केटाकेटी दोषी छैनन् (कथा)

डिसी नेपाल
१ कार्तिक २०७७ ९:३२
368
Shares

प्रहरीले किशोरी छात्राको हत्कडी खोली दियो र इजलासभित्र प्रवेश गरायो। इजलासमात्र होइन अदालतको परिसर र शाखा सडकमा पनि जनताको भीड थियो। धेरैलाई पूर्वस्मृति भयो विपी कोइरालाको मुद्दाको बहस सुन्न उसबेला पनि जनताको भीड यसैगरी उर्लिएको थियो।

बयान मञ्च (कठघरा)मा पुगेर किशोरी उभिएपछि धेरैले आफैंसँग प्रश्न गरे–छात्रा उमेर पुगेकी छैनन् कि? अनागरिक नै होलिनजस्तो छ के अदालतले हठ गरेर बयान लिन सक्छ?

जजले अदालती कार्वाही गर्ने आदेश दिएपछि वकिल विनय विवेकले भन्यो, ‘मैया आफ्नो परिचय दिनुहोस्।’

जी म शण्डा नीरजा वर्ष १४ कक्षा ९, उचाइ ४ फुट ११ इन्च, ब्लड ग्रुप बी पोजिटिभ।

पहिलो नाम यति कठोर, दोस्रो नाम अत्यन्त मृदुल कसरी यस्तो हुन गो?’

प्रश्नले होला, अलिकति रातो विवर्ण अनुहार लगाएर मुश्किलले उसले यतिमात्र भनीः चण्ड, शण्ड, शण्ठ र शण्ढ यी हाम्रा गोत्र वंशका पहिचान चिनो हुन त्यसपछि मात्र मेरो आफ्नै नाम हो अरु क्यै हैन।

विनय विवेकले पुस्तक अघि सारेर भन्योेः यसमा छोएर वाचा लिनुहोस–सत्यमात्र बोल्छु।  ‘मलाइ यसको सट्टा मेरा पुर्खाले मारेका हजारौं हजार मानिसलाई सम्झेर वाचा लिए हुन्न? कतिको त क्रिया–कर्म पनि हुन सकेको छैन टाउको नभेटिएर।’

‘हुन्छ, अनुमति छ। त्यसै गर।’ जजले भन्यो।

‘उसले आँखा चिम्लेर मृतात्माहरुको परिकल्पना गरी र मनमनै सत्य बोल्ने बाचा लिई।

वकिल विनय विवेकले सोध्योः नीरजा मैया, तपाईँलाई कस्तो मुद्दा लागेको छ थाहा छ?।

‘थाहा छ। दुरुत्साहन गरेवापत लागेको मुद्दा।’

‘तपाईँ यो अपराध स्वीकार गर्नुहुन्छ?’

‘गर्छु पनि गर्दिन पनि।’

‘त्यो कसरी ?’

‘मेरै चिठीले उहाँले आत्महत्या गरेको हो भने म स्वीकार गर्छु। यदि हैन भने त्यो माध्यममात्र हो। स्थिति पाकिसकेको थियो। उहाँले आफूलाई थाम्नै सक्नुभएन, यै बहाना खोजेर आत्मघात गर्नुभएको हो भने, हजारौं मानिसको हत्या गर्नेले आफ्नो हत्या गर्छ भनेर मैले स्वीकार गर्ने कारण बन्दैन।’

‘जुन घटना घट्यो त्यसको पृष्ठभूमि वा इतिहास भए अदालतलाई सुनाइदिनुहोस् न।’

मृतक समाजवादी नेताले रानी वैदेहीलाई चिठीको भाव संकेत गरेको केही बेरपछि उनी बाहिर निस्के कसैको फोनकल आएको थियो। उनी त्यही होटलमा पुगे जहाँ पत्रकारलाई झुण्ड्याएर मारिएको थियो। उनको लाश त्यसै नदीमा पाइयो जहाँ मदन भण्डारीको भेटाइएको थियो।

तेरो पुर्खा ज्यानमारा, हत्यारा। तँ ज्यानमाराकी सन्तान भनेर सधैँ मलाइ स्कुलमा डाउन गर्छन् साथीहरुले। अर्को क्लासकाले पनि त्यसै भन्न थाले। टिचरहरुले पनि त्यस्तै भावले मलाई हेर्न थाले। म उपेक्षित हुँदै गएँ। एक्लिदै गएँ।

अनि यसको कारण उहाँ नै हो, उहाँकै चरित्रले गर्दा उहाँको व्यवहारले गर्दा म हेपिएकी हुँ भन्ने ठानेर मैले यो चिठी लेखेँ। तर त्यस्तो खुँखार जोसँग दुनिया डराउछ त्यस्तो मान्छे कसरी एउटा टुक्रा चिठीले मर्छ? उहाँ त कालको पनि काल हो नि! मेरो चिठीले बलेको आगोमा घिउको काम गरको हु्नसक्छ त्यतिमात्र स्वीकार गर्छु।’

‘कसरी चिठी दिनुभो? कहाँ राख्नु भो?’

सरासर घर गएँ। सुरक्षा गार्डलाई भनेर टेबिलमा खाम राखिदिएँ। डाइनिङ टेबिलबाट एक कोसा केरा लिएर खादैँ निस्किए।
‘के लेख्नु भयो? के लेखेको थियो त्यो चिठीमा?’

‘तपाईँले गर्दा म ज्यादै अपमानित भएकी छु। त्यसैले कि तपाईँले आत्महत्या गर्नुपर्छ कि म आफै आत्महत्या गर्छु। तपाईँ आज मर्नुभएन भने म भोलि मर्छु। तपाईँसँग एक दिन छ। शण्डा नीरजा। यति नै थियो।’

‘तपाईँ आफै लेख्नु भयो यो चिटको कि कसैले सिकायो, सगायो?’

‘मैले आफैं लेखें तर एक जना मान्छेले मलाई वाक्य राम्रो पार्न सिकायो बस त्यत्ति मात्र हो।’

यसपटक मृतक धूलीचन्द्र उत्पलकी पत्नी वैदेही वयान दिनका लागि पुगिन्। वकिलले सोध्योः यो चिठीबारे केही भन्नुछ वैदेहीजी तपाईँलाई?
म भान्सामा थिएँ। आएर फल टिपी अनि मैले त्यहाँ चिठी राखेकी छु भनेर निस्किहाली। फेरि उहाँ आउनु भो। चिठी हेर्नुभएछ क्यार, यो चिठी कसले ल्यायो भनेर सोध्नुभो। नीरजा आएकी थिई उसैले होला भने । के रहेछ चिठीमा भनेर सोधें।

‘कुरा गम्भीर पनि हो, मजाक पनि हो।’ उहाँले यतिमात्र भन्नु भो।

अंगरक्षकले पनि बयान मन्चमा पुगेर यतिमात्रै भन्योः ‘मैले त्यसदिन नीरजा मैयालाई अलिक हतारमा अलिक आवेगमा रहेजस्तो देखें। त्यतिमात्र हो।’

अर्कोदिन अदालत बस्ने भो कार्वाही स्थगित भो।

त्रिगुणी राज्यशक्तिले न्याय वितरणको क्षेत्रमा नयाँ पद्धति थालेको थियो, जसअनुसार अदालत पनि आफ्नोतर्फबाट घटनाको अध्ययन अनुसन्धान गर्थ्यो विस्तृत समीक्षापछि निर्णय सुनाउथ्यो।

तोकिएको समयामा अदालत खुल्यो र फेरि इजलास भरियो, फेरि कार्वाही थालियो। मुद्दासँग सरोकार राख्ने र शंकामा तानिएका व्यक्तिहरु पनि उपस्थित थिए। खोज विमर्शको सारलाई कथाको शैलीमा डो-याउँदै वकीलले भन्योः मृतक समाजवादी नेताले रानी वैदेहीलाई चिठीको भाव संकेत गरेको केही बेरपछि उनी बाहिर निस्के कसैको फोनकल आएको थियो। उनी त्यही होटलमा पुगे जहाँ पत्रकारलाई झुण्ड्याएर मारिएको थियो। उनको लाश त्यसै नदीमा पाइयो जहाँ मदन भण्डारीको भेटाइएको थियो।

वयानमञ्चमा (कठघरा) उभिएका शंकास्पद व्यक्तिहरुलाई एकपटक दृष्टि घुमाएर उसले थप्योः होटलमा उनकै समुदायका सन्तान थिए। जो आर्य, गैरआर्य, नामी, दशनामी, सीमान्तक, असीमान्तक यस्तै छ जना थिए। दुई अढाई घण्टा संवाद विवाद चल्यो। परिवेश रन्कियो र फेरि सेलायो। क्यामेरा त्यहाँ थिएन। होटलको काउन्टरमा बसेकी युवतीले मलाई बताएअनुसार ती मिलेजस्तो गरेर त्यहाँबाट निस्केका थिए।

प्रसंग जोडेर उसले थप्योः यो घटना जंगली कुकुरले बुढो वा अशक्त बाघलाई शिकार बनाएजस्तो छ। मार्ने पनि उनकै समुदायका सदस्य थिए र मर्ने स्वयं पीठाधीश धूलीचन्द्र उत्पल भए। हिजो आज आफ्नो परिवारका सदस्यहरुलाई मार्ने हावा पनि चलेको छ।

जजले भन्योः मार्नु र मर्नुको औचित्य र परिवेश सिद्ध गर्नुहोस वकिल साहेब।

अर्को वकील अगाडि सरेर भन्योः यसमा म आलोक छर्न चाहन्छु। स्वीकृति लिएर उसले बाँकी प्रसंग थप्योः

यो घटना राजनीतिक खेलभित्रै पर्छ। घटनाको पृष्ठभूमि यसै उद्देश्यका लागि निर्माण गरिएको थियो। शण्डा नीरजाको हत्या गराएर धूलीचन्द्र उत्पललाई बाँचुन्जेल आघात पुर्याउने सोच राखेर यो रोडम्याप तयार गरे तर उल्टो भइदियो।

वकिलको कुरा सुनेर इजलास अझ उत्सुक देखियो।

उसले भन्योः यो आयोजित कर्म हो, योजनाबद्ध हत्या हो, किन्तु प्रतिफल अर्कै भयो।

‘कसरी?’

नीरजाको मनस्थिति बदल्ने परिवेश योजनाबद्ध ढंगले निर्माण गरियो। स्कुलको वातावरण नै उनका लागि आक्रामक र असहिष्णु बनाइयो। उनैले आत्महत्या गरुन् भन्ने सोच विफल भो उल्टो भो।

वकिलले थप्योः होटलमा पुगेपछि सुविधा अधिकार र शक्तिलाई लिएर चर्को विवाद भयो। नयाँ पुस्ताले तर्क र औचित्यका आधारमा उसले आत्महत्या गर्नै पर्ने कुरा सिद्ध गरे। आफू प्रत्येक ठाउँमा चुकेको र आफ्नो यात्राका साथीहरुलाई बारम्बार धोका दिएको, सुविधा कटौती गरेको, आफू र आफन्तलाई मात्र महत्व दिएको तथ्य स्वीकार गरेपछि उसले स्वयं मृत्युवरण गर्ने संकल्प लिएको हो।

म स्पष्ट पार्न चाहन्छुः होटलबाट निस्केर सँगै पुलमा पुगे। वाचा गरेअनुसार उसले आत्महत्या गर्नु थियो। पुलबाट उसले सिधै नदीमा हाम्फाल्यो। युवकहरुले त्यो दृष्य आफ्नो मोबाइलको क्यामेरामा कैद गरे। मृतकले आफैँ मृत्युवरण गरेको सिद्ध हुन्छ, फोटा÷क्यामेरा यही बोल्छ। कसैले उसलाई नदीमा झारेको प्रमाणित हुँदैन।

फेरि वयान मन्चमा वैदेही पुगेपछि जजले सोध्योः तपाईँ आफ्नो श्रीमानको आत्महत्यालाई कसरी हेर्नुहुन्छ? आफ्ना विचार राख्न सक्नुहुन्छ। ‘ढिलो भो, उहाँले त पहिले नै आत्महत्या गरिसक्नुपर्ने थियो। मैले उहाँलाई उछिन्न सकिन। मलाइ जित्नुभो। त्यत्तिका मान्छको हत्या गरेर एक्लो जीवन बाँच्नुको अर्थ के? घेरिएर त्यो पनि डरैडरले बाच्नुभन्दा स्वयं मृत्युवरण गर्नु असल भएन र? म आफैँ दिनमा सयौँपटक मारिएकी छु। मेरो मृत्यु कसले देख्छ?

एकछिन रोकिएर फेरि वैदेहीले भनिन्ः केको लागि राजनीति गर्नु थियो र के उपलब्धी भो? प्रश्न यही हो। यसको जवाफ शायद उहाँसँग थिएन। त्यसको जवाफ उहाँले आत्महत्या गरेर दिनुभो भन्ने लागेको छ। मैंले यस्तै बुझेकी छु। म नातिनीलाई दोष दिने पक्षमा छैन।
अदालतले सोध्योः तपाईँ यसमा कसलाई दोषी मान्नुहुन्छ ?

म पहिलो दोषी त उहाँलाई नै मान्छु। दोस्रो दोषी व्यवस्थालाई देख्छु। तेस्रो संविधान दोषी हो। त्यस्तो जीवलाई आजसम्म जोगाएर राख्ने म पनि दोषी हो। तर यी कुनै केटाकेटी दोषी छैनन्।

शव परीक्षणबाट कसैले पनि हत्या गर्ने भौतिक प्रयास गरेको नदेखिएकाले अभियुक्तहरु निर्दाेष प्रमाणित भए। मृतकको शवको संस्कार गर्ने आदेश दिएर अदालती कार्वाही टुंग्याउँदै जजले भन्योः यो अदालत इतिहासमा मृतक राष्ट्रघाती देखिएकाले निजको शवमा राष्ट्रिय झण्डा नओढाउने आदेश गर्दछ तथा राजकीय सम्मान दिन रोक लगाउँछ। साथै दुरुत्साहन मुद्दा खारेज गर्दै शण्डा नीरजालाई ससम्मान मुक्त गर्दछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *