‘उनीहरूले हामीले भित्र लुगा लगाइरहेका छौँ कि छैनौँ भनेर सोधे’

डिसी नेपाल
१७ कार्तिक २०७७ ७:०१
1.5k
Shares

बीबसी। बिहेपछिका आफ्ना विशेष तस्बिरहरूबारे सामाजिक सञ्जालमा तीव्र आलोचना भएपनि ती तस्बिर नहटाउने भारतीय जोडीले बीबीसीलाई बताएको छ।

ती तस्बिर हटाउनु भनेको आफूहरूप्रति दुर्व्यवहार गर्नेहरूलाई बल पुर्‍याउनु उनीहरूको तर्क छ। एक भारतीय जोडीले बिहे गरेपछि खिचाएका आत्मीय तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए, त्यसपछि सामाजिक सञ्जालमा त्यसको तीब्र आलोचना (ट्रोल) गरिएको थियो।

तस्बिरहरूमा लक्ष्मी र हृषी कार्थिक सेतो सिल्कको ओढ्नेमा बेरिएर घना चियाबारीमा हाँस्दै, अँगालो मार्दै र एक अर्कासँग लुकामारी खेलेको देखिन्छ।

गत सेप्टेम्बरमा सानो समारोह गरेर बिहे गरेको यो जोडीले आफ्नो सामान्य बनाउनुपरेको बिहेको बदलामा फोटोशूट गरेर त्यसलाई ‘स्मरणीय’ बनाउन चाहन्थे।

आफ्नो गृहनगर केरलामा रहेकी लक्ष्मीले फोनबाट बीबीसीसँग भनिन्, “हाम्रो मागी तथा प्रेम विवाह हो।” “हाम्रा परिवारले हामीलाई परिचय गराइदिएपछि हामीले एक अर्कालाई प्रेम गर्न थाल्यौँ,” उनले भनिन्।

हृषी टेलिकम कम्पनीमा काम गर्छन् र लक्ष्मीले इलेक्ट्रिकल र इलेक्ट्रोनिक इन्जिनियरिङ डिग्री भर्खर सकेकी छन्। एप्रिलमा शानदार बिहे गर्ने यो जोडीको योजना महामारीले तुहाइदिएको थियो।

मार्चको अन्त्यतिर भारतमा कडा लकडाउन लगाइयो र कोरोनाभाइरस फैलिनबाट रोक्न सबै खाले जमघटमा प्रतिबन्ध लगाइयो। प्रतिबन्ध खुकुलो हुँदै जाँदा बिहेका स-साना जमघट गर्न अनुमति दिइयो। त्यसैकारण हृषी र लक्ष्मीले सेप्टेम्बरमा एउटा मन्दिरमा गएर बिहे गरे।

“बिहे समारोह रमाइलो थियो तर त्यसमा हाम्रा परिवारका सदस्य र नजिकका साथीमात्र सहभागी थिए। प्रहरीले हामीलाई ५० जना पाहुनाको लागि मात्र अनुमति दिएको थियो।”

शानदार बिहे गर्न नपाएको बदलामा उनीहरूले स्मरणीय फोटोशूट गर्ने निर्णय गरे। केरला र भारतका अरू भागमा पनि धेरै जोडीले आफ्नो बिहेबारे अरूलाई जानकारी दिन पनि परम्परागत फोटोशूटको बदला विशेष फोटोशूट गर्ने चलन चल्न थालेको छ।

हृषी बिहेपछिको फोटोशूट ‘रोमान्टिक र आत्मीय’ बनाउन चाहन्थे। उनले इन्टरनेटमा अध्ययन गरेपछि चियाबारीमा फोटोशूट गर्ने विचार अगाडि सारे।

उनका फोटोग्राफर साथी अखिल कार्थिकेयनले त्यस किसिमको फोटोशूट सम्पन्न गर्न केही घण्टा मात्रै लाग्ने बताए। उनीहरूले होटलको ओढ्ने केही समयका लागि मागे र फोटो खिचाए।

लक्ष्मीले भनिन्, “कस्तो रमाइलो भएको थियो। हामी साँचिकै उत्साहित थियौँ र त्यो हाम्रो हनीमूनको एउटा अंश थियो।” त्यसले अरूलाई यति धेरै समस्या दिन्छ भन्ने आफूहरूलाई अनुमानै नभएको उनीहरूले बताए।

जब अखिलले केही दिनपछि ती तस्बिरहरू फेसबुकमा अपलोड गरे अनि समस्या शुरू भयो। ट्रोलमा ती फोटोहरू नराम्रा, अश्लील, लाजमर्दो रहेका भनियो। कतिले ती तस्बिरहरू पोर्नोग्राफिक भएको र उनीहरू कन्डोमको विज्ञापनका लागि ठिक हुने बताए, कतिले उनीहरूलाई एउटा कोठा लिन सुझाव दिए।

लक्ष्मी भन्छिन्, “हामीले दुई दिनसम्म निरन्तर घृणा पाइरह्यौँ।” “मानिसहरूले हामीलाई नग्नता प्रदर्शन गरेको भने, हामीले ओढ्नेभित्र लुगा लगाएका छौँ कि छैनौँ भने र हामीले त्यस्ता तस्बिर अरूको ध्यान आकर्षण गर्न र प्रचारका लागि गरेको भने।”

धेरैजसो दुर्वचनहरू आफूप्रति लक्षित रहेको लक्ष्मी बताउँछिन्। उनी भन्छिन् “त्यो मेराप्रति असाध्यै नराम्रो थियो। मेरा श्रीमान् भन्दा बढी मप्रति दुर्व्यवहार लक्षित थियो। उनीहरूले मलाई पोर्न फिल्ममा खेल्न भनेका थिए। मेरो बेइज्जत गर्ने प्रयत्न गरियो।”

“ट्रोल गर्नेहरूमा महिलाहरू पनि थुप्रै थिए। उनीहरूले मेरा पहिलेका मेक अप नगरेका फोटोहरू फेला पारे र म तिनमा कति नराम्री देखिएकी छु भन्ने टिप्पणी गरे।”

तर केही दिनपछि मानिसहरूले ट्रोल गर्नेहरूविरुद्ध बोल्न थाले र कार्थिकहरूप्रति समर्थन व्यक्त गरे। कैयौँले फोटाहरू असाध्यै सुन्दर र अद्भूत भएको लेखे। ट्रोल गर्नेहरूलाई वास्ता नगर्न सुझाव पनि दिए।

एक महिलाले कुनैबेला विवाहित जोडीले हात समातेर हिँड्दा पनि बेइज्जत गरिन्थ्यो भन्दै उनले कार्थिकहरूलाई ट्रोलको बेवास्ता गर्न र खुशी रहन भनिन्।

“हाम्रो आलोचना गर्नेहरूलाई हामी चिन्दैनौँ। हाम्रो समर्थन गर्नेलाई पनि चिन्दैनौँ तर हाम्रो समर्थनमा बोल्नेहरू पनि देखेपछि हामी खुशी भयौँ।” सामाजिक सञ्जालको ट्रोल मात्रै होइन परम्परावादी नातेदारहरू पनि फोटोशूटको विपक्षमा उभिए।

“शुरूमा हाम्रा बाबाआमा पनि स्तब्ध भए तर जब हामीले के गर्न चाहेको हो भन्ने बुझायौँ उनीहरूले हामीलाई समर्थन गरे। तर हाम्रा कैयौँ नातेदारले हामीले पश्चिमा नक्कल गरेको भनिरहेका छन्।”

“उनीहरूले फोन गरेर हामीलाई भने – यस्तो फोटोशूटको आवश्यकता के थियो? तिमीहरूले हाम्रो संस्कृति बिर्स्यौ?”

नातेदारहरूले ती फोटोहरू सामाजिक सञ्जालबाट हटाउन भने। त्यसबापत कैयौँ पारिवारिक ह्वाट्सएप ग्रूपबाट पनि उनीहरू हटाइए। तर आफूहरू फोटो नहटाउनेबारे दृढ रहेको यो जोडी बताउँछन्।

“यदि हामीले हटायौँ भने उनीहरूले त्यसलाई गल्तीको महसुस गरेको भन्ने रूपमा लिनेछन्,” उनीहरू भन्छन्, “तर हामीले त केही गल्ती गरेका थिएनौँ। हामीले भित्र लुगा पनि लगाएका थियौँ।” “शुरूमा हामीलाई आलोचनासँग जुझ्न मुस्किल भएको थियो तर अहिले बानी परिसक्यो। समाज यस्तै हो हामीले यो सँग जिउन सिक्नुपर्छ।”

बीबीसी नेपालीबाट सभार


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *