मित्रताको सच्चा उदाहरण ! ७४ वर्षका वृद्ध मित्रको सम्झनामा १० वर्षे बालकको समर्पण

डिसी नेपाल
१ कार्तिक २०७७ ११:०६

काठमाडौं। यो कहानी २ मित्रहरुको हो । एउटा ७४ वर्षका वृद्ध र अर्का १० वर्षका बालक । यी दुईमध्ये एक अहिले यो संसारमा रहेनन् । र, उनै मित्रको सम्झनामा अर्का मित्र विगत २ सय दिनदेखि पालमा सुतिरहेका छन् । इङल्याण्डको ब्रनटन शहरमा बस्ने १० वर्षका म्याक्स वूसेको आफ्नो छिमेकमा बस्ने ७४ वर्षका रिकसँग गहिरो मित्रता थियो । रिककी पत्नीको २०१७ मा निधन भयो र यही फेब्रुअरीमा रिकको पनि क्यान्सरका कारण निधन भयो । रोगसँग जुधिरहेका रिकको अन्तिम समयमा म्याक्स रिकको साथमै थिए । अहिले म्याक्स रिकको यादमा पालमा सुत्छन् ।

डेली मिररको रिपोर्टअनुसार उनले यसरी पालमा सुतेर ५० हजार पाउण्ड (७६ लाख नेपाली रुपैया) जुटाउने लक्ष्य राखेका थिए । उनले यसरी जुटेको सहयोग नर्थ डेभोन हस्पाइसलाई दिनेछन् जहाँ उनका मित्र रिक र रिककी पत्नी सुईले आफ्नो अन्तिम समय बिताएका थिए । उनले आफ्नो लक्ष्य पूरा गरिसकेका छन् र घरबाहिर पालमा पूरै एक वर्षको समय बिताउने तयारीमा छन् । उनलाई पाल उनमा मित्र रिकले नै आफ्नो मृत्यु हुनुभन्दा केही समय पहिले दिएका थिए ।

रिकले म्याक्सलाई पाल दिँदै प्रकृतिको बीचमा यो पालको साथमा समय बिताउन भनेका थिए । त्यसपछि म्याक्सले त्यही पालको साथमा घरबाहिर रात बिताउन सुरु गरेका हुन् । म्याक्सले घरबाहिर पालमा २ सयभन्दा धेरै दिन बिताइसकेका छन् र यसो गरेर ५८ हजार पाउण्ड (८८ लाख रुपैयाँ) नगद सहयोग जम्मा गरिसकेका छन् । उनलाई सहयोग आउने क्रम अझै जारी छ । म्याक्स भन्छन् ‘निकै अद्भूत अनुभूति भइरहेको छ । यो साँच्चै अविश्वसनीय छ । मैले गिफ्ट सहयोग समेत गरेर ७० हजार पाउण्ड सहयोग जुटाइसकेको छु ।’

म्याक्सले आफ्नो यो यात्रा मार्च २८ मा सुरु गरेका हुन् । त्यतिबेलादेखि पालमा बस्न थालेका म्याक्स अझै थाकेका छैनन् । उनी पालमा पूरा एक वर्ष बिताउन चाहन्छन् तर रिकले जस्तै म्याक्सलाई उनले दिएको पालले पनि अन्तिमसम्म साथ दिएन । रिकले दिएको पालले पानी ओत्न नसक्ने भयो त्यसपछि म्याक्सले अर्को ल्याए । अहिले म्याक्स पाँचौं पालमा बसिरहेका छन् । म्याक्सकी आमा रचेलले म्याक्सको यो अभियानलाई पागलपन नै भन्छिन् । सुरुमा उनले १०० पाउण्डको लक्ष्य राखेको भए परिवार र आफन्तले नै त्यो जुटाएर म्याक्सलाई घर फर्काउने सोचेका थिए । तर म्याक्स यति अगाडि बढ्छन् भन्ने उनीहरुले सोचेका थिएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *