सिरु फुल्ने ठाउँमा फूलबारी, आत्मनिर्भर बन्दै इटहरीका महिला

तर्कबहादुर थापा
२१ कार्तिक २०७७ १४:४८

काठमाडौं। ‘खाली बस्न हुँदैन केही गर्नु पर्छ भन्ने लाग्यो। महिला दिदी बहिनीहरु जम्मा भएर छलफल गर्न थाल्यौं। विहान आफ्ना बालबच्चालाई स्कुल छोडेपछि र घरधन्दा सकेपछि भेला हुथ्यौं। छलफलले केही गर्नु पर्छ भन्ने निष्कर्ष निकालेर उप महानगरपालिकामा गयौं।’

इटहरी उपमहानगरपालिका वडा नं. को सृजनशिल कृषि उद्यमी महिला समूहकी अध्यक्ष पवित्रा कोइराला डिसी नेपालसँगको कुराकानीमा आफ्नो अनुभव सुनाउँदै थिइन्। करिव १२ कठ्ठा जग्गा भाडामा लिएर पवित्रा नेतृत्वको समूहले फूलखेती गरेको छ। फूलखेतीबाट आम्दानी पनि राम्रै हुने उनको अपेक्षा छ।

उनले भनिन्, ‘हामी नेपाली समाजमा अझै पनि महिलाहरु घरभित्र नै बस्नु पर्छ भन्ने खालको बाध्यता छ। चुलो चौकोमा नै सीमित रहने हामी फुर्सदको समय मिल्न नपाउँदै टेलिभिजनमा आउने धारावाहिक नाटक तथा सामाजिक सञ्जालमा व्यस्त हुने गर्छौं। हामीले त्यो खालको कुलतबाट बाहिर ल्याउने अभ्यास स्वरुप आफूहरुलाई व्यस्त राख्नका लागि महिलालाई भेला गरेर केही गर्नेबारे छलफल बढाएका हौं।’

‘फूलखेती गर्ने निर्णय गरेपछि नगरपालिकामा आउनु भयो,’ इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले भनिन्, ‘नगरपालिकाले उपमेयर आत्मनिर्भर कार्यक्रम मार्फत २ लाख रुपैयाँ अनुदान सहयोग गरेका हौं।’

उपप्रमुख गौतमका अनुसार उप महानगरपालिकामा ३ वटा समूह सक्रिय भएर फूल खेती गरेका छन्। ‘बाहिरबाट आउने फूलहरु रोक्न र उपमहानगरपालिकामा महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्यका साथ फूल खेतीतर्फ आकर्षित गराएका हौं।’ फूलखेतीबाट महिलाले आम्दानी राम्रै आम्दानी गर्नसक्ने उपमेयर गौतमको भनाइ छ।

हामीलाई उपमहानगरपालिकाले २ लाख अनुदान सहयोग गरेको थियो। जसमध्ये हामीले १ लाख बराबरको फूलको विरुवा किनेका थियौं। हावापानी सुहाउँदो कलकत्ते जातको फूलको विरुवा खरिद गरेको हौं।

बाँझो जग्गा जहाँ सिरु फूल्थ्यो त्यो जग्गालाई उपयोग गरेर स्थानीय महिलाले देखाएको जाँगरले आफूलाई उत्साहित बनाएको उपप्रमुख गौतमको भनाइ छ। उनले भनिन्, ‘हामीले दुबै समूहले फूलखेती गरेको जग्गामा सिरु फूल्थ्यो, बाँझो थियो। कतिपय प्लटिङ गरेर छोडेका जग्गाहरु थिए। उहाँहरुले समूह बनाएर हामी आत्मनिर्भर हुन्छौं भन्नु भयो। उपमेयर आत्मनिर्भर कोषमार्फत सहयोग गरेका हौं। उहाँहरुले देखाएको लगावले अझै केही गर्न सहयोग गरौं झै लागेको छ।’

उपमहानगरपालिकाले दिएको २ लाख अनुदानबाट १ लाख बढीको फूलको विरुवामात्र किनेको अध्यक्ष कोइरालाले बताइन्। उनले भनिन्, ‘हामीलाई उपमहानगरपालिकाले २ लाख अनुदान सहयोग गरेको थियो। जसमध्ये हामीले १ लाख बराबरको फूलको विरुवा किनेका थियौं। हावापानी सुहाउँदो कलकत्ते जातको फूलको विरुवा खरिद गरेको हौं।’ कलकत्ते फूलको विरुवा अन्य भन्दा फूलको विरुवाभन्दा महंगो भएको अध्यक्ष कोइरालाको भनाइ थियो।

‘अहिले त हामीले श्रमदान गरेका छौं,’ पवित्राले भनिन्, ‘गोबरमल बिच्छ्याउन र खनजोत गर्न ट्याक्टरको प्रयोग गरेका हौं। फूलहरु बेचेर लगानी उठाएर कोषमा राख्छौं। बचेको पैसाले श्रमदान गर्ने २० जना महिलाले पारिश्रमिकको रुपमा बाढ्ने छौं।’

फूलखेतीपछि हिउँदमा फल्ने तरकारी लगाउने सोचमा रहेको अध्यक्ष कोइरालाको भनाइ छ। फूलखेती सकिएपछि, हिउँदे तरकारी, आलु, तोरी, कोशेबाली, राजमाहरु लगाउने योजना भएको पनि अध्यक्ष कोइरालाले बताइन्।

उपमहानगरपालिका १९ तामाङ टोलका १५ जना महिलाले पनि विगतको वर्षबाट नै फूलखेती गर्दै आएका छन्। उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तरर्गत चिनारी कृषि उद्यमी महिला समूह गठन गरी १० कठ्ठमा फूलको खेती गरिरहेको समूहकी अध्यक्ष बसन्ता कुमारी राईले जानकारी दिइन्।

राईका अनुसार उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गतको १ लाख ५० हजार रुपैयाँ र भइपरी आउने कोष अन्तरर्गतको १ लाख ५० हजार गरी जम्मा ३ लाखमा फूलखेती सुरुवात गरेका हुन्।

‘पोहोरबाट सुरु गरेको हो,’ अध्यक्ष राईले डिसी नेपालसँग भनिन्, ‘त्यो वर्ष धेरै फाइदा कमाउन सकिएन। हामीले. लगाएको लगानी उठाएका थियौं। अहिले भने फूलको विरुवामा मात्र पनि १ लाख ५० हजारको बेचि सकेका छौं।’

उपमहानगरपालिका की उपप्रमुख लक्ष्मी गौतम र सदस्य इन्दीरा राईको विषेश पहलमा स्थानीय महिलाई आत्मनिर्भर हुन सिकाएको राईको भनाइ छ। बसन्ताले भनिन्, ‘घर भित्र बस्ने हामी महिलालाई उपमेयरले जागरुक बन्नु पर्छ भन्नु भयो। आत्मनिर्भर हुनुपर्छ भन्नु भयो। हामीलाई आफ्नो फुर्सदिलो समयलाई उपयोग गर्न सिकाउनु भयो। उहाँकै पहलमा फूलखेति गरेका हौं।’

‘हामी १५ जना नै काम गर्छौं,’ अध्यक्ष राईले भनिन्, ‘हामीले काम गर्नेलाई पनि पारिश्रमिक दिएकै छौं। हामीले आत्मनिर्भर भएर केही गर्नुपर्छ भन्ने देखाएपछि समाजले पनि हामी महिला प्रति हेर्ने दृष्टिकोण नै परिवर्तन गरेको छ। म त सबै महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बन्न तर्फ लाग्नु पर्छ भन्ने आग्रह पनि गर्न चाहन्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *