किम जोंग उनका भतिजा बेपत्ता ! अमेरिकाले गायब बनाइदियो

डिसी नेपाल
७ मंसिर २०७७ १४:४६

काठमाडौं। उत्तर कोरियाली शासक किम जोंग उनका भतिजा किम हान सोल बेपत्ता भएका छन् । उनलाई अमेरिकाको जासुसी एजेन्सी सीआइएले ‘प्रोटेक्टिभ कस्टडी’मा राखेको बताइएको छ । किम हान सोल किम जोंग उनका दाजु किम जोंग नामका छोरा हुन् । किम जोंग नामको २०१७ मा हत्या गरिएको थियो । किम जोंग नामको हत्या किम जोंग उनले नै गराएको विश्वास गरिन्छ ।

बेलायती अखबार द सनका अनुसार किम हान सोललाई अमेरिकी जासुसी एजेन्सी सिआइएले आफ्नो सुरक्षा घेरामा राखेको छ । २५ वर्षका हान सोलले अत्यन्तै विलासी जीवन बिताउने गरेको विश्वास गरिन्छ । पिताको हत्यापछि हान सोल नेदरल्याण्डको एम्सटर्डममा शरण लिएर बसेका थिए । उनको अहिलेको स्थितिबारे कसैलाई जानकारी छैन । उनलाई सीआइएका एजेन्टले आफ्नो सुरक्षा घेरामा राखेको रिपोर्टमा दावी गरिएको छ ।

उत्तर कोरियाको सरकारविरोधी भूमिगत आन्दोलन फ्रि जोसनले हान सोलका पिताको हत्या भएपछि उनलाई भगाउन सहयोग गरेको न्यूयोर्करले दावी गरेको छ । फ्रि जोसनका नेता एड्रियन होंगले आफूले यति पैसावाला बच्चा कहिल्यै नभेटेको बताउँदै उनलाई पैसाको कपडा लगाउने युवकको रुपमा टिप्पणी गरे । किम जोंग नामले आफ्नो जीवनकालमा थुप्रै पैसा जम्मा गरेको बताइन्छ । २०१७ मा किम जोंग नामको हत्यापछि हान सोलको मकाउस्थित घरको सुरक्षा गर्ने पुलिस गायब भएपछि हान सोलले फ्रि जोसनको सहयोग मागेको बताइन्छ ।

हान सोललाई त्यो घटनाको ३ महिनापछि एक युट्युब भिडियोमा देखिएको थियो जसमा उनले चेलिमा सिभिल डिफेन्स (जसलाई अहिले फ्रि जोसन भनिन्छ) लाई धन्यवाद दिएका थिए । यो भिडियोमा उनले नेदरल्याण्ड, अमेरिका, चीन र अन्य केही देशका सरकारलाई धन्यवाद दिएका थिए । फ्रि जोसन र किम हान सोलको विषयमा रिपोर्टिङ गर्ने पत्रकार सुकी किमका अनुसार किम हान सोललाई उत्तर कोरियाको वास्तविक उत्तराधिकारी मानिन्छ किनकि हान सोल यसअघिका उत्तर कोरियाली शासक (किम जोंग उनका पिता) किम जोंग इलका जेठा छोराका छोरा हुन् । यस्तोमा जोसँग उनको संरक्षकत्व हुन्छ उसले लाभ पाउनेछ ।

एड्रियन हांगले ताइवानको ताइपेइ विमानस्थलमा हान सोल र उनका परिवारसँग भेट्नको लागि एक पूर्व अमेरिकी मरिन क्रिस्टोफर आहनसँग सम्पर्क गरेका थिए । उनी पनि फ्रि जोसनका सदस्य थिए । यहाँबाट आहनले हान सोलको परिवारलाई एक निजी लाउन्जमा लिएर गए जहाँ हान सोलको परिवारले १८ घण्टा बिताए । लामो प्रतिक्षापछि आहनलाई हांगको फोन आयो । हांगले युरोपको एक देश हान सोललाई शरण दिन तयार भएको बताए । आहनले ताइपेइदेखि एम्सटर्डमसम्मको लागि हान सोलको परिवारको लागि ३ टिकट किने ।

हान सोल परिवारसँग एम्सटर्डमको बाहिर रहेको शिफोल विमानस्थल पुग्दा त्यहाँका पासपोर्ट जाँच गर्ने एजेन्टले कुनै कारण नबताइ उनलाई प्रवेशमा रोक लगाए । परिवार लाउन्जमा फर्कियो । केही घण्टापछि त्यहाँ २ जना सीआइए एजेन्ट पुगे । यी दुई एजेन्टमध्ये एक कोरियाली मूलका अमेरिकी थिए । अर्का व्यक्ति श्वेत अमेरिकी थिए । उनीहरुले हान सोलसँग कुरा गर्न भने ।

अर्को दिन विमानस्थलमा नयाँ एजेन्ट आए र उनीहरुले परिवारलाई विमानबाट जान सहयोग गरे । यही बीच सीआइएका एक एजेन्टले आफू हान सोलसँग जान्छु भने । यो कुराले आहन चिन्तित भए । आहनले बीमा पोलिसीको रुपमा जानुभन्दा पहिले हान सोलको एउटा भिडियो लिए र यो भिडियो अब किम हान सोलको अन्तिम ज्ञात फुटेज हो । यो घटनापछि उनी र उनको परिवारलाई कहिल्यै कतै देखिएको छैन ।

हान सोलको अन्तिम कुराकानी एड्रियन होंगसँग भएको थियो । यो कुराकानीमा हान सोलले होंगसँग आफू र आफ्नो परिवारलाई विमानस्थलको मुख्य द्वारबाट बाहिर लैजानुको सट्टा विमानस्थलको होटलमा लगिएको बताएका थिए । होंगले फ्रि जोसनका सदस्य र एक वकिललाई होटलमा हान सोलको परिवारलाई भेट्न पठाउँदा त्यहाँ हान सोल र उनको परिवार कोही पनि थिएनन् । यो घटनापछि हान सोल परिवारसहित बेपत्ता छन् । सीआइएले यो घटनाबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *