प्रचण्डविरुद्ध प्रधानमन्त्रीको आक्रोश : सधैं बखेडा झिकेर कामै गर्न नदिने ?

मदन कोइराला
२० कार्तिक २०७७ ११:१४

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा गुटबन्दी पेचिलो बन्दै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई भेटेर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कामै गर्न नदिएको आरोप लगाएका छन्।

यसअघिको पार्टी विवादको क्रममा प्रचण्ड र माधव नेपाल समूहका तर्फबाट सांसदहरुसँग लिइएको हस्ताक्षरलाई नै यसपटक ओलीका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रयोग गरिन लागेको भन्ने सूचनाका कारण प्रधानमन्त्री ओली थप प्रचण्ड समूहसँग आक्रोशित छन्।

सांसदहरुसँगको भेटघाटका क्रममा उनले पार्टीका अर्का अध्यक्ष प्रचण्डको खुलेरै विरोध गर्ने गरेका छन्। आफूले देशका लागि केही गर्न चाहेको तर आफूलाई शुरुदेखि नै केही गर्न नदिई अनेक बखेडा निकालेर अप्ठेरोमा पार्ने गरेको तर्क गर्दै ओलीले सांसदहरुलाई पार्टी फुट्ने अवस्था आए कता लाग्ने हो कित्ता क्लियर गर्न आग्रह पनि गर्न थालेका छन्।

स्रोतका अनुसार आफ्नो समर्थनमा नआएका र गुट परिवर्तनका सम्भावना भएकाहरुलाई प्राथमिकतामा राखेर ओलीले सांसदहरुसँग कित्ता क्लियर गर्न भनेका हुन्। बुधवारमात्र पनि उनले केही सांसद र मन्त्रीहरुसँग यसबारे छलफल गरेका थिए।

आफ्नो समर्थनमा नआएका र गुट परिवर्तनका सम्भावना भएकाहरुलाई प्राथमिकतामा राखेर ओलीले सांसदहरुसँग कित्ता क्लियर गर्न भनेका हुन्। बुधवारमात्र पनि उनले केही सांसद र मन्त्रीहरुसँग यसबारे छलफल गरेका थिए।

उनीसँगको छलफलमा कानूनमन्त्री शिवमाया तुम्बाहाम्फे र श्रममन्त्री रामेश्वर राय यादव साँझपख बालुवाटार पुगेका थिए। यी दुई मन्त्रीमध्ये तुम्बाहाम्फे प्रधानमन्त्री ओली समूहकै हुन् भने श्रममन्त्री यादव अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समूहका हुन्।

त्यसैगरी सांसद थममाया थापासहितका अरु चारजना महिला नेतृहरु पनि प्रधानमन्त्रीलाई भेट्न बुधबार बालुवाटार पुगेका थिए भने संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि बुधबार साँझ बालुवाटारमा पुगेका थिए। ओली निकट एक उच्च नेताले यी भेटघाटहरुलाई सामान्य रुपमा लिनु पर्ने बताए।

‘प्रधानमन्त्री ओलीसँग कुरा गरेर बालुवाटारबाट निस्कने र खुरुर्र कुदेर उता अर्को गुटको बैठक गर्ने काम त प्रचण्डबाट भएकै छ नि। किन गुटबन्दी गर्नुहुन्छ यसरी नगर्नुस् भनिसकिएको छ’ उनले डिसी नेपालसँग भने, ‘सधैं किचलो निकालेर सरकारलाई प्रधानमन्त्रीलाई कामै गर्न नदिने अवस्था आउनु त राम्रो होइन नि। यही कुरा आफ्ना सांसद र मन्त्रीहरुलाई प्रधानमन्त्रीले भन्नुभएको हो। कुनै ग्रुप ग्रुपमा भेट्नु भएको होइन।’

सांसद थममाया थापाले आफू जिल्लाको कामका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार भएको बताइन्। पार्टी विवादका विषयमा प्रधानमन्त्रीसँग धेरै कुरा नभएको भन्दै उनले भनिन्, ‘ प्रधानमन्त्रीले बोलाएर भन्दा पनि मेरो जिल्लाको कामको सिलसिलामा प्रधानमन्त्रीलाई भेट्न गएकी हुँ,’ थापाले डिसी नेपालसँग भनिन्, ‘जनताले पाँच वर्षसम्म स्थिर सरकारको लागि नेकपालाई बहुमत दिएका हुन्। अहिले बीचमा अस्थिरता ल्याउने काम कसैले पनि गर्नु हुँदैन।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *