मलेसियामा मात्रै २६ नेपालीकाे शव अलपत्र, साना जहाजले ल्याउन मानेनन्

डिसी नेपाल
१० मंसिर २०७७ ७:०६

क्वालालम्पुर। मलेसियामा नेपाली मजदुरहरुका २६ वटा शव नेपाल फर्काउन नसकेर लामो समयदेखि अलपत्र परेका छन्। मजदुरीका सिलसिलामा विभिन्न कारणले मृत्य भएका नेपालीहरुका यी शव लामो समयदेखि फर्काउन सकिएको छैन।

क्वालालाम्पुरस्थित नेपाली दुतावासका अनुसार, मलेसियाबाट नेपाल उडान गर्ने जहाजका कारण शव पठाउन नसकिएको हो। कोरोना भाइरस कोभिड १९ को कारण अहिलेसम्म पनि जहाजहरुले आफ्नो नियमित फ्लाइटहरु सुचारु गर्न आवश्यक यात्रुहरु पाएका छैनन् र सोही कारण नेपाल एयरलाइन्सले आफ्नो वाइडबडी जहाजको उडान गर्न सकेको छैन।

हाल उडान गरिरहेका विमान कम्पनीका साना जहाजहरुले शव बोक्न नमानेको नेपाली दूतावासका एक अधिकारीले डिसी नेपाललाई बताए। साना जहाजहरुले एउटा उडानमा बढीमा दुईजनाको मात्र शव पठाउन सकिने र हालसम्म २६ वटा शव नेपाल पठाउनु पर्ने अवस्थामा रहेकोले ठूलो जहाजको उडान नहुँदा समस्या परेको दूतावासको दावी छ। दूतावासले नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत मलेसियाको उडान शुरु गरिदिन अनुरोध गर्दै आएको बताएको छ।

मलेसियामै कार्यरत नेपाली मजदुर एकता समाजका महासचिव समर्पण भट्टराईले मजदुरहरुका शवहरु विदेशमा अलपत्र पारिनु दुखद भएको भन्दै यसबारे आफूले नेपालका श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको समेत ध्यानाकर्षण गराएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *