नेगेटिभ रिपोर्ट बोकेर विदेश पुगेका यात्रुमा धमाधम कोरोना पोजेटिभ देखिन थाल्यो

बिनेश खनाल
२६ कार्तिक २०७७ १५:५६

काठमाडौं। नेपालबाट कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट बोकेर विदेश उडेका यात्रुहरुमा धमाधम कोरोना पोजेटिभ देखिन थालेको छ।

सम्बन्धित मुलुकमा पुगेपछि गरिने परीक्षणमा पोजेटिभ रिपोर्ट आउनेको संख्या बढेपछि अहिले अन्तर्राष्ट्रिय स्तरमा नेपालका प्रयोगशालाहरुको विश्वसनीयतामाथि नै प्रश्न उठ्न थालेको छ।

९ नोभेम्बरमा १ ८८ जना यात्रु बोकेर हङकङ उडेको नेपाल एयरलाइन्सको जहाजमा फेरि १२ जनालाई कोरोना पोजेटिभ देखिएको छ। १८८ जना यात्रु बोकेर नेपाल वायुसेवा निगमकाे जहाज सोमबार राति ९ बजे हङकङ उडेको थियो।

त्यहाँ पुगेर परीक्षण गर्दा उनीहरुमध्ये १२ जनामा पोजेटिभ देखिएको थियो। उनीहरु सबैको साथमा नेपालमा कोरोना परीक्षण गरेको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट थियो।

पोजेटिभ देखिएपछि उनीहरुलाई अध्यागमनबाट तत्कालै अस्पातालको आइसोलेशनमा पठाइएको थियो। त्यस्तै संक्रमित नजिकैको सिटमा बसेका तथा घुलमिल भएका अन्य ८ जनालाई समेत आइसोलेशनमा राखिएको छ।

रिपोर्ट नेगेटेभि आए पनि यात्राको क्रममा सरेको हुनसक्ने आशंकामा उनीहरुलाई पनि आइसोलेट गरिएको थियो। नेगेटिभ रिपोर्ट आएका बाँकी यात्रुलाई भने बुधवार बिहान ५ बजे मात्रै होटल क्वारेन्टाइनमा जाने अनुमति दिएको छ।

नेपालले एयरलाइन्सले देशका प्रयोगशालामा भएको कोरोना परीक्षण विश्वसनीय नहुँदा आफूलाई ठूलो आर्थिक नोक्सानी भएको र प्रतिष्ठामा आँच पुगेको बताएको थियो। विज्ञप्ति निकालेर सजगताका साथ पीसीआर परीक्षण गर्न प्रयोगशालालाई अनुरोध समेत गरेको थियो।

हङकङको नागरिक उड्डयन प्रशासनले नेपाल एयरलाइन्सलाई यसअघि नै दुई पटकसम्म आफ्नो देशमा उडान भर्न रोक लगाएको थियो। स्वास्थ्य प्रोटोकल उल्लंघन गर्दै कोरोना संक्रमित बोकेको जनाउँदै २ पटक दुई–दुईहप्तासम्मका लागि प्रतिबन्ध लगाएको थियो।

हङकङको नागरिक उड्डयन प्रशासनको प्रोटोकलमा नै एउटै एयरलाइन्समा सवार ५ जना भन्दा बढीमा कोरोना पोजेटिभ देखिएमा उक्त एयरलाइन्सलाई २ हप्तासम्मका लागि उडानमा प्रतिबन्ध लगाउने नियम बनाइएको छ। जसले गर्दा नेपाल एयरलाइन्सलाई अब तेस्रो पटक हङकङ उडानमा प्रतिबन्ध लाग्ने भएको छ।

यसरी प्रत्येक पटकमा कोरोना पोजेटिभ केस बढ्न थालेपछि नेपालको पीसीआर ल्याबमा समस्या भएको हो कि जाने यात्रुले नक्कली पीसीआर रिपोर्ट बनाएका हुन् भन्नेतर्फ शंका उब्जिन थालेको छ। हङकङ अध्यागमनका कर्मचारीमहरुमा यो विषयमा वहस नै हुन थालेको छ।

केहीदिन अघि मात्रै नेपालले एयरलाइन्सले देशका प्रयोगशालामा भएको कोरोना परीक्षण विश्वसनीय नहुँदा आफूलाई ठूलो आर्थिक नोक्सानी भएको र प्रतिष्ठामा आँच पुगेको बताएको थियो। विज्ञप्ति निकालेर सजगताका साथ पीसीआर परीक्षण गर्न प्रयोगशालालाई अनुरोध समेत गरेको थियो।

त्यस्तै जापानको नारिता विमानस्थल र यूएईको दुबई विमानस्थलले पनि बारम्बार नेपाल एयरलाइन्सलाई चेतावनी पठाइसकेका छन्।

नेपाल एयरलाइन्सकै पनि कमजोरी देखिन्छ : टिका गुरुङ अध्यक्ष एनआरएनए हङकङ

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङकी अध्यक्ष राधिका गुरुङ (टिका) ले भने बारम्बार एउटै प्रकृतिका घटना दोहोरिएकोले त्यसमा नेपाल एयरलाइन्सको कमजोरी रहेको बताइएकी छन्।

दुई–दुईपटक कारवाहीमा पर्दासमेत समस्या दोहोरीनुमा एयरलाइन्सको पनि केही त्रृटीहरु हुनसक्ने उनको ठम्याइ छ ।‘पटक–पटक कारवाही भोग्दा पनि सचेत नहुनु एयरलाइन्सको पनि कमजोरी हो,’ उनले डिसी नेपालसँग भनिन्।

समस्या देखिएका ल्यावहरु बारेमा एयरलाइन्स जानकार हुने बताउँदै त्यस्ता ल्यावहरुको बारेमा छानविन गर्न एयरलाइन्सले नै सरकारलाई दवाव दिनुपर्ने उनको तर्क छ।

‘समस्या देखिएका ल्यावहरुको बारेमा एयरलाइन्स पूर्णरुपमा जानकार हुन्छ। त्यस्ता ल्यावहरुको काम गर्ने क्षमता र विश्वसनीयता बारेमा तत्कालै छानवीन गर्न जरुरी हुन्छ,’ गुरुङले भनिन्, ‘छानवीन गर्न एयरलाइन्स आफैंले नै सक्रिय भएर सरकारलाई दवाव दिनुपर्दथ्यो। तर, त्यस्तो गरेको पाइएन।।’ समस्या समाधान गर्न हङकङमा रहेको नेपाली कन्सुलेटसँग आफूहरुले अनौपचारिकमा छलफल समेत गरेको उनको भनाइ छ।

नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले भने एयरलाइन्सको कुनै कमजोरी नभएको बताउँछिन्। ‘विदेश पुगेका यात्रुहरु कोरोना पोजेटिभ हुने केसहरु बढिरहेका छन्। यसबारेमा हामीले पहिले नै विज्ञप्ति जारी गरेर बताएका थियौँ। यो एयरलाइन्सको कमजोरीे होइन,’ उनले भनिन्। घटना फेरि पनि दोहोरिएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिने उनको भनाइ छ।

देशको प्रतिष्ठामा नै आँच आयो :  किसान राई पत्रकार

हङकङबाट नेपाली पत्रकारितामा सक्रिय रहेका किसान राईले यो घटनाले सिंगो देशको प्रतिष्ठामा नै आँच आएको बताउँछन्। ‘अघिल्लो दिन नेपालमा नेगेटिभ रिपोर्ट आएको मान्छे एकदिनपछि कसरी पोजेटिभ हुन्छ? अच्चम लाग्दो कुरा छ। यो घटनाले नेपालको सिंगो स्वास्थ्य प्रणालीलाई नै शंकाको घेरामा राखेको छ। देशको प्रतिष्ठामा नै आँच पुग्ने काम भयो,’ उनले भने।

हङकङले बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएमा देशकै नाम तोकेर आयतित कोरोना भनेर छुट्याउने गरेको उनले बताए। देशकै प्रतिष्ठासँग जोडिएको विषय भएकोले सरोकारवालाहरु सचेत हुनपर्ने उनको भनाइ छ।

‘यहाँ नेपालबाट आएकालाई कोरोना देखियो भने त्यसलाई ‘इम्पोर्ट फरम नेपाल’ भनिन्छ। मिडियादेखि सरकारी तथ्याङ्कमा पनि यसरी छुट्याइन्छ। नेपालबाट आउनेमा संक्रमण बढ्दै जानुले नकरात्मक असर पर्न थालेको छ।’

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *