कक्षा १२ को परीक्षा आजबाट, ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुँदै

डिसी नेपाल
९ मंसिर २०७७ ७:१०

काठमाडौं। कोभिड–१९ कारण वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदै छ। देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुने परीक्षा साढे १ घण्टाको हुनेछ। ४ हजार १ सय ५ विद्यालयमा हुने परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको छ।

परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गर्नुपर्नेछ। मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ। करिब डेढ घण्टाको परीक्षा आफ्नै विद्यालयमा दिन पाउनेछन् अर्थात् बोर्डले होम सेन्टरको व्यवस्था गरेको छ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एउटा कोठामा दुई मिटरको दूरी हुने गरी २० जनासम्म मात्र राख्न पाइने व्यवस्था भएको जानकारी दिए। स्थानीय निकायको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको बोर्डको भनाइ छ।

राष्ट्रिय परीक्षा बोर्डले घरपायक र फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएको छ। त्यसका लागि सम्बन्धित विद्यालयले विद्यार्थीलाई प्रवेशपत्र पठाउनुपर्नेछ।

त्यसरी घरपायक फरक जिल्लाबाट परीक्षा दिने विद्यार्थीको संख्या करिब १३ हजार रहेको बोर्डको भनाइ छ । परीक्षा शुरु भएपछि अन्यलाई प्रवेशमा रोक लगाइएको छ। केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने व्यवस्था गरेको छ।

प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै कोर्डको व्यवस्था गरेको छ। कोड नम्बरअनुसार प्रश्नपत्र हेर्न पाइने व्यवस्था छ । यो वर्ष बोर्डले उपत्यका, पूर्वाञ्चल, पश्चिमाञ्चललगायतका प्रदेशअनुसार फरक प्रश्नपत्र तयार गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *