शरणार्थी बालबालिकालाई सहयोग

डिसी नेपाल
१० कार्तिक २०७७ २३:४०

दमक । बडादशैंँका अवसरमा पूर्वको झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर तथा त्यस आसपासका अभिभावकविहीन ३८ बालबालिकालाई आज लत्ताकपडासहित नगद सहयोग प्रदान गरिएको छ । दमक नगरपालिका –३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका अशक्त, असहाय एवं अभिभावकविहीन बालबालिकालाई नयाँ लुगाफाटा, जुत्ता र रु १० हजारका दरले सहयोग वितरण गरिएको हो ।

बेलडाँगी शिविरस्थित फ्रेन्डस क्लब बिआरसीका पहलमा नक्षत्र फाउण्डेशन तथा अमेरिकामै रहेका आइभोरी होम हेल्थ सर्भिस, इन्क होमल्याण्ड, होम केयर सर्भिस र एलएलसी फस्र्ट इम्पेरियल इन्सुरेन्स एजेन्सीसहित पुनर्वास भएका भुटानी शरणार्थीले स्वेच्छिक रुपमा सहयोग संकलन गरेको फ्रेन्डस क्लबका अध्यक्ष युवराज साम्पाङ राईले जानकारी दिए ।

बेलडाँगी शिविरका २१, पथरी शिविरका ११ र शिविर आसपासका ६ अभिभावकबिहीन बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गरिएको छ । यसैबीच भुटानी शरणार्थीलाई दातृ निकायले सबैखाले सहयोग कटौती गरिसकेपछि लामो बन्दाबन्दी र कोरोना कहरका कारण शिविरमा खाद्यन्न संकट देखिन थालेको बेलडाँगी शिविरका सचिव कृष्णप्रसाद लिङ्देनले बताए ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *