बिल गेट्सले विश्वकै दोस्रो धनीको स्थान गुमाए, मुकेश अम्बानी दशौं स्थानमा हुत्तिए

डिसी नेपाल
९ मंसिर २०७७ १३:४३

काठमाडौं। माइक्रोसफ्टका संस्थापक बिल गेट्सले विश्वको दोस्रो धनीको स्थान गुमाएका छन् । बिल गेट्सलाई उछिन्दै टेस्ला र स्पेसएक्सका संस्थापक एलन मस्क विश्वका दोस्रो धनी भएका छन् । शीर्ष स्थानमा भने जेफ बेजोस कायमै छन् । यस्तै यसअघि विश्वकै पाँचौं धनीको स्थानसम्म उक्लिएका भारतीय अर्बपनि मुकेश अम्बानीले पनि आफ्नो स्थान गुमाउँदै खस्किएर १० औं स्थानमा पुगेका छन् ।

ब्लुमबर्ग बिलियनेयर इण्डेक्सका अनुसार ४९ वर्षका एलन मस्कको नेटवर्थ बढेर १२८ बिलियन डलर पुगेको छ । टेस्लाको शेयरमा भारी उछाल आएपछि उनको नेटवर्थमा भारी वृद्धि भएको हो । टेस्लाको बजार मूल्य बढेर ४९१ बिलियन डलर पुगेको छ । एलन मस्कले यही वर्ष आफ्नो नेटवर्थमा १०० बिलियन डलर थपेका छन् ।

ब्लुमबर्ग इन्डेक्समा २०२० को सुरुवातमा जनवरी महिनामा उनी अर्बपतिको सूचीमा ३५ औं नम्बरमा थिए । तर, ११ महिनापछि नोभेम्बरमा उनी दोस्रो धनी बन्न आइपुगेका छन् । यस वर्ष सबैभन्दा धेरै सम्पत्ति एलन मस्ककै बढेको छ । अहिले शीर्ष स्थानमा जेफ बेजोस, दोस्रो स्थानमा एलन मस्क, तेस्रो स्थानमा बिल गेट्स, चौथो बर्नार्ड आर्नल्ट र पाँचौं स्थानमा मार्क जुकरबर्ग छन् ।

बिल गेट्स कुनै बेला विश्वकै सर्वाधिक धनी थिए । त्यसपछि यसअघि १ पटक मात्र उनी दोस्रो स्थानभन्दा तल झरेका थिए । उनी वर्षौंसम्म पहिलो स्थानमा रहिरहेका थिए । २०१७ मा जेफ बेजोसले उनलाई उछिनेका थिए । त्यसपछि बेजोस नै शीर्षमा छन् । बिल गेट्सले ठूलो रकम दान गरेका छन् । यही कारण उनको नेटवर्थमा कमी आएको छ । उनले २००६ देखि अहिलेसम्म गेट्स फाउण्डेशनलाई २७ बिलियन डलर दान गरिसकेका छन् । अहिले पनि गरिब देशमा कोरोनाभाइरस भ्याक्सिन पुर्याउनको लागि उनले ठूलो रकम दान गर्दैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *