बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि गैर आवासीय नेपाली के भन्छन् ?

डिसी नेपाल
२३ कार्तिक २०७७ २२:४१

काठमाडौं। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा आप्रवासीप्रति सहानुभुति राख्ने डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएपछि गैर आवासीय नेपालीहरु खुशी देखिएका छन्।

ट्रम्प प्रशासनले अमेरिका पहिलोको नीतिअनुसार आप्रवासीमाथि कडापन देखाएपछि अमेरिकामा रहेका आप्रवासीहरु हैरान थिए। बाइडेन राष्ट्रपति निर्वाचित हुने भएपछि आप्रवासीहरु ट्रम्प प्रशासनको नीतिमा परिवर्तन आउने अपेक्षाका साथ खुशी भएका छन्।

यही विषयमा डिसी नेपालले गैरआवासीय नेपाली संघका पदाधिकारीसँग कुरा गरेको छ।

बाइडेन आप्रवासीप्रति उदार हुने अपेक्षा छ : कुमार पन्त (अध्यक्ष एनआरएनए)

नयाँ व्यक्ति आउँदैमा उथुलपुथल नै हुन्छ भन्ने हुँदैन। निर्वाचन पद्धतिबाट हरेक पटक नयाँ व्यक्ति फेरिन्छन्, यो स्वभाविक हो। अमेरिकी चुनावको बेलामा परिवर्तनका ठूलै कुरा गरेपनि व्यवहारमा त्यस्तो गरेको पाईँदैन।

अमेरिका जहिले पनि विश्वमा आफू शक्ति केन्द्र रहेको देखाउन चाहान्छ। अहिले विश्वमा अमेरिका जस्तै अरु देश पनि आफैमा शक्तिशाली छन्। अमेरिकाको राजनीतिले अन्य देशलाई प्रभाव पार्दछ भन्ने हुँदैन।

आप्रवासीको हकमा ट्रम्प प्रशासन अल्लि बढी भयो अनुदार भयो भन्ने कुरा थियो। गैरआवासीय नेपालीको पनि गूनासो त्यहि थियो। त्यो भनेको एकदमै नराम्रो पक्ष हो। अहिल ‘ग्लोवल भिलेज’ को जमना हो। अहिले मान्छेहरु संसारको जुनसुकै कुनामा पनि गएर बस्न सक्छन् । वाइडेन आप्रवासीको हकमा उदार हुनेछन् भन्ने अपेक्षा हामीले पनि गरेका छौँ।

धरापमा रहेको आप्रवासीहरुको अस्तित्व जोगिनेछ : राजन त्रिपाठी (एनरआरएनए अमेरिकाज अध्यक्ष)

संसारभरी प्रत्यक्ष रुपमा असर पर्ने अमेरिका जस्तो देशको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीबाट जो वाइडेन विजयी हुनु भएकोमा मलगायत अमेरिकामा रहेका अधिकांश गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनी खुशी भएका छौँ। वाइडेनको विजयले विश्वमा मौलाउँदै गएको अतिवादको अन्त्यको शुरुवात भएको हामीले महशुस गरेका छौँ।

विशेषगरी ट्रम्पको उपस्थितिले आधुनिक विज्ञानमा विश्वास नगर्ने, स्थापित मान्यतालाई आत्मसाथ नगर्ने, लोकतान्त्रिक पद्धतीलाई नमान्ने, अलपसंख्यक एवं सीमान्तीकृत समुदायप्रति असहिष्णु हुने, असभ्य व्यवहार देखाउने, चरम खोक्रो राष्ट्रवादको नारा दिने र पैसालाई मात्रै सर्वोेपरी मान्ने जस्ता प्रवृत्तिले पूरै संसार अस्तव्यस्त थियो। विश्वव्यापी मान्यतालाई लत्याउँदै आप्रवासीहरुप्रति गरिने अधिनायकवादी ट्रम्पको राजनीति र पद्धतीको अन्त्य भएको हामीलाई महशुस भएको छ।

अमेरिका वासीको बहुमतबाट ट्रम्पले ४ वर्षदेखि चलाउँदै आएको अधिनायकवादी नीतिको पराजय भएको छ। ट्रम्पको नीतिलाई परास्त गरिएकोले अमेरिकामा बस्ने गैरआवासीय नेपालीलगायत सम्पूर्ण आप्रवासीहरुले अहिले विजय उत्सव मनाइरहेका छन्। वाइडेनको जीतले धरापमा रहेको आप्रवासीहरुको अस्तित्व जोगिएको छ।

वाइडेनको जीत सिंगो प्रजातन्त्रिक पद्धतिको जीत हो। चुनाव निष्पक्ष भएको छ, यसमा कुनै शंका गर्नुपर्ने विषय नै छैन। ट्रम्पले आफ्नो हार स्वीकार गर्नुको विकल्प छैन।

प्रत्यक्ष र अप्रत्यक्ष फाइदा नै पुग्ने विश्वास छ : कृष्णजीवि पन्थ (उपाध्यक्ष एनआरएनए अमेरिका)

बाइडेनले बोलेका बाचाहरु पूरा गर्नु भयो भने आप्रवासीको मुद्दाहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने छ। ट्रम्पले गरेका अतिवादी क्रियाकलापले आप्रवासीहरुले आफूलाई असुरक्षित ठानेका थिए। डेमोक्रेटिक पक्षबाट बाइडेन विजयी भएपछि नेपालीलयागयत सम्पूर्ण आप्रवासीले राहतको महशुस गरेका छन्।

उनीहरुले आफ्नो भविष्य सुरक्षित भएको अनुभूति गरेका छन्। आप्रवासीलाई प्रतिबन्ध समेत लगाउने ट्रम्पको योजना तुहिएको छ। आप्रवासीहरुलाई हेरिने अपमानजनक दृष्टिको अन्त्य भएको छ। नेपालीलगायत सम्पूर्ण आप्रवासीहरुलाई सम्मानजनक किसिमले जीवन जिउन पाउने वातवारणको सिर्जना भएको छ।

अर्काे गर्व गर्न लायक विषय भनेको दक्षिण एसियाली मुलुक भारतीय मूलकी महिला नेतृ कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित हुनु भएको छ। उहाँले चुनावी नारामै आप्रवासीहरुको हकहितको पक्षमा आफू रहेको स्पष्ट पार्नु भएको छ। नेपालीलगायत सम्पूर्ण हामी आप्रवासीहरु बाइडेनको विजयले खुशी भएका छौँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *