महिला र चाडबाड

आज किनकिन बिहानैदेखि मलाई दशैँको झझल्को आइरहेको छ। दशैं आउन अझै केही दिन बाँकी हुंदै छिमेकीले खसीको जोहो गरिसकेका छन्। खसीको म्याँ म्याँ ले बिहानैदेखि टोलमा दशैँको रौनक छाएको आभास मिल्छ। मानिसहरु आफ्ना आफ्ना घर वरिपरि सरसफाई र रंगरोगन गर्ने काममा जुटेका छन्।

बिहानै देखि घर वरिपरि सिठाको कुचाले बढार्दै गरेको आवाज आइरहेको थियो। त्यो क्रम अहिलेसम्म पनि जारी छ। यसैसँगै बिभिन्न खाले चराको चिरबिर आवाज र घर पालुवा कुकुरहरुको भुकाइले वातावरण अलि कोलाहल जस्तो लाग्दैछ। यसमा पनि कागको आवाजले त झनै नरमाईलो गराउँदैछ। यो ठाँउमा त कागको संख्या पनि कति धेरै छ भने कहिलेकाहिँ त सयौं कागको आवाज सुन्दा सुन्दा साँच्चै दिक्क लागेर आउँछ।

यहाँका कागको त आवाज पनि अलि फरक छ। हाम्रो गाँउघरतिर काहा ऽ काहा ऽ गरेर कराउँथ्यो। यहाँ काँ काँ गरेर कराउँछ, सधैं रुघा लागेको जसरी। मानिसको जस्तै यिनीहरुको पनि ठाउँ अनुसारको बोलिभाषा फरक हुँदोरहेछ कि? मानिसको जस्तै यिनीहरुको पनि प्रत्येकको बोलि फरकफरक भए जस्तो लाग्यो।

कसैको नरम, कसैको कडा र कसैका त एकदमै कर्कशा खालकै सुनिने। हुन त आफ्नो आवाज सबैले आफू जन्मँदा सँगै लिएर आएका हुन्छन्। आफूले बनाएर मिल्ने कुरा भएन। राम्रो नराम्रो अरुलाई लागेर के गर्ने? सबैले आ–आफ्नो बोली राम्रो मान्नु पर्छ। आफूसँग जे छ जस्तो छ त्यसैमा सन्तोष मान्नु पर्छ।

पुराना वीरंगना र बिदुषिहरुको सम्मानमा आजका नारीहरुलाई समान अधिकार र अबसर दिएर उनिहरुको सम्मान गर्ने परिपाटिको बिकास गरौं। जहाँ नारीको पूजा र सम्मान हुन्छ , त्यहाँ देवता खुशी हुन्छन् भन्ने भनाइलाई सार्थक बनाउन सबैले सहयोग गरौं। आफूसँग जे छ त्यसैमा रमाउंदै दशै सुरक्षित तरिकाले मनाउँ।

कति धेरै कुरा लेख्छु भनेर बसेकी थिएँ। अहिले पनि काग कराएर बिथोलिदियो। मनमा आएका कति धेरै कुराहरु थिए, कता हराए कता। ए, म त नजिकै आउँदै गरेको दशैँको कुरा पो सम्झँदै थिएँ त। सदा जस्तो भएको भए यति बेला तिहारको रमझम शुरु भैसकेको हुने थियो होला। यसपालि मलमासले गर्दा चाडपर्वहरु एक महिना पछाडि सरेका छन्।

फेरि यो वर्ष कोरानाको पनि उत्तिकै जोखिम भएकोले दशैं तिहार पनि खल्लो होला जस्तो छ। अरु बेलाको जस्तो भएको भए घटस्थापनाको दिन सम्म करिब आधा जस्तो मानिसहरुले राजधानि छोडिसकेका हुन्थे। यसपाली राजधानी आउन र यहाँबाट बाहिर जान पनि त्यति सजिलो छैन।

अहिलेको बिषम परिस्थितिले गर्दा धेरै मानिसहरुले आफू बसेको ठाँउ छोड्न सकेका छैनन्। जोखिम दिन प्रतिदिन बढिरहेकोले मानिसहरुमा त्रास छाएको छ। जो जहाँ बसेको छ, त्यहीँ नै चाडपर्व मनाउनू भन्ने सरकारको अनुराधलाई पनि सबैले ध्यान दिनु पर्छ। नियम पालना गर्ने कुरा आफ्नो लागि मात्र नभएर आफ्नो घरपरिवार र गाउँ समाजलाई सहयोग पनि गर्ने कुरा हो। यसो भनेको हाम्रै स्वास्थ्यका लागि त हो नि!

लकडाउन हुनुभन्दा पहिले र त्यसपछि पनि धेरै मानिसहरु लामो बसाई बस्ने गरि गाउँघरतिर गएर बसेकै हुन्। त्यसैले यसपालिको दसैंमा खतरा मोलीमोली गाँउघरतिर नगएकै राम्रो। शहरबाट गाँउ जाँदा यात्रा सुरक्षित हुँदैन। सार्बजनिक बसमा अथवा हवाईजहाजमा पनि त डरै हुन्छ।

मानिसको जीवनभन्दा ठूलो दशैं तिहार हुँदै होइन। मानिस बाँचे त दशैं तिहार अर्को बर्ष पनि आइहाल्छन्, र प्रत्येक बर्ष आई नै रहन्छन्। जीवन गयो भने त सबै गयो नि। फेरि पहिलेका मानिसहरुलाई जस्तो रमाइलो गर्न, एक छाक मिठोचोखो खान र एक जोर राम्रो कपडा लगाउनको लागि दशैं नै कुर्नु पर्ने पनि होइन। आफूलाई मन लागेको बेला जसरी पनि जुटाउन सकिन्छ, चाडबाडमै यस्ता काम गर्नु पर्छ भन्ने छैन।

त्यसैले सबैले आफ्नो सुरक्षा आफै गरौं। अरुको मुख नताकौं। मानिसको सबै भन्दा ठूलो शत्रु त रोगै रहेछ नि। अरु कुरामा सहमति असहमति भए पनि जनताको स्वास्थ्यसँग जोडिएका यस्ता विषयमा भने सरकारको विरोध गर्नु उचित हुँदैन।

संस्कृति र धर्मसंस्कार अनुसार चाडबाड मनाउने सबै ठाउको तरिका एउटै हुन्छ जस्तो लाग्थ्यो। तर देश अनुसारको भेष भने जस्तै यतातिर सबैका आ –आफ्ना चलन हुँदा रहेछन्। सहरमा धेरै जातजातिका मानिसहरुको बसोबास भएकोले होला, अलि छ्यासमिस जस्तो लाग्छ चालचलनहरु।

सहरमा अलि बढी देखावटी गरे जस्तो लाग्छ। गाँउघरतिर यतिबेला बारि जोत्ने र हिउँदे बाली लगाउने चटारो हुने भएकोले मानिसहरु काममै ब्यस्त हुन्छन्। उनीहरुलाई अरु धेरै कुरा सोच्ने समय हुँदैन। सकेसम्म खेतबारीको काम सकेर मात्रै घरको लिपपोत र रंगरोगन गर्ने काम गर्छन्। घरको सरसफाई गर्नुलाई सुखको काम मान्दछन्। चाडबाडको बेला गाँउघरतिरका महिलाहरुलाई त धेरै सास्ती नै हुन्छ कामको।

सहरतिर भने किनमेल गर्नुलाई ठूलो काम माने जस्तो लाग्छ। महिनौं अघिदेखि चहलपहल शुरु हुन्छ। महिलाहरु पूजा गर्न मरिहत्ते गरेका देखिन्छन्। हुन त आ –आफ्नो विश्वासको कुरा होला। खै किन हो कुन्नी, सबै रितिरिवाज, धर्म संस्कृति जोगाउने काम महिलाहरुको मात्रै हो कि जस्तो देखिन्छ।

यस्ता कुरामा महिलाहरु धेरै अग्रसर भएको देखिन्छ। हाम्रो सामाजिक परिपाटी नै यस्तै भएर हो कि? चाडबाडहरुमा महिलाहरुलाई काम भ्याइनभ्याइ हुन्छ। उनीहरुलाई चाडबाडको रमाइलो भन्दा पनि कामको भारी र तनाव धेरै हुन्छ। आज म थाकेँ, यो काम भोलि गरुँला भनेर हुँदैन, सकिनसकि सबै काम सक्नु पर्ने बाध्यता हुन्छ।

अझ कतिपय घरमा त पुरुषहरु जुवा तासमा व्यस्त र मस्त हुने भएकोले महिलाहरुलाई झनै धेरै बोझ थपिएको हुन्छ। जुवा,तासमा बानी लागेका पुरुषले त घरमा आमा बाबु बिते भन्ने खबर आयो भने यहि बाटो ल्याउलान् १,२ हात खेलौं अनि यतैबाट घाट जाउँला पो भन्छन् अरे।

यस्ता लोग्ने मानिसहरुले घरको काममा आमा या श्रीमतीलाई सघाउने कुराको त कल्पनासम्म पनि गर्न सकिन्न। सबै काममा सबै जना मिलेर गर्ने हो भने कति सजिलो हुन्थ्यो होला। एउटालाई मात्रै भारी पनि नहुने , काम पनि समयमै सकिने। सबैजना सँगै बसेर रमाइलो गर्न पाइने।
सहरतिर, अलि बुझकी र शिक्षित परिवारहरुमा प्रायः श्रीमान श्रीमती नै जागिरे हुने भएकोले होला, दुबैजना मिलेर घरको काम गरेको पनि देखिन्छ।

समाज परिवर्तन हुने क्रममा छ। आउने पुस्तामा विस्तारै लैंगिक समानता हुँदै जाला र परिवारमा धेरै सजिलो होला भन्ने आशा गर्न सकिन्छ। युगौंदेखि चलिआएका कतिपय कुराहरु, कसैले चाँहदैमा एकैचोटी परिवर्तन नहुँदोरहेछ। फेरि मानिसहरुले, अरुको देखासिखि छिटै गर्ने भएकोले, ऊ कस्तो समाजमा बसेको छ भन्ने कुराले पनि फरक पार्दोरहेछ। उसले कस्तो वाताबरण र संस्कार सिकेर आएको छ भन्ने कुराले पनि ब्यबहारमा आकास जमिनको फरक पर्दाे रहेछ।

सम्झिन्छु आफ्नो गाँउको त्यो निस्वार्थ माया त्यो अपनत्व त्यो हार्दिकता। कहाँ खोजेर पाउन सकिन्छ र सहरमा ? यो ठाँउमा त केबल औपचारिकता र देखावटि मात्रै हुन्छन्। सबैलाई आफू जसरि पनि ठूलो हुनु, देखाउनु परेको छ। संसारमा सबै भन्दा जान्नेसुन्ने हुनुपरेको छ। भित्र होस् नहोस्, बाहिर रवाफ देखाउनै पर्छ।

आफ्नो गाँउठाँउ छोडेर आइयो, अब यहिको समाजसँग मिलेर बस्नु पर्छ, अब मेरा नजिकका इष्टमित्र या दाजुभाइ यिनै हुन्, दुखसुखमा मिलेर बस्नु पर्छ भन्ने सामान्य ज्ञान पनि नभए जस्तो गर्छन् कतिपय शिक्षित भनिने मानिसहरु समेत। अझ चाडबाडको बेलाको त के कुरा गर्नु र? सम्झिंदा पनि कस्तो नरमाईलो लागेर आउँछ। यो मेरो भावनासँग जोडिएको गाउँ त हैन नी, यो त स्वार्थसँग जोडिएको शहर पो हो । फेरि यो शहरसँगको गुनासो पनि हैन, यहाँका स्वार्थी मन र मस्तिस्कसँग मात्रै हो।

मानिसहरुका शौख पनि कस्ता कस्ता! यता हामी भने अलि सतर्क बनौं है भन्दैछौं। वल्तिर पल्तिर बडे बडे जख्खु खसी ल्याइसकिएको छ। खसी म्याँ–म्याँ गरेको आवाजले अझै मुटु ढुकढुक भैरहेको छ। आजै नव दुर्गा भवानीसँग आफूलाई शक्ति मिलोस भनेर पूजा आराधना गर्ने। उता एउटा निर्दोष जिउदो आत्मालाई देबीको नाउँमा बली चढाएर आफ्नो जिब्राको स्वाद फेर्ने।

यो त हजारौं वर्ष पहिलेका ती वीर नारीहरुमाथि पनि घोर अन्याय भएन र? यस्तो चलन हेर्दा मलाइ उनीहरुको नाउँ भजाएर सोझै भ्रष्टाचार गरेको जस्तो लाग्छ  मांसाहारिहरुले त आफूलाई मन लागेको बेला अघिपछि खाए पनि त हुन्छ होला नि। किन महिलाहरुको नाउँमा बलि नै चढाउनु पर्ने? रमाइलो त कसैको ज्यान लिएर होईन, दिएर पो हुनु पर्ने हो।

उता सयौं हजारौं बर्ष पहिलेका देबीहरुसँग शक्ति , क्षमा, अरु यस्तै केके माग्दै नवाैं दिनसम्म पूजा आराधना गरि टोपल्ने। यता जिउँदा देवीहरुमाथि रातौंदिनको अन्याय अत्याचार, उनीहरु यस्तो सहन नसकेर जिउँदै जल्नु पर्ने। जिउँदाको वास्ता नहुने हाम्रो समाजमा युगौं पहिले मरिसकेका र जीबनमा आफूले कहिल्यै नदेखेका र नचिनेकाहरुसँग डराएर पूजा आराधना जस्ता चाकडि गर्नु पर्ने कस्तो संस्कार र संस्कृति होला ? सुन्दा पनि अचम्मै लागेर आउँछ।

मैले यस्तो लेख्दा कतिपय दाजुभाइ दिदीबहिनीहरुलाई कन्सिरीका रौ तातेर आउँछन् होला। यो मेरो निजी बिचार हो। तपाईंहरुले आफ्नो स्वतन्त्रताको सदुपयोग गर्न सक्नु हुन्छ। मेरो भनाइ यति हो कि पुराना वीरंगना र बिदुषिहरुको सम्मानमा आजका नारीहरुलाई समान अधिकार र अबसर दिएर उनिहरुको सम्मान गर्ने परिपाटिको बिकास गरौं। जहाँ नारीको पूजा र सम्मान हुन्छ , त्यहाँ देवता खुशी हुन्छन् भन्ने भनाइलाई सार्थक बनाउन सबैले सहयोग गरौं। आफूसँग जे छ त्यसैमा रमाउँदै दशै सुरक्षित तरिकाले मनाउँ।

(लेखिकाः लालटिनको उज्यालोमा)

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो