चलचित्र क्षेत्रलाई सक्रिय बनाउने तयारी, हलदेखि सुटिङ सुचारु गर्ने मोडालिटी तयार

कमल साउद
२७ कार्तिक २०७७ १६:५३

काठमाडौं। लकडाउन भएको साढे ७ महिना बित्यो । यो बीचमा केही समय सबै व्यवसाय पूर्ण रुपमा बन्द भए । बीचमा खुले, फेरि बन्द भए र अहिले फेरि खुलेका छन् । तर, अहिलेसम्म पूर्णरुपमा ठप्प भएको व्यवसाय हो चलचित्र व्यवसाय । अघिल्लो वर्षको चैत ११ मा लकडाउन लागू भएपछि आजमा मितिसम्म सिनेमा हलहरु पूर्ण रुपमा बन्द छन् । सिनेमा हल कसरी खुलाउने भन्नेबारे सरकारले समेत कुनै योजना सार्वजनिक गरेको छैन ।

कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावितमध्येको दोस्रो देश भारतले समेत सिनेमा हल खोलिसक्यो । निश्चित मापदण्ड र दर्शक संख्याको नियम लागू गरेर भारतमा सिनेमाघर खोल्न दिइएको महिना बितिसक्यो । तर, नेपालमा अझै यसबारे कुनै योजना समेत बनेको छैन । मुख्य रुपमा चलचित्र क्षेत्रकै विकासको लागि काम गर्ने जिम्मेवारी पाएको चलचित्र विकास बोर्डले सिनेमाघर खोल्नको लागि प्रस्तावित योजनाको खाका भने बनाएको छ ।

‘२ महिनाअघि नै हामीले संचार तथा सूचना प्रविधि मन्त्रालयमा प्रस्तावित खाका पठाइसकेका छौं’ बोर्डका अध्यक्ष दयाराम दाहालले भने ‘मन्त्रालयबाट सीसीएमसीमा पनि प्रस्ताव पठाइसकेको जानकारी पाएका छौं तर त्यताबाट आधिकारिक जवाफ आइसकेको छैन ।’ प्रस्तावको खाका बनाउने क्रममा बोर्डले चलचित्र प्रदर्शकहरुको संघ, चलचित्र निर्माता संघ, कलाकार संघ, प्राविधिक संघलाई समेत साथमा राखेर मोडालिटी बनाएको दाहाल बताउँछन् ।

संघले चलचित्र घर संचालन गर्ने मात्र नभइ छायांकनको लागि समेत निश्चित मापदण्ड अपनाउने प्रस्ताव गरेको छ । ‘चलचित्र हल यो मापदण्ड अपनाएर खोल्छौं अनि सुटिङ यो मापदण्ड अपनाएर गर्छौं भन्ने योजना बुझाइसकेका छौं’ दाहालले भने ‘सबै क्षेत्र खुलिसकेको अवस्थामा चलचित्र क्षेत्रलाई मात्रै बन्द गरिनु हुँदैन, सरकारबाट सकारात्मक जवाफ आउँछ भन्ने आशा छ ।’

गोष्ठी, सेमिनारहरु गर्ने, सीप विकासका कार्यक्रमहरु गर्ने काम रोकिएको र बोर्डको वार्षिकोत्सव मनाउन नपाइएको अवस्थामा पनि नीतिगत कुरा भने अगाडि बढाइएको दाहालले बताए । महामारीको क्रममा न्यून पारिश्रमिक भएका कलाकारहरु, प्राविधिकहरु, नृत्यकारहरु, निर्देशकहरुलाई आफू बोर्डमा आउनेबित्तिकै राहत वितरण समेत गरिएको दाहालले बताए । चलचित्र क्षेत्रका श्रमिकलाई बोर्ड उनीहरुको साथमा छ भन्ने महसुस गराउन यस्तो गरिएको उनको भनाइ छ ।

अहिलेको अवस्थामा सिनेमा हल संचालन भइहाले पनि पूर्ण क्षमतामा चल्न नपाउने अवस्थाबारे बोर्ड जानकार भएको दाहाल बताउँछन् । ‘पूर्ण क्षमतामा चल्न नपाउँदा हलबाट सहजै ठूलो आम्दानी गर्न नसकिने प्रस्ट छ त्यसैले चलचित्र प्रदर्शनको क्रममा लाग्ने विभिन्न खर्चहरुमा छुट दिलाउनको लागि सरकारसँग पहल भइरहेको छ’ उनले भने । हल पूर्ण क्षमतामा संचालन नभएको अवस्थामा प्रदर्शनमा आउने चलचित्रले यो छुट सुविधा पाउने उनको भनाइ छ ।

नेपाली चलचित्र उद्योगमा गुणस्तरीय चलचित्र निर्माण गर्न कथावस्तु र प्राविधिक पक्षमा समस्या भएको भन्दै सीप विकास तालिम संचालन गर्ने तयारी रहेको बोर्डका अध्यक्ष दाहालको भनाई छ । ‘मौलिक कथा उत्खनन कसरी गर्न सकिन्छ त्यसको लागि कार्यशाला गर्ने तयारी छ’ दाहालले भने ‘यस किसिमका सीप विकासका कार्यक्रमहरुको लागि कार्यविधी बनाएर तयारी अवस्थामा छौं ।’ कोरोनाको माहामारी हटेसँगै यसको सुरुवात गरिने उनले बताए ।

स्टोरी बैंकको अवधारणा

राम्रो कथा भएर पनि निर्माता नपाएर चलचित्र बन्न नसकेको स्थितिलाई सम्बोधन गर्न स्टोरी बैंकको अवधारणा समेत ल्याइएको छ । ‘राम्रो कथा लेख्न सक्ने नयाँ पुस्ताका लागि कुनै प्ल्याटफर्म भएन भन्ने गुनासोहरु आएपछि यसको अवधारणा आएको हो’ उनले भने ‘स्टोरी बैंकमा जम्मा भएका राम्रा कथामा चलचित्र निर्माण गर्न सरकारकै लगानी हुने व्यवस्था गर्न समेत प्रयास थालेका छौं ।’

उनका अनुसार कथा लेख्न सक्नेहरुले आफ्नो कथा स्टोरी बैंकमा जम्मा गर्नेछन् जसबाट सामाजिक, सांस्कृतिक, शैक्षिक, ऐतिहासिक लगायतका विभिन्न विषयमा सरकारले आफ्नो नीतिअनुसार लगानी गरेर चलचित्र निर्माण गर्न सक्छ । सरकारको यो लगानी पूर्ण वा आंशिक समेत हुन सक्ने उनले बताए ।

नयाँ पुस्तालाई सर्ट फिल्म, डकुमेन्ट्री मेकिङमा राज्यले पनि सहयोग गरोस् भन्ने अवधारणाले स्टोरी बैंकको कार्यविधि ऐन बनाएर पास गरेको उनले बताए । ‘कोही लगानीकर्ता नपाएर, आफूसँग लगानी गर्न पैसा नभएर यस्ता कथाहरु झोलामा बोकिरहेको भए कथा लिएर बोर्डमा आउन आग्रह गर्दछौं’ उनले भने ‘कथा राम्रो भए त्यसको लागि लगानी जुटाउन बिकास बोर्डले सहयोग गर्नेछ ।’

डिजिटल प्ल्याटफर्ममा जाने तयारी

दाहालका अनुसार अहिले देशमा संचालनमा रहेका प्ल्याटफर्मबाट चलचित्रमा भएको लगानीलाई सुरक्षित गर्नसक्ने वा उठाउन सक्ने अवस्था छैन । नेपालको बैंकिङ प्रणाली अझै पूर्ण रुपमा अनलाइन कारोबारमैत्री भइसकेको छैन । सहज रुपमा अनलाइनबाट कारोबार गर्न कठिन छ ।

‘अब नेपालबाट संचालित डिजिटल प्ल्याटफर्महरुमा विदेशमा बस्नेहरुले सिनेमा हेर्दा पैसा तिर्न मिल्ने गेटवे पनि राष्ट्र बैंकले खोल्नुपर्छ’ दाहालले भने ‘यसका लागि राष्ट्र बैंकलाई पत्र पठाइसकेका छौं र प्रत्यक्ष भेटेर पनि कुरा गरेका छौं ।’ राष्ट्र बैंकबाट सकारात्मक पहल हुने अपेक्षा रहेको उनले बताए ।

विदेशी सिनेमासँग नेपाली सिनेमाले प्रतिस्पर्धा गर्न नसकेको दावीप्रति भने दाहाल सहमत छैनन् । ‘हाम्रा चलचित्रहरु मौलिक हुनुपर्छ, उनीहरुको जस्तै बनाउन खोजेपछि हामी पछि परिहाल्छौं’ उनले भने ‘हाम्रा सिनेमाहरु पहिलेको तुलनामा निकै गुणस्तरीय पनि बनेका छन् । त्यसको सही समीक्षा नभएको पनि हो ।’

सफल चलचित्रको संख्या बढाउने नाममा हिन्दी सिनेमाकै शैलीमा चलचित्र निर्माण हिन्दी चलचित्रसँगै प्रतिस्पर्धा गर्न खोज्नु उचित नहुने उनी बताउँछन् । ‘उनीहरुको बजार पनि ठूलो छ र लगानी पनि धेरै छ’ दाहालले भने ‘हाम्रो आफ्नै किसिमको बजार छ र दर्शक पनि त्यही किसिमका छन् ।’

चलचित्रलाई मनोरञ्जनको मात्र साधन बनाउन नहुने उनले बताए । ‘अब चलचित्रलाई प्राज्ञिक बनाउने बेला भइसकेको छ’ उनले भने ‘साहित्यजस्तै चलचित्रले पनि समाजको कथा बोल्छ र समाज परिवर्तनमा यसको पनि भूमिका हुन्छ ।’

चलचित्र विकास बोर्ड चलचित्रसँग सम्बन्धित प्राज्ञिक कमिटी नै निर्माण गर्ने तयारीमा रहेको उनले बताए । ‘कमिटीले सबैलाई बोलाएर महिनामा एउटा भएपनि अन्तक्र्रिया गरोस्’ उनले भने ‘गुणस्तरीय चलचित्र बनाउन सबै क्षेत्रका बिज्ञहरुलाई बोलाएर प्राज्ञिक बहस गर्न जरुरी छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *