फाइभ जी नेटवर्कका लागि हुवावे र फास्टवेबबीच हुन लागेको सम्झौता इटलीले रोकिदियो

डिसी नेपाल
९ कार्तिक २०७७ १०:४२

काठमाडौं। इटलीको टेलिकम कम्पनी फास्टवेबले आफ्नो लागि फाइभ जी उपकरण आपूर्ति गर्नको लागि चिनियाँ कम्पनी हुवावेसँग गर्न लागेको सम्झौता इटली सरकारले रोकिदिएको छ । यस विषयमा जानकार तीन स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार बिहीबार इटलीको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यो हुवावेविरुद्ध रोमले पहिलो पटक ‘भिटो’ शक्ति प्रयोग गरेको घटना भएको समाचारमा जनाइएको छ ।

गएको सेप्टेम्बरमा इटलीको भ्रमणमा गएका बेला अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले चिनियाँ मोबाइल टेलिकम प्रविधि इटलीको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको बताएका थिए । हुवावेले यो आरोपलाई कडा रुपमा अस्वीकार गरिरहेको छ र उसको इटलीमा रहेको इकाइले आफ्नो प्रविधि सुरक्षित छ भन्ने प्रमाणित गर्न कुनै पनि छानबिनको लागि तयार रहेको बताएको छ ।

यद्यपि इटलीको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले स्विसकमको इटलियन इकाइ फास्टवेबलाई हुवावेसँग फाइभ जी प्रविधिका लागि हुन लागेको सम्झौता लागू गर्नबाट रोक्न आफ्नो विशेष अधिकार प्रयोग गरेको छ । ‘सरकारले यो सम्झौतामाथि भिटो लगाएको छ र फास्टवेबलाई यसका आपूर्ति विविधिकरण गर्न भनेको छ’ एक बरिष्ठ सरकारी अधिकारीले रोयटर्ससँग भने ।

स्रोतका अनुसार फास्टवेबले हुवावेलाई आफ्नो फाइभ जी प्रविधिको लागि एकल आपूर्तिकर्ताको रुपमा छनोट गरेको थियो । यस विषयमा हुवावे र फास्टवेब दुवैले कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । प्रधानमन्त्री कार्यालयको एक स्रोतका अनुसार रोमले हुवावेले फाइभ जी कोर नेटवर्कमा कुनै भूमिका खेल्न सक्छ कि सक्दैन भन्ने समेत मूल्यांकन गर्न चाहन्छ । अमेरिकाका केही सहयोगीहरु, जस्तै बेलायतले भविष्यमा आफ्नो फाइभ जी संरचनामा हुवावेलाई प्रतिबन्ध लगाएको छ तर इटलीले यसो गर्न भने अस्वीकार गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *