चितवनमा ९७ लाख चोरी गर्ने पक्राउ

डिसी नेपाल
३० कार्तिक २०७७ १५:५६

मुग्लिन । चितवन प्रहरीले रु ९७ लाख चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन् ।

उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नगद चोरेका थिए । थापा सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आएका थिए ।

प्रहरीले सेक्युरिटी गार्ड बस्ने क्वार्टरमा निज कविराज बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाइछिपाई राखेका अवस्थामा रु ५७ लाख र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाइराखेको अवस्थामा रु ४० लाख गरी रु ९७ लाख र चोरीमा प्रयोग हुने औजारसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले आज जानकारी दिनुभयो । थापालाई चोरी कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए।

चार दिनमा ४६ फरार

चितवनमा चार दिनमा ४६ फरार अभियुक्त पक्राउ परेका छन् । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकी फरार रहेका व्यक्तिलाई कात्तिक २५ देखि २८ गतेसम्म पक्राउ गरिएको हो ।

चोरी, जबर्जस्ती करणी, लागुऔषध, कर्तव्य ज्यान, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्जसम्बन्धी कसुर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध विच्छेद मुद्दामा फरार रहेका ४५ पुरुष र एक महिला गरी ४६ फरार व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

पक्राउ परेकालाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा बुझाइएको प्रवक्ता थापाले बताए । यसबाट सात वर्ष नौ महिना २६ दिन कैद र रु चार लाख आठ हजार ३११ असुलउपर भएको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *