अमेरिकामा कार्यरत युवा डाक्टरमाझ हरिबंशको ‘सांसद गेडाबहादुर’

डिसी नेपाल
२४ कार्तिक २०७७ ११:२०

वासिंगटन डिसी। अमेरिकामा कार्यरत नेपाली मुलका युवा डाक्टरहरु तथा अन्य स्वास्थ्यकर्मीहरुमाझ नेपालका वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले सांसद गेडाबहादर नामक प्रहसन प्रस्तुत गरेका छन्।

अमेरिका र नेपालमा कार्यरत युवा डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरुको संस्था हेल्थ फाउण्डेसन नेपालको नोभेम्बर ६ र ७ तारिकमा जुम प्रविधिबाट सम्पन्न भएको बार्षिक बैठक तथा दशैं तिहार इन्टरटेनमेण्ट नाइट कार्यक्रममा उनले त्यस्तो प्रहसन प्रस्तुत गरेका हुन्।

कोरोना लागेका नेपाली सत्तारुढ दलका सांसदको भूमिकामा देखिएका हरिवंशले वास्तविक हरिवंशलाई नै फोन गरेर कुराकानी गरेको प्रसंगमा समसामयिक दह्रो व्यंग्य प्रस्तुत गरेका थिए।

नेपालका विभिन्न जिल्लामा स्वास्थ्य र शिक्षाका क्षेत्रमा जनचेतनामुलक विभिन्न परियोजनाहरु संचालन गर्दै आएको हेल्थ केयर फाउण्डेनले सो कार्यक्रमका सन्दर्भमा अमेरिकामा कार्यरत डाक्टर तथा अन्य स्वास्थकर्मीहरुबाट आर्थिक सहयोग रकम पनि आह्वान गरेको थियो।

कार्यक्रम चल्दा चल्दै नै सहभागीहरुले फाउन्डेसनको नेपालका जारी विभिन्न परियोजनाका लागि आर्थिक सहयोगको घोषणा गरेका थिए। जसअनुसार, मनोज भट्टराईले ३ हजार डलर, डा.आरती पौडेलले २ हजार डलर, डा. शम्भु अर्यालले एकहजार डलर, डा.मनोज भण्डारी र दीक्षाले एकहजार एक डलर, फाउण्डेसनकै अध्यक्ष डा.अशोक देवकोटाले एक हजार डलर, डा.दिनेश मैनालीले पाँचसय डलर, कमल वाग्लेले ५ सय डलर सहयोगको घोषणा गरेका थिए।

त्यसैगरी कार्यक्रममा सहभागी अन्य व्यक्तिहरुले पनि आफ्नो इच्छाअनुसारको रकम सहयोग गर्ने घोषणा त्यहीँ गरेका थिए। यसअघि फाउण्डेनका गतिविधिहरुबारे जानकारी दिँदै अध्यक्ष देवकोटाले सहयोगका लागि सहभागीहरुसँग आह्वान गरेका थिए । बरिष्ठ कलाकार हरिवंश आचार्यले शरीर विदेशमा भए पनि मन नेपालमै भएको र फाउण्डेसनले नेपालका लागि अतुलनीय योगदान गरेको बताएका थिए।

कार्यक्रममा हास्यकलाकार सुमन कोइराला दलेदाईले छोटो व्यंग्यात्मक प्रस्तुति दिएका थिए भने गायकहरु स्वरुपराज आचार्य, विपिन घिमिरे, गायिका तथा नर्स ऋतिका श्रेष्ठले दुई दुईवटा गीतहरु प्रस्तुत गरेका थिए। त्यसैगरी स्वजन रघुवंशीको नृत्य र नरेश प्रजापतिको थुप्रै मादलहरुको धुन पनि प्रस्तुत गरिएको थियो ।

नेपाली बैज्ञानिक डा.महाबीर पुनले समेत आफ्नो धारणा राख्दै नेपाल र नेपाली जनतालाई सहयोगका लागि आह्वान गरेको सो कार्यक्रममा फाउण्डेसनका मनोज भट्टराई, डा.यादव पाण्डे, श्रीधर पौडेल र डा. यशस्वी पोख्रेलले संस्थाका विभिन्न परियोजनाहरुका कार्य प्रगतिबारे बोलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *