उत्तर कोरियाको निशानामा नेपाल !

डिसी नेपाल
२६ असोज २०७७ १३:४३

काठमाडौं। उत्तर कोरियाको साइबर आक्रमणको नयाँ निशाना नेपाल बनेको छ । उत्तर कोरियाको साइबर थ्रेट अपरेशन नेपालसम्म विस्तार भइसकेको र नेपालमा चीनको सहयोगमा उत्तर कोरियाली ह्याकरहरु सक्रिय रहेको अन्तर्राष्ट्रिय सुरक्षाकी ज्ञाता डा. मोनिका चन्सोरियाले दावी गरेकी छिन् । जापान इन्स्टिच्युट अफ इन्टरनेशनल अफेयर्सकी सिनियर फेलो डा. चन्सोरियाले जापान फरवार्डमा एक लेख प्रकाशित गर्दै यस्तो दावी गरेकी हुन् । चन्सोरियाका एसियाको सुरक्षाका विषयमा पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन् । जापान फरवार्ड जापानको प्रतिष्ठित संचार संस्थान सांकेइ शिंबनद्वारा संचालित अन्तर्राष्ट्रिय भाषाको अनलाइन पोर्टल हो ।

नेपालमा उत्तर कोरियाली ह्याकरहरुको पहुँच विस्तार भइसकेको र चिनियाँ इन्टेलिजेन्सको समेत उपस्थिति रहेको दावी गर्दै डा. चन्सोरियाले यी दुईको सहकार्यमा नेपाललाई चीनको स्टेट सेक्युरिटी ब्यूरोले दक्षिण एसियाली अपरेशनको लागि क्षेत्रीय बेस बनाएको र उत्तर कोरियाले साइबर र मनि लण्ड्रिङको लागि प्रयोग गरिरहेको दावी गरेकी छिन् । उनका अनुसार नेपालमा सक्रिय उत्तर कोरियाको साइबर आर्मीले स्थानीय रुपमा लाजारुस ग्रुप वा हिडेन कोब्रासँग समन्वय गरिरहेको छ र उत्तर कोरियाको मिलिट्री इन्टेलिजेन्सको महानिर्देशनालयसँग पनि समन्वय गरिरहेको छ ।

लाजारुस ग्रुपले कोभिड १९ को विषयमा अमेरिका, बेलायत, जापान, सिंगापुर र भारतमा ‘फिसिङ’ आक्रमण गरिरहेको उनले बताएकी छिन् । चीनको इन्टेलिजेन्ससँग गहिरो सम्बनध भएको आशंका गरिएका उत्तर कोरियाली ह्याकरहरुले बैंक र वित्तिय प्रणाली तथा जटिल प्रविधि चोरीको लागि साइबर आक्रमण गरिरहेको उनको दावी छ ।

डिसेम्बर २०१९ मा नेपाल प्रहरीले बैंकको एटिएम सिस्टम ह्याक गरेको अभियोगमा ठूलो संख्यामा चिनियाँहरुलाई पक्राउ गरेको उल्लेख गर्दै उनले एक नेपाली अखबारमा नोभेम्बर २०१९ मा उत्तर कोरियाली नागरिक समेत पक्रिाउ परेको रिपोर्ट प्रकाशित भएको उल्लेख गरेकी छिन् । उत्तर कोरिया चीनको निकट सहयोगी भएको र पछिल्लो समय चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर प्रधानमन्त्री केपी ओलीको कार्यकाल निरन्तरताको सुनिश्चित गरेको दावी गर्दै उनले ओलीलाई प्रधानमन्त्रीमा स्थापित राखिराख्न चिनियाँ राष्ट्रपति शी जिनपिङले टेलिफोनमार्फत लामो छलफल गरेको समेत दावी गरेकी छिन् ।

नेपालको राजनीतिमा चीनको युनाइटेड फ्रन्ट वर्क्स डिपार्टमेन्ट (युएफडब्लुडी) को सक्रिय भूमिका रहेको समेत उनले दावी गरेकी छिन् । चीनको अन्तर्राष्ट्रिय नीति निर्माणमा युएफडब्लुडीको ठूलो भूमिका रहने उल्लेख गर्दै उनले दक्षिण एसियामा रहेका चीनका सबै कूटनीतिज्ञहरु युएफडब्लुडीबाटै आएका हुनु अर्थपूर्ण रहेको बताएकी छिन् ।

२०२० मा अमेरिकाको स्टेट डिपार्टमेन्ट, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी। ट्रेजरी डिपार्टमेन्ट र फेडेरल ब्यूरो अफ इन्भेस्टिगेसनले प्रकाशित गरेको रिपोर्टमा उत्तर कोरियाले पैसा चोर्न, मनी लण्ड्रिङ, नक्कली कम्पनीमार्फत कारोबार र आफ्नो गैरकानुनी हतियार निर्माणको कामको लागि पैसा जुटाउन डिजिटल मुद्रा प्रयोग गर्नको लागि साइबर आक्रमण गरिरहेको आरोप लगाइएको थियो । रिपोर्टमा उत्तर कोरियाले करिब २ अर्ब डलर साइबर आक्रमणबाट जुटाएको दावी गरिएको थियो । किम जोङ उन सरकारले अहिले पनि पैसा जुटाउनको लागि यस्तै रणनीति अपनाइरहेको उनले दावी गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *