नेकपा विवाद : १० दिने ‘होमवर्क’मा के के होला ?

डिसी नेपाल
५ मंसिर २०७७ १७:३१

काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद चर्किरहेका बेला मंसिर ३ मा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन ल्याउने र त्यसका लागि समय चाहिने बताएपछि १० दिनको फरकमा अथार्त मंसिर १३ मा सचिवालय बैठक राखिएको छ।

सचिवलाय बैठकमा प्रधानमन्त्री ओली अघिल्लो शुक्रबारको सचिवलाय बैठमा अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध ‘अभियोगपत्र’ ल्याएको भन्दै त्यसलाई खारेज गरेको बताएका थिए। र आफूमाथि लागेको आरोप नसहने भन्दै लिखित प्रस्ताज ल्याउने बताएका थिए। त्यतिमात्र होइन प्रचण्डले आफूमाथि लगाएका आरोपहरु प्रमाणित भए आफूले दुबै पद छाड्ने र प्रमाणित हुन नसके आरोप लगााउले जिम्मेवारी लिनुपर्ने भन्दै प्रचण्डलाई चुनौति पनि दिएका छन्।

प्रचण्डलाई चुनौति दिएका प्रधानमन्त्री ओली चुपचाप प्रतिविदेन लेखनमै समय बिताउलान कि यो बीचमा प्रचण्ड–माधवकुमार नेपाल समूहका केही नेताहरुलाई आफ्नो पक्षमा ल्याउने तयारी गलार्न ? वा १३ गतेअघि नै अर्का अध्यक्ष प्रचण्डसँग सहमति कायम गर्लान ? चासोको विषय बनेको छ।

बुधबार होमवर्कका लागि १० दिने समय पाएका ओलीले बिहीबार कुनै राजनीतिक भेटघाट गरेनन्। तर, शुक्रबार भने उनले आफू निकट नेताहरुलाई १३ गते अगावै विवाद समाधान गर्ने गरी खटाएका छन्। बिहीबार महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डलाई भेटेका छन्। यो भेट भने पार्टी कार्यालय धुम्बाराहीमा भएको छ। आफ्नो निजी निवास खुमलटारमा नेताहरुसँग भेट्दै आएका प्रचण्डले किन धुम्बाराही रोजे त्यो पनि कुनै सन्देशकै रुपमा बुझ्नुपर्ने उनी निकट स्रोतले बतायो।

सचिवलाय बैठकमा अध्यक्ष ओलीले यसअघि भएका सबै सहमति सम्झौताहरु व्यर्थ भइसकेको भन्दै अब नयाँ शिराबाट सहमति हुनुपर्नेमा जोड दिएका थिए। अथवा कार्यकारीको भूमिका त प्रचण्डले ती सहमतिबाट पाएका हुन्। के ओलीले अब प्रचण्डलाई कार्यकारी अध्यक्ष नरहेको सन्देश दिएका हुन् ? यो आशंका उब्जिरहेका बेला प्रचण्डले नेताहरुसँगको भेट धुम्बाराहीमा गर्नुलाई पनि अर्थपूर्ण रुपमा लिइएको छ। त्यसो त प्रधानमन्त्री ओलीले आफू विरुद्ध गुटबन्दी भएको बताएपछि प्रचण्ड धुम्बाराही जान थालेका थिए। कोरोना भाइरस महामारीपछि सुनसान बनेको धुम्बाराही मुख्यालय कार्तिक २२ गते यता राजनीतिक माहोलले तातेको छ।

उपनेता नेम्वाङसँगको भेटमा प्रचण्डले ओलीको पछिल्लो तयारीबारे बुझ्ने प्रयास गरेको जनाइएको छ। प्रचण्डले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै सोहीअनुसार काम हुनुपर्ने बताएको जनाइएको छ। नेम्वाले भने ‘पार्टी एकता तपाईँ दुईजना (ओली र प्रचण्ड)ले गरेको हो, एकता बलियो बनाउने जिम्मेवारी पनि दुईजनाकै रहेको’ बताएका थिए। नेम्वाङले अघिल्लो शुक्रबारको सचिवलाय बैठकमा प्रचण्डले पेश गरेको प्रतिवेदनले पार्टी गम्भीर मोडमा पुगेको भन्दै त्यो फिर्ता हुँदा राम्रो हुने सुझाव दिएको जनाइएको छ। जवाफमा प्रचण्डले भने बैठकमा छलफल गरेरै विषय टुंग्याउन सकिने भन्दै प्रतिवेदन फिर्ता नहुने सन्देश दिएको जनाइएको छ।

उता नेम्वाङभन्दा पहिला प्रचण्डलाई भेटेका महासचिब पौडेलले पनि अघिल्लो शुक्रबारको प्रतिवेदन फिर्ताको विषय उठाएको जनाइएको छ। तर, यसमा प्रचण्डले सकरात्मक जवाफ नदिएको पौडेलले नै सार्वजनिक गरेका छन्।

शुक्रबार भएका यी दुई भेटमा ओली निकट नेताहरुले प्रचण्डलाई प्रतिवेदन फिर्ता हुनुपर्ने कुरा गरेर ओलीको चाहना प्रकट गरेका छन्। दुबै नेताहरुले प्रतिवेदन फिर्ताको कुरा गरेकाले ओलीले सकभर एकल रुपमा आफूले प्रतिवेदन ल्याउनुनपरोस भन्नेमा रहेको देखिएको छ।

हुन पनि अहिलेको समिकरणअनुसार ओली सचिवलायमा अल्पमतमा छन्। अल्मतमा रहेका अध्यक्षले ल्याउने प्रतिवेदन पारित हुने सम्भवना पनि रहेन। जब आफैले ल्याएको प्रतिवेदन पारित हुने सम्भावना छैन भने, त्यस्तो प्रतिवेदन ल्याउने जोखिम ओलीले किन लिन्छन् प्रश्न उठेको छ। त्यसैले यो १३ गते अगवौ नेकपामा केही नयाँ राजनीतिक घटनाक्रम विकास हुने सम्भावना रहेको जानकारहरु बताउँछन्।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले यो १० दिनको अवधिमा विवाद समाधानका लागि व्यापक अनौपचारिक छलफल हुने बताउँछन्। उनले यो अवधि विवाद समाधानका लागि उपयोग हुने बताए। तर, १३ गतेको बैठकले पार्टीको भविष्य निर्धारण गर्ने उनको बुझाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *