कोरोनाका संक्रमित बढाउनमा सरकारको ठूलो हात छ !

तर्कबहादुर थापा
२२ असोज २०७७ १०:४७

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. ७ निवासी राम शर्मा (नाम परिवर्तन) लाई कोरोना संक्रमण पुष्टि भएको आज ५ दिन भयो। गत विहीबार वीर अस्पतालमा स्वाब दिएका उनको आइतबार रिपोर्ट आएको थियो।

‘आइतबार अबेर रिपोर्ट आएको हो,’ शर्माले भने, ‘कसैले फोन गरेका छैनन्।’ सरकारले हालसम्म कोरोना पोजेटिभ रिपोर्ट आएका उनलाई सम्पर्कमा लिएको छैन।

‘म आफै सचेत छु। होम आइसोलेसनमा बसेको छु,’ शर्माले भने, ‘सरकारको यस्तै लावरवाहीका कारण देशमा कोरोना संक्रमण बढेको भन्ने पक्का भयो।’ सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणबाट हात उठाएको आरोप शर्माले लगाएका छन्।

काठमाडौं महानगरपालिका जस्तो देशको सबै सुविधा भएको ठाउँमा कोरोना संक्रमण भएका व्यक्तिहरु को, कति र कहाँ छन खबर नगर्ने सरकारले दुर दरामा के खोजिनीति गथ्र्योहोला? शर्माले सरकार समक्ष प्रश्न उठाउँछन्।

‘वीर अस्पतालबाट आएको म्यासेज मोबाइलमा सेभ छ,’ शर्माले देखाउँदै भने, ‘हेर्नुहोस्, यो रिपोर्टमा ‘डिटेक्टेड’ लेखेको छ। यो भनेको कोरोना पोजेटिभ हुनु हो।’

आफूलाई कोरोना लागेको ५ दिन बित्दासम्म सरकारले कुनै खोजीनीति नगरेको बताउने शर्मालाई घरका स–साना वालबच्चाको चिन्ता छ। उनले भने, ‘हामी थाहा भएपछि मात्र अलग भएका हौं। सरकारको फोन आउला आइसोलेसनमा बस्न जाउँला भनेर मैले यो कोठामा बसेँ। आज ५ दिन भयो। सरकारको तर्फबाट कुनैपनि फोन आएको छैन। अब म के गर्ने ? अर्कोपटक चेकजाँच गराउँने की? नगराउने। केही निर्णय गर्न नै सकेको छैन्।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या बढेसँगै मन्त्रालयबाट पोजेटिभ देखिएका व्यक्तिलाई फोन गर्न संभव नभएको बताउँछन्।

‘सरकारले जतिसक्यो चाँडो रिपोर्ट सार्वजनिक गरेर म्यासेज पठाउन सम्बन्धित ल्याबलाई निर्देशन दिएको छ,’ गौतमले डिसी नेपालसँग भने, ‘पोजेटिभ देखिएका व्यक्तिसँग सम्पर्क गर्ने र फलोअप गर्ने काम सम्बन्धित वडा कार्यालयको हो। झण्डै एक लाख मानिसलाई स्वास्थ्य मन्त्रालयले सम्पर्क गरेर साध्य हुँदैन।’

तर कोरोना पोजेटिभ भएका व्यक्तिलाई न स्वास्थ्य मन्त्रालयले नै फलोअप गरेको छ न सम्बन्धित वडाले नै। अझ सरकारले धेरै समस्या नभएसम्म अस्पताल नै नआउन उर्दी जारी गरेको छ।

सरकारको तथ्यांक हेर्दा झण्डै १ लाखको हाराहारीमा कोरोनाका संक्रमितहरु थपिएका छन। हालैको मात्र तथ्याङ्क हेर्ने हो भने पनि २५ हजार बढी सक्रिय संक्रमित रहेका छन्।

‘त्यो सक्रिय संक्रमितमा म परेँ कि परिन?,’ शर्माले सरकारलाई प्रश्न गरे, ‘यदि म परेँ भने कसरी परेँ। मलाइ कहिले कन्ट्रयाक्ट टे«सिङमा लियो। परेन भने कसरी परेन मेरो पनि रिपोर्ट पोजेटिभ आएको छ।’

शर्मा यो समाजका प्रतिनिधि मात्र हुन जुन सरकारले कोरोना संक्रमण पोजेटिभ भए पनि आफ्नो सम्पर्क बाहिर राखेको छ। यस्ता कति मान्छे होलान जसले घरबेटीको डर, समाजमा एक्लो हुने डरले चेकजाँच गराउन सकिरहेका छैनन्। सरकारको लापरवाहीको पराकाष्टा भएको शर्माको बुझाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *