कोरोना महामारी : दशैंमा के गर्ने, के नगर्ने ?

मदन कोइराला
२५ असोज २०७७ १३:३०

काठमाडौं। विश्वव्यापी महामारीको रुप लिएको कोरोना संक्रमणमा ग्राफ नेपालमा बढ्दो छ। शनिबारसम्म नेपालमा एक लाख ५ हजार ६ ८४ जना संक्रमित भएका छन् भने ६ सय १४ जनाको मृत्यु भएको छ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७४ हजार २ सय ५२ छ। कोरोनाको ग्राफ बढेसँगै नेपालमा चाडबाडको सिजन सुरु भएको छ। अबको १० दिनमा महान चाड दशैं सुरु हुँदैछ। दशैं मान्न शहरबाट गाउँ जानेको लर्को लागेको छ।

असोज १ गतेदेखि २४ गतेसम्म काठमाडौंबाट १ लाख ९ हजार ३५३ सवारी साधनमा ४ लाख ५३ हजार ४ सय ११ जना यात्रु बाहिरिएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले यही बीचमा काठमाडौं उपत्यका प्रवेश गर्ने यात्रुको संख्या पनि उल्लेख्य गरेको बताए। एसपी यादवका अनुसार असोज १ देखि २४ गते बिहानसम्म १ लाख ७ हजार २ वटा सवारी साधनमा ४ लाख २८ हजार ४ सय ६४ यात्रु काठमाडौं उपत्यका प्रवेश गरेका छन्।

असोज १ गतेदेखि काठमाडौं प्रवेश गर्ने र उपत्यकाबाट बाहिरिने यात्रुको संख्या भण्डै समान छ। ‘लकडाउनका कारण बाहिर रोकिएमा मानिस अहिले धमाधम काठमाडौं भित्रिन थालेका छन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले डिसी नेपालसँग भने, ‘जनु अनुपातमा उपत्यकाबाट मानिस बाहिरिने अनुमान थियो, त्यो अनुपातमा बाहिरिएको देखिएन। अबका दिनमा बाहिरिनेको संख्या बढ्न सक्छ।’

काठमाडौं उपत्यका कोरोनाको ‘हटपस्ट’ बनेसँगै सरकारले ‘जो जहाँ छौं, त्यहीँ दशैं मनऔं’ भन्दै आग्रह गरेको छ। काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेसँगै देशका कतिपय स्थानमा कोरोना नियन्त्रणमा आएको छ।

दशैंमा उपत्यका वा अन्य स्थानबाट जाने व्यक्तिमा कोरोना संक्रमण देखिए कोरोना मुक्त स्थानमा पनि जाने भएकाले सरकारले जो जहाँ छौं त्यही दशैं मनाऔं भनेर आग्रह गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्।

अब धमाधम चाडबाडको सिजन सुरु भएको छ, दशैं, तिहार छठलगायतका पर्व सुरु भएका छन्,  यस्तो अवस्थामा घरमा जति जना छौं त्यति जनाले चाडबाड बनाऔं, जेष्ठ नागरिकलाई भेटेर कोरोना सार्ने काम नगरौं। दशैं मनाउन गाउँ जानेले कम्तिमा पनि १४ दिन क्वारेन्टाइनमा बस्ने गरी जाने र लक्षण देखिए स्थानीय तहले आइसोलेसनमा बस्ने व्यवस्था गर्नुपर्ने विज्ञले सुझाव दिने गरेका छन्।

सरकारले जो जहाँ छौं त्यहीँ दशैं मनाउन आग्रह गरेपनि काठमाडौंबाट बाहिरिने र भित्रिनेको संख्या हेर्दा सरकारी आग्रह पालना भएको देखिँदैन।

जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेले अहिले देखिएको भन्दा कयौं गुणमा संक्रमण फैलिएको हुनसक्ने भन्दै देशको स्वास्थ्य प्रणाली नै सूचारु हुन नसक्ने अवस्थामा पुगेको बताउँछन्। ‘अहिले जतिमा संक्रमण देखिएको छ, त्यो भन्दा धेरैमा संक्रमण भएको हुनुपर्छ,’ डा. पाण्डेले डिसी नेपालसँग भने, ‘अहिले ठूलो संख्यामा कोरोना टेस्ट भएकै छैन।’

यस्तो बेलामा जो जहाँ छौं त्यहीँ दशैं मान्न उपयुक्त हुने उनको भनाइ छ। ‘अब धमाधम चाडबाडको सिजन सुरु भएको छ, दशैं, तिहार छठलगायतका पर्व सुरु भएका छन्, डा. पाण्डेल भने, ‘यस्तो अवस्थामा घरमा जति जना छौं त्यति जनाले चाडबाड बनाऔं, जेष्ठ नागरिकलाई भेटेर कोरोना सार्ने काम नगरौं।’

दशैं मनाउन गाउँ जानेले कम्तिमा पनि १४ दिन क्वारेन्टाइनमा बस्ने गरी जाने र लक्षण देखिए स्थानीय तहले आइसोलेसनमा बस्ने व्यवस्था गर्नुपर्ने विज्ञले सुझाव दिने गरेका छन्।

‘काठमाडौं बाहिर जानेलाई हामीले तीनवटा क्वाटेगोरीमा छुट्टयाउनुपर्छ,’ डा. पाण्डेले भने, ‘पहिले क्याटेगोरी भनेको काठमाडौंमा धेरै महामारी फैलिएको छ, त्यहाँ बस्न सक्ने अवस्था छैन र महामारी नियन्त्रण भएपछि मात्रै आउँछु भन्ने, दोस्रो, दोस्रो वर्ग भनेको विद्यार्थी हो, यो वर्ग यसको खोप आउने बेलासम्म वा माघसम्म काठमाडौं नफर्किने गरी जान सक्छन्, यस्तोलाई स्वास्थ्य मापदण्ड अपनाएर जान दिनुपर्छ। अर्को एउटा वर्ग हुन्छ, जुन फुलपातीको दिन जाने, गाउँ घुम्ने, बजार जाने र टिका पछि फर्किने, यस्तो वर्ग गाउँ जानु उचित हुँदैन।’

फुलपातीको दिन गाउँमा पुगेर क्वारेन्टाइनमा बस्ने समय पनि नहुने, क्वारेन्टाइन नबसी गाउँमा जादाँ उनीहरुमार्फत अरुमा सर्छ कि भन्ने भय हुने र पाका उमेरका मानिसमा कोरोना सर्यो भने त्यो घातक हुन सक्ने उनको भनाइ थियो।

डा. पाण्डेले सकेसम्म जो जहाँ छौं, त्यहीँ दशैं मनाउने, टेफिफोन वा इन्टरनेट भएको ठाउँमा भिडियोमार्फत आर्शीवाद दिने र भेट भएपनि दशैंमा टीका लगाउँदा पनि निधारमा टीका नलाइ हातमा टीका र जमरा दिने गर्नु उचित हुने बताए।

सामाजिक दूरी कायम राखेर स्वास्थ्य मापदण्ड अपनाउँदै आत्मअनुशासित भएर चाड पर्व मनाउनु पर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।

‘हामीले पहिलेका वर्षहरुमा मनाए जस्तै धेरै मानिस भेला भएर चाडवाड मनाउने काम गरेमा हामी प्रतिकुल समयमा भएका कारण केही समस्या आउन सक्छ। त्यसैले भिडभाड नगरेर चाडवाड मनाउँ भन्ने मेरो अनुरोध हो,’ डा. पुनले डिसी नेपालसँग भने। उनले चाडवाडमा धेरै मानिस जम्मा हुने र टीका लगाउने, मास्क सेनिटाइजरको प्रयोग गर्ने, एक जनाले स्यानिटाइज गरेर टीका लगाउन थालेपछि अर्को मान्छेले टीका नछुने, हात पुग्ने गरी निधार थाप्ने गर्नुपर्ने उनका भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *