज २०७७ ८:३०

काठमाडौं। काठमाडौंको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको प्रक्रिया अघि बढाउन महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन भएको छ।

असोज १९ गते महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सभा गृहमा बसेको ५१ औ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो। कार्यदलको सदस्यमा वडा १२ का अध्यक्ष एवं वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोल, वडा ४ का अध्यक्ष मोहन बिष्ट र सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत छन्। कार्यदलको सदस्य सचिवमा वातावरण व्यवस्थापन बिभागका प्रमुखले काम गर्नेछन्।

‘लगानी बोर्डबाट थालनी भएर महानगरमा फाइल आएको यो परियोजनालाई कसरी अगाडि बढाउन सकिन्छ? सरोकारवालासँग कुरा गर्न, विकासकर्तासँग सर्तमा सहमति गर्न र प्रक्रियालाई टुङ्गोमा पुर्याउन जिम्मेवारी तोकेर निरन्तर काम गर्नुपर्ने भएकोले उपप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ,’ बैठकका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले जानकारी गराए।

काठमाडौं उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्र सहभागी गराउन लगानी बोर्डबाट अघि बढेको प्रक्रिया २०७५ साउन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ३१ औं बैठकले बिकासकर्तासँगको परियोजना बिकास सम्झौता स्वीकृत गरेको थियो।

यस अघि २०७४ फागुन २४ गते निजी क्षेत्रलाई काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनको जिम्मा दिने लगानी वोर्डका तत्कालीन प्रमुख कार्यकारी महाप्रसाद अधिकारी र निजी क्षेत्रकोतर्फबाट नेपवेष्टकी अध्यक्ष संगीता श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

अन्तिम सम्झौताका लागि ट्रान्सफर स्टेशन प्राप्ति, जनशक्ति व्यवस्थापनलगायत केही बिषयमा दुई पक्षका वीचका केही सर्तमा सहमति जुटाउन बाँकी छ। यो चरणमा लगानी बोर्डबाट फाइल महानगरमा आएको हो।

कार्यपालिका बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले परियोजना शुरु भएदेखि अहिलेसम्म भएका प्रयास, यसका सम्भावना र चुनौतीका बिषयमा प्रस्तुति गरेका थिए। ‘निर्णय गरेर खुरुखुरु काम गर्ने हो सम्झौताको चरणमा पुग्न ९ महिना लाग्छ,’ उपाध्यक्ष बस्नेतको भनाइ थियो।

बैठकले सामाजिक विकास बिभागले प्रस्ताव गरेको लक्षित बर्ग व्यवस्थापन निर्देशिका तयार पार्न सैद्धान्तिक सहमति दिएको छ। यसैगरी कृषि बिभागले प्रस्ताव गरेको प्राङ्गारिक कृषि उपज प्रवर्धन कार्यक्रमको कार्यान्वयन कार्यबिधि, बजार निरीक्षण तथा अनगमन कार्यबिधि, विषादि अवषेश बिश्लेषण कार्यक्रम सञ्चालन निर्देशिकाका लागि सहमति दिएको छ।

यसैगरी वित्त बिभागले प्रस्ताव गरेृको काठमाडौ ंमहानगरपालिका आर्थिक प्रशासन नियमावली र राजस्व बिभागले प्रस्ताव गरेको विद्युतीय माध्यमबाट राजस्व निर्धारण तथा संकलन प्रणालीमा विवरण भर्ने मार्गदर्शनका लागि सहमति दिएको छ। सहरी योजना आयोगले तयार पारेको सिल्भर भोलेन्टियर कार्यबिधि र महिला उद्यमशाला कार्यबिधिका बारे बैठकमा जानकारी गराइएको थियो।

बैठकले नेपाल भाषाको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ््यक्रम यसै शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने निर्णय गरेको छ। यसैगरी फुटकर जिन्सी सामाग्रीको दररेट स्वीकृत गरेको छ।

पशुपति क्षेत्रमा ३ वटा शवदाह उपकरणसहित एउटा गृह निर्माण गर्ने निर्णय भएको छ। पशुपति क्षेत्र विकास कोषले शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने बैठकले निर्णय गरेको हो।

बैठकमा कोभिड महामारी, रोकथाम र नियन्त्रणका लागि वडाबाट भएका प्रयास र अनलाइन प्रणालीबाट राजस्व निर्धारण तथा संकलन प्रणालीका सम्भावना र समस्याका बारेमा छलफल गरिएको थियो।

महानगरले कोभिड १९ को परामर्श र बिशेषज्ञ सेवाका लागि संघ सरकारबाट चिकित्सक ल्याउन लागिएको छ। बैठकमा कोभिडका बारेमा उठेका प्रश्नको उत्तरमा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले जानकारी गराएका थिए।

अनलाइन राजस्व प्रणाली सञ्चालन शुरुवातको चरण भएकोले केही समस्या देखिएका छन् । थनशक्ति र श्रोत थपेरै भए पनि यसलाई सफल बनाउनु पर्छ । व्यक्तिको भौतिक उपस्थितिबिना काम हुने प्रणाली स्थापना गर्ने यो राम्रो अवसर पनि हो। उनको भनाइ थियो।

बैठकमा महानगरका प्रवक्ता एव वडा १५ का अध्यक्ष इश्वरमा डंगोल, वडा ३० का अध्यक्ष दलबहादुर कार्की, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, वडा १२ का अध्यक्ष विकास डंगोल, ७ का अध्यक्ष शुद्धकुमार डंगोल र ५ का अध्यक्ष रमेश डंगोलले धारणा राखेका थिए। उनीहरुको धारणा कोभिडको प्रभावकारी नियन्त्रण, अनलाइन प्रणालीको कार्यान्वयन, शैक्षिक कार्यक्रम र जनशक्ति व्यवस्थापनका बिषयमा केन्द्रित थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *