हरियणादेखि दिल्ली पुग्दै भारतीय किसान, सरकारले ल्याएको कानूनको विरोध

डिसी नेपाल
११ मंसिर २०७७ २३:१०

नयाँ दिल्ली (एजेन्सी)। भारतको केन्द्र सरकारले हालै ल्याएको कृषि कानूनले किसानको मुखबाट खाना खोस्ने भन्दै भारतमा किसानहरुको आन्दोलनले उग्र रुप लिएको छ। भारतका धेरै जसो राज्यहरुमा संघीय सरकारको सो कानूनको विरोधमा प्रर्दशनहरु भइरहेका बेला बिहीबार भने राजधानी राज्य दिल्लीको छिमेकी राज्य हरियणाबाट किसानहरुको आन्दोलन दिल्लीका लागि हिँडेको छ।

हरियणामा पनि भाजपाकै सरकार छ। र किसान आन्दोलनलाई हरियणा सरकारले दमन गर्ने रणनीति लिएको छ। तर, किसानहरुले भने ‘चलो दिल्ली’ आन्दोलनलाई जारी राखेका छन्। बिहीबार किसानहरुको दिल्ली पुग्ने आन्दोलनलाई रोक्न हरियणा प्रहरीले आन्दोलनकारी किसानहरुमाथि दमन गरेको छ। प्रहरीले बाटोहरुमा अवरोध स्थापना गरेर आन्दोलनकारीमाथि पानीको फोहोरा हानेको छ। यो चिसो मौसममा किसानहरुमाथि पानीको फोहोरोना हानिएकोमा विपक्षी दलहरुले त्यसको विरोध गरेका छन्।

काँग्रेस आईलगायत सबै विपक्षी दलहरुले सो कृषि कानूनको विरोध गर्दै आएका छन्। काँग्रेस शासित पञ्जावमा यो ऐनको सबैभन्दा धेरै विरोध भएको छ। पञ्जावका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले यो कानून्को विरोध गर्दै आएका छन्।

प्रहरीले आन्दोलनकारीलाई दिल्ली प्रवेश गर्न नदिने बताएपछि बिहीबार हरियणाबाट हिँडेका किसानहरु दिल्लीको सीमा नजिक पानीपतमा बसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। किसान आन्दोलनका नेता योगेन्द्र यादवले शुक्रबार दिल्लीका लागि पानीपतबाट आन्दोलन अगाडि बढ्ने बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनले जसरी पनि किसान आन्दोलन दिल्ली पुग्ने बताएका छन्।

उता उत्तरप्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका नेता अखिलेश यादवले किसान आन्दोलनमाथिको दमनलाई सरकारी आतंककारी भनेका छन्। काँग्रेस आईले पनि किसान आन्दोलनकारीमाथिको दमनको विरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *