सामसुङका मालिक ली कुन हीको निधन

डिसी नेपाल
९ कार्तिक २०७७ ८:३९

सियोल। सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको ७८ वर्षको उमेरमा आइतबार निधन भएको छ । दक्षिण कोरियाली कम्पनी सामसुङलाई विश्वव्यापी ब्राण्ड बनाएको श्रेय ली कुन हीलाई नै जान्छ । लीको नेतृत्वमै सामसुङ स्मार्टफोन र मेमोरी चिप्सको विश्वकै ठूलो उत्पादकको रुपमा स्थापित भएको थियो । अहिले यो कम्पनीको वार्षिक टर्नओभरले पूरै दक्षिण कोरियाको कूल गार्हस्थ उत्पादनको ५ भागको एक भाग अर्थाथ २० प्रतिशत ओगट्छ ।

द गार्डियनका अनुसार आफ्नो जटिल जीवनशैलीका लागि परिचित ली २०१४ मा हृदयाघात भएपछि ओच्छ्यानमै थिए । पछिल्लो समय उनको स्वास्थ्य स्थितिबारे सार्वजनिक रुपमा निकै कम जानकारी दिइएको थियो । ‘हामी गम्भीर दुःखका साथ सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको निधन भएको घोषणा गर्दछौं’ उनको कम्पनीले जारी गरेको एक वक्तव्यमा भनिएको छ ‘अध्यक्ष लीको अक्टोबर २५ मा निधन भएको हो र उहाँको अन्तिम समयमा उहाँका परिवार र कम्पनीका उपाध्यक्ष जे वाइ ली साथमै हुनुहुन्थ्यो ।’

‘अध्यक्ष ली सच्चा दूरदर्शी हुनुहुन्थ्यो जसले सामसङलाई विश्वको अग्रणी कम्पनीको रुपमा स्थापित गर्न नेतृत्व गर्नुभयो र स्थानीय व्यवसायबाट औद्योगिक शक्ति केन्द्रसम्म पुर्याउन योगदान गर्नुभयो’ कम्पनीले भनेको छ ‘उहाँको विरासत अनन्तसम्म रहिरहनेछ ।’ दक्षिण कोरियामा सामसुङले व्यवसायमा प्रभुत्व जमाएको छ । यसले दक्षिण कोरियालाई युद्धले क्षतविक्षत अवस्थाबाट विश्वकै १२ औं ठूलो अर्थतन्त्रको रुपमा स्थापित गराउन निकै ठूलो योगदान गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *