व्यापारी भन्छन्, ‘कोरोनाका कारण गरिखानु न मरिजानु भयो’

तर्कबहादुर थापा
९ कार्तिक २०७७ ९:०४

काठमाडौं। ‘काठमाडौं सपनाको महासागर हो, साइँला। जाने मोती टिपेर आइन्छ, नजाने खाली हात फर्किनु पर्छ। कतिपय त त्यो सपनाको महासागरबाट फर्किएका पनि छैनन्,’ केही वर्ष पहिला एक यात्राका क्रमाम बसमा सुनेको वाक्य आज फेरि मानसपटलमा आएको छ।

शनिबार काठमाडौंकै मुटु मानिने न्यूरोड र महाबौध क्षेत्रमा पुग्दा बेलुकाको समय चलहपहल बढी हुने यो क्षेत्रमा दशैंको आठौं दिन पनि शुन्य प्राय थियो। पसलहरुको ढोकामा दशैं विशेष अफर, दशैं छुट जस्ता विज्ञापनहरु टासिँएका छन्। तर, त्योलाभ उठाउने मान्छे भने छैनन्।

एउटा दशैं विषेश छुट लेखिएको पसलभित्र पस्दा एक जना भाइले कपडा देखाउँदै भने, ‘छैन नि व्यापार यो वर्ष। मेरो नाम अमित हो। मैले यही पसलमा काम गर्न लागेको ७ वर्ष भयो। साहुजीले सबै जिम्मा लगाएर हिड्नु हुन्छ।’ उनी आफ्नो केही वर्षको अनुभव एकै पटक सुनाउँदै थिए।

‘यो वर्ष त सामान पनि त्यतिधेरै आउन पाएको छैन,’ उनले हामीलाई कपडा देखाउँदै आफ्नो सम्वाद जारी राखे। ‘यो पिस अहिले नै आएको हो। यस्तै उ त्यो झुण्डाएको पिस पोहोरको हो।’ देख्दा दुइटै उस्तै थियो। पोहोरकोलाई अहिलेको भन्दै बेच्न खोजेका हुन वा साच्चिकै एउटै प्रकारको पोहोर र अहिले आएको हो अमितलाई नै थाहा छ।

‘अरु समयमा भए त यसलाई हामीले ३५ सय ४ हजारमा बेच्ने गरेका छौं। यो दशैं तिहार अफर हो त्यसैले हजुरलाई २५ सय भनेको’ भारतको उत्तरप्रदेश घर बताउने उनले २५ सयमा हामीलाई दशैं उपहार भन्दै कपडा दिलाए। उपभोक्ताहरु धेरै नभएकाले हामीले कुरा गर्ने कोसिस गर्यौं व्यापारको।

कस्तो छ त अहिलेको व्यापार? यो प्रश्न पुरा हुन नपाउँदै उनले भने, ‘सर, कुरै नगर्नुहोस्। हाम्रो साहुजी त पसलमा आयो भने पनि मलाइ ‘हर्टअट्याक’ हुन्छ भन्नु हुन्छ। म घरमै बस्छु है भन्नु हुन्छ।’ कोरोनाका कारण गत चैत ११ गतेदेखि बन्द भएपछि अमितका साहुजी मात्र होइनन् मध्यम व्यवसाय गर्ने धेरैलाई दैनिक ‘हर्टअट्याक’ आइरहेको हुन्छ।

‘करिव १ लाख होला दोकानको भाडा।’ अमितले भने, ‘साउनमा खोल्यो फेरि बन्द भयो। अनि असोजबाट खोलेको। गर्मीको लागि हालेको सामान त्यसै थन्कियो। यता भाडा तिर्न सकिएको छैन। टेन्सन त हुनेनै भयो नि हजुर।’

देशभरकै लागि सामान जाने र सस्तो मिल्न भनेर काठमाडौं आएकाहरु एकपटक पस्ने महाबौद्ध क्षेत्रको प्रतिनिधित्व गर्दै अमितले कुरा सकाए। हामी त्यहाँबाट फर्कियौं नयाँ बानेश्वर तिरको चहलपहल बुझ्न।

फुटपातमा राखिएका ठेला तिर नै सबैभन्दा पहिला नजर गयो। ‘भैया केरा कसरी हो?’ वर्णमा कालो देखिने ठेलाका केरा व्यापारीलाई खानदानी जस्तै देखिने महिलाले सोधिन्। ‘१०० रुपैयाँ हजुर,’ उनले उत्तर दिए। हामीले पनि उनैसँग कुरा गर्न भनी केरा किन्न थाल्यौं। ‘दर्जन बढी छ। १०० रुपैयाँ मै लैजानुहोस्।’ हामीलाई केरा दिँदै उनले भने।

‘३ जना छोरा छोरी छन् हजुर,’ हामीले जान्न चाहेको कुराको उनले उत्तर दिदैँ थिए, ‘गाह्रो छ नि पाल्न त। यो दशैंमा त सबैभन्दा गाह्रो हुन्छ।’ सिन्धुली घर बताउने उनले भने, ‘नाम नभने हुँदैन।’ कर गरेनौं। ‘कोरोना नभए त केही थिएन हजुर। दिनमा ५ हजार बढीको नाफा कमाइन्थ्यो। पहिलेका दशैंमा त झन दिन मै १० हजार बढी पनि हुथ्यो।’ नाम नभनेका उनले सम्बाद गर्दै थिए। ‘कहिले ठेला बोकेर गल्ली गल्ली पनि हिड्छौं। कहिले यहीँ बस्छौं।’

कोरोनाले व्यवसायमा पारेको प्रभावको गतिला उदाहरण हुन् यी दुई व्यवसायी। सरटरमा व्यापार गर्नेदेखि ठेला गाडा गुडाएर आफ्नो जीविकोपार्जन गर्ने सबैलाई कोरोनाले ‘गरिखानु न मरिजानु’ गराएको छ। फूटपाथमा राख्ने व्यापारी हुन वा मलमा बस्ने सबैलाई एउटै र उस्तै समस्या छ। तर, भारी आफ्नो–आफ्नो।

सपना बोकेर हरेक व्यक्ति काठमाडौं नामक सपनाको महासागरमा पसेका थिए। कतिले पद र पहुँचै भरमा मोती निकालेर फर्केका छन्। कतिपयलाई कोरोनाले खाली हात फर्काएको छ। अमितको साहुजी र नाम नभन्ने ठेला व्यापारी जस्ता कतिपय अझै पनि सपनाको महासागरमा संघर्ष गरिरहेका छन्।

कोरोनाका कारण चैत ११ गतेदेखि व्यापार व्यवसाय ठप्प भएपछि कतिपय पसलहरु बिक्रीमा भनेर लेखिएको महिनौं दिन भए। कतिपय सटरहरु खाली छ भनेर लेखिएको पनि महिनौं दिन भइसकेका छन्।

न बिक्रीमा लेखिएको पसल खरिद गर्ने मान्छेहरु आउन सकेका छन् न त खालि सटरमा सामान भर्ने आँट नै मान्छेमा आएको छ। पसल खोलेर बसेका अमितका साहुजी जस्ता धेरैले दशैं तिहार विषेश छुट, उपहार जस्तो व्यानहरु ढोकामा टाँसेर विना कस्टमर दिन बिताइ रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *