कोरोनाका कारण आयुर्वेद उपचार गराउने बढ्दै

रासस
२० असोज २०७७ १९:२२

वाग्मती । कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि नारायणी अञ्चल आयुर्वेद औषधालय हेटौँडामा उपचार तथा परामर्श लिनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै औषधालयमा उपचार गराउन आउनेको सङ्ख्यामा पनि वृद्धि भएको बताइएको छ ।

रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि उपयोगी हुने विश्वासले वर्तमान समयमा आयुर्वेद प्रतिमोह जागेको त्यहाँका कर्मचारीहरुले बताएका छन् । उपचार गराउने र औषधि सेवनको सङ्ख्या बढेपछि त्यहाँ औषधि, जनशक्ति र बजेटको समस्या आएको औषधालयका सूचना अधिकारी वैकुण्ठ आचार्यले बताए ।

चालू आर्थिक वर्षको साउनदेखि असोज १५ गतेसम्ममा करीब दुई हजारले स्वास्थ्य सेवा प्राप्त गरेको औषधालयको विवरणमा उल्लेख गरिएको छ । कोरोना सङ्क्रमण बढेपछि २०७६÷७७ मा आठ हजारभन्दा बढीले उपचार सेवा लिएको छ भने यसअघि २०७५÷७६ मा सात हजार ७०० ले उपचार सेवा लिएको थियो ।

कोरोना सङ्क्रमणको उपचार तथा परामर्श र रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेद विभागले पठाएको निर्देशनानुसार काम भइरहेको सूचना अधिकारी आचार्यले जानकारी दिए । क्वारेन्टिनमा बसेकाहरुलाई त्यहाँ उपचार तथा परामर्श दिने काम भइरहेको पनि बताइएको छ ।

क्वारेन्टिनमा बसेका शङ्कास्पद बिरामीहरुलाई अश्वगन्धा चुर्ण, गुर्जो चुर्ण, मधु चुर्ण, चिथोपल्लाजी चुर्णको प्रयोगसहित आवश्यक परामर्शसमेत दिने गरिएको छ । त्यस औषधालयले ज्येष्ठ नागरिक सेवा, स्तनपायी सेवा, गाउँघर क्लिनिक र धामीझाँक्रीलगायत स्वास्थ्य समस्या निवारणका कार्यक्रम गरिरहेको बताइएको छ ।

औषधालयमा फिजियोथेरापी, प्रयोगशाला सेवा र पञ्चकर्मअन्तर्गत पूर्वकर्मसेवा र शिरोधारा स्वास्थ्य सेवा पनि सञ्चालनमा रहेको पाइएको छ । आयुर्वेद औषधालयमा अहिले बालकदेखि वृद्धवृद्धासमेत उपचार गराउन आउने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *