एफबीआइको मोस्ट वान्टेड सूचीमा रहेका अल कायदाका नेता मारिए

डिसी नेपाल
१० कार्तिक २०७७ १०:४९

काठमाडौं। अफगानिस्तानले एफबीआइको मोस्ट वान्टेड सूचीमा रहेका अल कायदाका एक नेतालाई गत हप्ता मारिदिएको दावी गरेको छ । अफगानिस्तान सरकारले अल कायदा नेता हुसाम अबद अल रउफलाई गाज्नी प्रान्तमा भएको एक अपरेशनका क्रममा मारिएको दावी गरेको छ । समाचार एजेन्सी एसोसिएट प्रेसका अनुसार अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले अल रउफको मृत्युबारे ट्वीट गर्दै जानकारी दिएको र आइतबार अबेर राती एउटा फोटो ट्वीट गर्दै त्यो अल रउफको लाश भएको बताएको छ ।

फोटोमा देखिएको शवको अनुहार एफबीआइको रेकर्डमा रहेको अल रउफको अनुहारसँग मिल्दोजुल्दो छ । रउफ मारिएको भिडन्त कुन्साफ गाउँमा भएको दुई सरकारी अधिकारीहरुले एपीलाई बताएका छन् । यद्यपि त्यहाँ के–के भयो भन्ने विस्तृत विवरण प्रस्ट हुन सकेको छैन । गाज्नी प्रान्तीय परिषदका उपप्रमुख अमानुल्लाह कमरानीले एपीलाई बताएअनुसार इन्टेलिजेन्स एजेन्सीको नेतृत्वमा रहने विशेष फोर्स कुन्साफ गाउँमा गएको कारवाहीमा अल रउफलाई मारेको हो । रउफसँगै ७ जना लडाकूहरु मारिएको अधिकारीहरुले बताएका छन् ।

कमरानी र इन्टेलिजेन्स एजेन्सीले कसरी अल रउफ त्यहाँ भएको जानकारी प्राप्त भयो र उनको पहिचान कसरी गरियो भन्ने विषयमा जानकारी दिएका छैनन् । कमरानीले बिना प्रमाण तालिबानले अल रउफलाई शरण दिएको दावी गरेका छन् । तालिबानले यो घटनाबारे विस्तृत जानकारी लिइरहेको बताएको छ । यदि तालिबानले अल रउफलाई शरण दिएको प्रमाणित भएमा उसले गएको फेब्रुअरीमा अमेरिकासँग हस्ताक्षर गरेको शन्ति सम्झौताको उल्लंघन गरेको ठहरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *