दिक्तेलमा कृषि तथा पशु प्रयोगशाला स्थापना

डिसी नेपाल
६ मंसिर २०७७ २३:०२

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले डिजिटल सोयल टेस्टिङ मिनी ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको छ ।

नगरपालिकाको चार लाख ९६ हजारको लागतमा वडा नं २ सोल्मास्थित प्राङ्गारिक मल तथा बायोग्यास उद्योगसँगै डिजिटल सोयल टेस्टिङ मिनी ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको हो ।

ल्याब स्थापना भएपछि महिना दिनसम्म लगाएर खोटाङबाट सुनसरीको झुम्का प्रयोगशालामा लगेर माटो परीक्षण गर्नुपर्ने बाध्यता हटेको छ ।

सोल्मामा स्थापना गरिएको ल्यामार्फत ४८ घण्टामै परीक्षणको रिपोर्ट आउने जनाइएको छ । पशु क्षेत्रतर्फ कृत्रिम गर्भधारण, पशुपक्षीको स्वास्थ्य परीक्षणलगायतका काम ल्यालबाट नै प्रवाह हुने भएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।

नगरपालिकाले शनिबार नै नगरभित्रका १५ वटै वडा कार्यालयलाई रु चार लाख बराबरको माटो परीक्षण उपकरण हस्तान्तरण गरेको छ ।

यसैबीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोना भाइरसको महामारीका कारण विदेशमा रोजगारी गुमाएर जन्मथलो फर्किएका युवालाई कृषि सामग्री उपलब्ध गराएको छ ।

रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेको अवस्थामा कोरोना भाइरसको महामारी फैलिएपछि रोजगारी गुमाएर जन्मथलो फर्किएका १०० युवालाई कृषि पेशामा आबद्ध गराउने उद्देश्यका साथ कृषि सामग्री उपलब्ध गराएको हो ।

नगरपालिकाले व्यावसायिक कृषिखेती गर्दा आवश्यक पर्ने विषादीसहित थोपा सिँचाइ सेट, आइएम सामग्री, सिलपौलिन प्लाष्टिक टनेललगायतका सामग्री उपलब्ध गराएको छ ।

नगरपालिकाको १५ वटै वडा कार्यालयबाट सिफारिस भएर आएका युवालाई स्वीस सरकारअन्तर्गत हेल्भेटासको आर्थिक सहयोगमा कृषि सामग्रीका साथै तालिमसमेत दिइएको कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताए।

परम्परागतरूपमा गरिँदै आइएको कृषि पेशालाई व्यावसायिक र आधुनिकीकरण गर्न नगरपालिकाको तर्फबाट कृषक तथा कृषक समूहलाई अनुदानसमेत दिने व्यवस्था गरिएको नगरप्रमुख रिजालले बताए ।

“वैदेशिक रोजगारीका लागि युवापुस्ता विदेशिनेक्रम बढेसँगै खेतीयोग्य जमिन बाँभिएका छन्”, उनले भने, “जनशक्ति अभावमा वर्षौँदेखि बाँझिएको जग्गामा व्यावसायिक खेती गर्ने युवालाई नगरपालिकाको तर्फबाट अनुदानसमेत दिने व्यवस्था गरिएको छ ।”

नगरपालिकाले कृषक तथा कृषक समूहलाई बाख्रापालनका लागि उन्नत जातको बोयर बोका, च्याउखेतीका लागि बीउ, फलफूल खेतीका लागि सुन्तला तथा कागतीको बेर्ना, गोलभेँडा खेतीका लागि प्लाष्टिक टनेललगायत उपलब्ध गराउँदै आएको छ ।

नगरपालिकाले कृषि सामग्री उपलब्ध गराउनुका साथै तालिमसमेत दिन थालेपछि युवापुस्ता कृषि पेशाप्रति आकर्षित हुँदै गएका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *