प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु

डिसी नेपाल
२८ असोज २०७७ १५:१६

विराटनगर। कोरोना संक्रमणका कारण प्रदेश एकमा थप चार जनाको मृत्यु भएको छ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। बुधबार बिहान ४ बजे इटहरी –६ की ६० वर्षीया महिला र मङ्गलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय युवकको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती महिला यही असोज २४ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएकी थिइन्। सोही दिन उनलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनी मधुमेहको बिमारी भएको बताइएको छ।

यता ३७ वर्षीय युवकलाई भने असोज २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। मङ्गलबार अपराह्न मात्र उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो। कुनै दीर्घरोग नभएका ती युवकलाई श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याइएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए।

उनको शव नेपाली सेनाले व्यवस्थापन गरिरहेको प्रतिष्ठानले जनाएको छ। यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ।

त्यसैगरी विराटनगरस्थित विराट मेडिकल कलेजमा मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसबारीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ६० वर्षीय पुरुषको मंगलबार राति करिब १२ बजे मृत्यु भएको हो। उनमा असोज १५ गते कोरोना पुष्टि भएको थियो। मृतकमा श्वासप्रश्वास र मृगौला सम्बन्धी पुरानै समस्या रहेको अस्पतालले जनाएको छ।

त्यसैगरी नोबेल मेडिकल कलेजमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ घर भएकी कोरोना संक्रमित महिलाको नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ। मंगलबार साँझ उपचारका क्रममा ४९ वर्षीया महिलाको मृत्यु भएको हो। मिर्गौलाको डायलासिस गर्नका लागिभन्दै आइतबार बिहान महिलालाई अस्पताल भर्ना गरिएको थियो। श्वासप्रश्वासको समस्या रहेकी महिलाको स्वाबको पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *