कतार रोजगारी : तीन म्यानपावर कम्पनीको कारोवार रोक्का

बिनेश खनाल
१० मंसिर २०७७ १५:०९

काठमाडौं। वैदेशिक रोजगार विभागले अनाधिकृत रुपमा अन्तर्वार्ता लिने तीन म्यानपावर कम्पनीको कारोवार रोक्का गरेको छ। पूर्व स्वीकृति नलिइ युवाहरुलाई कतार प्रहरीमा पठाउने भन्दै अन्तर्वार्ता लिने तीन म्यानपावर कम्पनीको सम्पू्र्ण कारोवार रोक्का गरिएको विभागका महानिर्देशक कुमार दाहालले डिसी नेपाललाई जानकारी दिए।

महानिर्देशक दाहालका अनुसार सोमबार छापा मारिएको एसओएस म्यानपावर सर्भिस, डीडी ह्युमन रिसोर्स र मंगलबार छापा मारिएको होप इन्टरनेशनलको सम्पूर्ण कारोवार बुधवारदेखि रोक्का गरिएको हो।

‘विभागको स्वीकृति बिना अवैध गतिविधि गरिएको पाइएपछि आजैदेखि तीन वटै म्यानपावरको सबै कारोवार रोक्का गरिएको हो,’ महानिर्देशक दाहालले भने।

सोमबार विभागले दुई ठूला म्यानपावर कम्पनीमा छापा मारेको थियो। डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर सर्भिसले कतार पठाउने भन्दै अवैध अन्तरर्वार्ता लिइरहेका बेला विभागले छापा मारेको थियो।

विभागको स्वीकृति बिना अवैध गतिविधि गरिएको पाइएपछि आजैदेखि तीन वटै म्यानपावरको सबै कारोवार रोक्का गरिएको हो

धापासीस्थित एसओएसले करिब ४ सय जना युवाहरुलाई अन्तर्वार्ताका लागि तयारी अवस्थामा राखेको बेला विभागको टोली त्यहाँ पुगेको थियो। यस्तै गुह्यश्वरीस्थित डीडी ह्युमन रिसोर्सले करिब ४ सय युवाहरुको अन्तरवार्ता लिइरहेको बेला विभागले छापा मारेको थियो।

त्यस्तै मंगलबार पनि विभागले लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मारेको थियो। अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको अनगुमन टोली त्यहाँ पुग्दा नेपालस्थित कतारी दूतावासको गाडी पनि म्यानपावर परिसरमै भेटिएको थियो।

महानिर्देशक दाहालले नियमविरुद्ध काम गर्ने म्यानपावरलाई विभागले नछोड्ने समेत बताएका छन्। पछिल्लो समय काठमाडौंमा रहेका केही म्यानपावार कम्पनीले मिनिस्टरी अफ इन्टिरियर ह्युमन रिसोर्स डिर्पाटमेण्ट कतारमा सुरक्षा गार्डको रुपमा पठाउने भन्दै युवाहको धमाधम अन्तरर्वार्ता लिइरहेका छन्।

कामदार विदेश पठाउनका लागि म्यानपावर कम्पनीले श्रमिकको मागपत्र श्रम गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासबाट प्रमाणीकरण गराउनुपर्दछ। दूतावासबाट प्रमाणित गराइसकेपछि वैदेशिक रोजगार विभागबाट पूर्वश्रमस्वीकृति लिनुपर्छ।

त्यस्तै अन्तर्वार्ता लिइने मितिको बारेमा पनि विभागलाई अनिवार्य रुपमा जानकारी गराउनुपर्दछ। यी प्रक्रिया पूरा नगरी अवैध गतिविधि गरे पछि विभागले धमाधम छापा मार्दै आएको छ।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *