चीनले भारतविरुद्ध प्रयोग गरेको भनिएका ‘माइक्रोवेभ हतियार’ के हुन् ?

डिसी नेपाल
८ मंसिर २०७७ ११:०८

काठमाडौं। केही दिनअघि केही अनलाई मिडिया रिपोर्टमा चीनले भारतीय सेनाविरुद्ध लाइन अफ एक्चुअल कन्ट्रोलमा ‘माइक्रोवेभ हतियार’ प्रयोग गरेको दावी गरिएको थियो । भारतीय सेनाले भने यो दावीलाई अस्वीकार गरेको छ । भारतीय सेनाका एडिशनल डाइरेक्टोरेट जनरल अफ पब्लिक इन्फर्मेशन (एडिजीपीआइ)का अधिकारीहरुले ट्वीट गर्दै भनेका छन् ‘पूर्वी लद्दाखमा माइक्रोवेभ हतियारको प्रयोगबारे मिडिया रिपोर्ट आधारहीन छन् । यी खबर फर्जी हुन् ।’

रक्षा मामिलाका जानकार तथा इण्डियन डिफेन्स रिभ्यूका एसोसिएट एडिटल कर्णेल दानवीर सिंहका अनुसार चीनको दावी पूर्ण रुपमा आधारहीन छ । सिंहले बीबीसीसँगको कुराकानीमा भने ‘यस किसिमका सबै हतियारले लाइन अफ साइट अर्थात एक किसिमको सिधा रेखामा काम गर्छन् । पहाडी क्षेत्रमा यिनीहरुको प्रयोग त्यसै पनि सजिलो छैन । यो तार्किक कुरा पटक्कै होइन । यो पूर्ण रुपमा चिनियाँ प्रोपोगाण्डा हो ।’ रक्षा र सुरक्षाका विषयमा लेख्ने पत्रकार राहुल बेदी भन्छन् ‘यो फेक समाचार देखिन्छ । यो चिनियाँ प्रोपोगाण्डा जस्तो छ । यसमा कुनै विश्वसनीयता छैन ।’

चिनियाँ मिडिया रिपोर्टमा भारत र चीनबीच पूर्वी लद्दाखमा चलिरहेको तनावका बीच जनमुक्ति सेनाले केही उचाइबाट भारतीय सेनालाई विस्थापित गर्न माइक्रोवेभ हतियारको प्रयोग गरेको दावी गरिएको थियो । रिपोर्टमा रेनमिन युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्धका प्रोफेसर जिन केनरंगलाई उद्धृत गर्दै जनमुक्ति सेनाले रणनीतिक हिसाबले महत्वपूर्ण २ हिलटपमा पुनः कब्जा गर्न यिनीहरुलाई माइक्रोवेभ ओभनमा परिणत गरेको र यी उचाइमा रहेका भारतीय सैनिकमाथि डाइरेक्टेड इनर्जी वेपन प्रयोग गरेको बताइएको थियो ।

रिपोर्टमा केनरोंगलाई उद्धृत गर्दै हतिकारका कारण भारतीय सैनिकहरुलाई बान्ता हुन थालेको र १५ मिनेटमै उनीहरु उभिन नसक्ने बताएको बताइएको थियो । त्यसपछि भारतीय सैनिकले उचाइ छोडेको र चिनियाँ सैनिकले पुनः त्यहाँ कब्जा गरेको बताइएको थियो । केनरोंगले यो घटना २९ अगष्टको भएको बताएका थिए । उनका अनुसार यी हतियार प्रयोग गरेपछि जनमुक्ति सेनाले गोली चलाउनु नपरेको र भारत–चीनबीच भएको गोली नचलाउने सहमति पालना भएको थियो ।

के हुन् माइक्रोवेभ हतियार ?

माइक्रोवेभ हतियार डाइरेक्टेड इनर्जी वेपनकै एक प्रकार हो । यी माइक्रोवेभहरु इलेक्ट्रोम्याग्नेटिक रेडिएसनका एक रुप हुन्छन् । यिनीहरुको तरंग लम्बाइ १ मिलिमिटरदेखि १ मिटरसम्म हुन्छ । यिनीहरुको फ्रिक्वेन्सी ३०० मेगाहर्ज (१ मिटर) देखि ३०० गिगाहर्ज (०.१ सेन्टिमिटर) को बीचमा हुन्छ । यिनीहरुलाई हाइ इनर्जी रेडियो फ्रिक्वेन्सी पनि भनिन्छ ।

सिंह भन्छन् ‘माइक्रोवेभले जसरी घरमा काम गर्छ त्यसरी नै यो हतियारले पनि काम गर्छ । यसमा एक म्याग्नेट्रन हुन्छ जसले माइक्रोवेभ तरंगहरु पठाउँछ । यी तरंग जब कुनै खाद्य पदार्थबाट हुँदै अगाडि जान्छन् त्यसले गर्मी उत्पन्न गर्छन् । यो हतियारले पनि यही सिद्धान्तमा काम गर्छ ।’ चीनको दाबीलाई खारेज गर्दै सिंह भन्छन् ‘कल्पना गर्नुस् कुनै उचाइमा रहेका सैनिकलाई हटाउनको लागि कति ठूलो आकारको म्याग्नेट्रन बनाउनु पर्ला ?’ सानोतिनो मात्रामा यस्तो हतियार प्रयोग गर्न सम्भव भए पनि चीनले दावी गरेजस्तो हुन असम्भव भएको सिंह बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *