अमेरिकी उपराष्ट्रपति बहसः बाइडेन चीनको चियरलिडर भएको पेन्सको आरोप

डिसी नेपाल
२२ असोज २०७७ ८:३८

काठमाडौं। अमेरिकामा राष्ट्रपतीय निर्वाचनअघि पहिलो र एकमात्र उपराष्ट्रपतीय बहसमा अहिलेका उपराष्ट्रपति तथा निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार माइक पेन्सले राष्ट्रपति पदका डेमोक्रयाट उम्मेदवार जो बाइडेनमाथि चीनको चियरलिडर भएको आरोप लगाएका छन् । बहस स्थानीय समयअनुसार बुधबार साँझ (नेपाली समय बिहीबार बिहान) साल्ट लेक सिटिमा भएको हो । बहसमा रिपब्लिकन पार्टीका तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार माइक पेन्स र डेमोक्रयाटकी उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिस सहभागी भए ।

बहसमा मुख्य मुद्दा कोरोनाभाइरस रह्यो । ह्यारिसले सुरुवातमै आक्रामक हुँदै भनिन् ‘कोरोनाको मुद्दामा ट्रम्प सरकार पूर्ण रुपमा असफल भइरहेको छ । यसका हजारौं उदाहरण दिन सकिन्छ ।’ जवाफमा माइक पेन्सले भने ‘हामीले चीनबाट आउनेहरुमा रोक लगायौं । यसबाट हजारौं अमेरिकीको ज्यान बचाउन सकियो ।’ राष्ट्रपति ट्रम्प संक्रमित पाइएपछि पेन्सले अहिले दैनिक परीक्षण गराइरहेका छन् । बुधबार राती उनले भने ‘मैले फेरि टेस्ट गराएको छु । मेरो रिपोर्ट नेगेटिभ आएको छ ।’

ह्वाइट हाउसमा अहिलेसम्म १८ जना संक्रमित भइसकेका छन् । तीन सिनेटर र ट्रम्पका केही सल्लाहकारहरु संक्रमित पाइएका छन् । आजको बहसमा दुवै उम्मेदवारको बीचमा सीसा लगाइएको छ । दुवै उम्मेदवारको बीचमा १२ फिटको दूरी राखिएको छ । पहिले यो ७ फिटमात्र निर्धारित थियो । पेन्सले पहिले सीसा लगाउने कुराको विरोध गरेका थिए तर पछि यसको लागि तयार भए ।

कोरोनाभाइरसका विषयमा पेन्सले भने ‘तपाइँ हरेक कुराको लागि राष्ट्रपति ट्रम्पलाई दोषी किन ठहर गर्दै हुनुहुन्छ ? उहाँले चीनबाट आउने मानिसहरुमा रोक लगाएर देखाउनुभएको छ कि उहाँ कति कडा फैसला लिन सक्नुहुन्छ । उहाँले हजारौंको ज्यान बचाउनुभएको छ ।’ जवाफमा ह्यारिसले भनिन् ‘यो सरकार दोस्रो पटक चुनाव जित्न लायक नै छेन । उनीहरुले नागरिकको विश्वास गुमाइसकेका छन् । ट्रम्प प्रशासनले महामारीलाई ढाकछोप गर्ने कोसिस गर्यो । राष्ट्रपतिले महामारीलाई झुट भन्छन् । राष्ट्रपति र तपाइँले २८ जनवरीमै यसबारे थाहा पाउनुभएको थियो । तर तपाइँको सरकारले केही नगरी चुपचाप तमासा हेरिरह्यो ।’

कोरोनाभाइरस भ्याक्सिनका विषयमा कमलाले भनिन् ‘भ्याक्सिन आयो र राष्ट्रपति ट्रम्पले मलाई भ्याक्सिन लगाउन भने पनि म भ्याक्सिन लगाउँदिन । हो, यदि डाक्टरले भन्छन् भने भ्याक्सिन लगाउन सकिन्छ । त्यसैले म सबैभन्दा पहिले डाक्टरको विश्वास गर्छु तर ट्रम्पको कुरामा विश्वस गर्न सक्दिन ।’ जवाफमा पेन्सले भने ‘तपाइँ भ्याक्सिनको मुद्दामा पनि राजनीति गर्दै हुनुहुन्छ । हामी जनतालाई के सन्देश दिँदैछौं ? राजनीति बन्छ गर्नुस् । यो जनताको जीवनसँग सम्बन्धित मुद्दा हो ।’

अर्थव्यवस्थाको बारेमा कुरा गर्दै कमलाले भनिन् ‘बाराक ओबामाको कार्यकालमा हामीले ओबामा केयर बिल लिएर आएका थियौं । यसबाट २ करोड अमेरिकीले लाभ लिए । स्वास्थ्य सूचकांकमा धेरै सुधार भयो । राष्ट्रपति र तपाइँको सरकारले यसमा ताला लगाउँदैछ । यसबाट अर्थतन्त्रमा पनि बोझ बढ्नेछ । यसको जिम्मेवारी कसले लिन्छ ?’ जवाफमा पेन्सले भने ‘बाइडेनको आर्थिक योजना लागू गर्नु भनेको चीनको अगाडि आत्मसमर्पण गर्नु हुनेछ । तपाइँ चीनको अगाडि घुँडा टेक्ने योजना दिँदै हुनुहुन्छ । ट्रम्पले कर कम गर्ने भन्नुभएको छ । ४ सदस्यीय परिवारको औसत आय ४ हजार डलर वार्षिक भइसकेको छ । यो यसकारण भयो किनकि हामीले कर कम गर्यौं ।’

अमेरिका चीन सम्बन्धबारे पेन्सले भने ‘कैयौं वर्षदेखि बाइडेन चीनको चियरलिडर बनिरहेका छन् । हामीले जब चिनियाँमाथि प्रतिबन्ध लगायौं र कडा कारवाही गर्यौं, तपाइँको पार्टी र बाइडेनले यसको विरोध किन गरे ? के तपाइँ मान्नुहुन्न कि कोरोनाभाइरस फैलाउनुको पछाडि केवल चीनको हात छ ?’ जवाफमा कमलाले भनिन् ‘यो दावी त तपाइँ गर्न सक्न्ुहुन्न । तपाइँको कार्यकालमामा अमेरिका चीनसँग व्यापारयुद्धमा हारिसकेको छ । किसान टाट पल्टिएका छन् । उत्पादनको हिसाबले हामी मन्दीको अवस्थामा पुगिसकेका छौं । देशमा रोजगारी कम भएका छन् ।’

बहसकै क्रममा उपराष्ट्रपति माइक पेन्ससँग राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यको बारेमा सोधिएको थियो । यसको जवाफ दिन एक किसिमले पेन्सले अस्वीकार नै गरे । उनले भने ‘यसबारेमा गलत कुरा फैलाइएको छ । जो जरुरी हुनेछ त्यो जानकारी दिइनेछ ।’ पेन्सले कमलालाई उपराष्ट्रपतिको उम्मेदवार भएकोमा बधाइ दिँदै भने ‘यो सम्मान पाउने तपाइँ पहिलो अश्वेत महिला हुनुहुन्छ ।’ बधाइको लागि धन्यवाद दिँदै कमलाले फेरि पनि ट्रम्पको स्वास्थ्यबारे जानकारी नदिइएकोमा प्रश्न उठाइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *