विप्लबका छ नेताकार्यकर्ता पक्राउ, विप्लब समूहको सक्रियता बढेसँगै कार्यकर्ता पक्राउ क्रम बढ्यो

डिसी नेपाल
८ मंसिर २०७७ १९:१३

लमजुङ । विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द समूहका ६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

दोर्दी गाउँपालिका– ५ खिमचोक पाँचस्वाँरामा उनीहरुले अवाच्छनीय गतिविधि गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा आज अपराह्न १ बजे प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाको नेतृत्वमा गएको टोलीले तिनलाई घेराबन्दी गरेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका वडा नं २ घर भएका लमजुङ इञ्चार्ज भनिने ४२ वर्षीय जङ्गबहादुर भण्डारी, लमजुङ जिल्ला, दोर्दी – ७ घर भएका जिल्ला सेक्रेटरी भनिने ४६ वर्षीय बिलबहादुर गुरुङ, मध्यनेपाल नगरपालिका वडा नं ४ घर भएका लमजुङ जिल्ला कमिटी सदस्य भनिने ६२ वर्षीय नारायणबहादुर कुँवर, राइनास नगरपालिका–६ घर भएका जिल्ला कमिटी सदस्य भनिने ३४ वर्षीय रवीन्द्र नखोला रहेको जिल्ला प्रहरी कार्यालयका प्रनाउ थापाले बताए ।

उनका अनुसार समूहका कार्यकर्ता दोर्दी –७ घर भएका २२ वर्षीय दुर्गालाल तामाङ र मध्यनेपाल– १० घर भएका २६ वर्षीय सुजन थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्तलाई पक्राउ गरी खाजतलासी गर्नेक्रममा उनीहरुले झोलाभित्र लुकाइराखेको विस्फोटक पदार्थ पनि प्रहरीले बरामद गरेको छ ।

त्यस्तै पार्टीसँग सम्बन्धित कागजपत्र, नगद, ग १५ प ८१३७ नम्बर र बा ७४ प ७०८७ नम्बरका मोटरसाइकल, मोबाइल सेट र सिमकार्ड पनि बरामद गरिएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी विस्फोटक पदार्थसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चन्द समूहका कार्यकर्ता भटाभट पक्राउ

नेत्रविक्रम चन्द समूहको सक्रियता बढेसँगै कार्यकर्ता पक्राउ क्रम बढेको छ । प्रहरीले नेत्रविक्रम चन्द समूहका कार्यकर्तालाई भटाभट पक्राउ गर्न थालेको छ ।

शनिबार मोरङबाट नेत्रविक्रम चन्द समूहका सेक्सन कमान्डर पेम्बा साङ्गे शेर्पा पक्राउ परेका छन् ।

यस्तै शनिबारनै चन्द समूहक काभ्रेपलाञ्चोक जिल्ला नेता बुद्धलाल लामांलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आइतबार प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) सहित दुई नेताहरुलाई नख्खुस्थित एक घरमा बैठक बसिरहेको बेला प्रक्राउ गरेको छ।

केही दिनअघि सङ्खुवासभा चैनपुर नगरपालिका –४ मैदानेमा प्रहरीसँग नेत्रविक्रम चन्द समूह कार्यकर्ताबीच झडप भएको छ।

सरकारको ध्यान

प्रतिबन्धित नेकपा विप्लव समूहले जंगलमा सैन्य गतिविधि गरिरहेको सूचना आएसँगै प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसँग छलफल गरेका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *