१० दिनभित्र कोरोना भ्याक्सिन लगाउने तयारी पूरा गर्न अस्पतालहरुलाई निर्देशन

डिसी नेपाल
१३ मंसिर २०७७ १०:०१

काठमाडौं। १० दिनभित्र कोरोनाभाइरस भ्याक्सिन लगाउने तयारी पूरा गर्न बेलायतका अस्पतालहरुलाई निर्देशन दिइएको छ । द गार्डियनले स्रोतको हवाला दिँदै लेखेअनुसार बेलायतमा नेशनल हेल्थ सर्भिसका कर्मचारीहरुले यो भ्याक्सिन लगाउने पहिलो प्राथमिकता पाउने विश्वास गरिएको छ । एनएचएसका शीर्ष अधिकारीहरुले बताएअनुसार इङल्याण्डका अस्पतालहरुले फाइजर–बायोएनटेकको भ्याक्सिनको पहिलो डेलिभरी ७ डिसेम्बर सोमबारसम्म पाउनेछन् । त्यसअघि केही दिनमै नियामक निकायले भ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिने अपेक्षा गरिएको छ ।

बेलायतका विभिन्न अस्पताल स्रोतको हवाला दिँदै समाचारमा जनाइएअनुसार एनएचएसका अधिकारीहरुले अस्पतालहरुलाई ७, ८ र ९ डिसेम्बरमा भ्याक्सिनको स्टक उपलब्ध गराइने बताएका छन् । प्रारम्भिक चरणमा एनएचएस स्टाफहरुलाई मात्र भ्याक्सिन दिइने तय भएको छ । केयरहोममा बसिरहेका अशक्त र ८० वर्षमाथिका वृद्धहरुले भने प्रतिक्षा गर्नुपर्ने भएको छ । बेलायत सरकारले गरेको वर्गीकरणमा यी दुई समूहहरु कोभिड इम्युनाइजेसनमा पहिलो प्राथमिकतामा राखिएका थिए किनकि यिनीहरुलाई संक्रमण र मृत्युको उच्च जोखिममा रहेको मानिएको छ । तर, अहिले केयरहोमलाई प्राथमिकतामा नराखिएपछि केयरहोमका प्रमुखहरुले यो कदम विश्वासघात भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

गएको सेप्टेम्बरमा सरकारको सल्लाहकार समूह ज्वाइन्ट कमिटी अन भ्याक्सिनेसन एण्ड इम्युनाइजेसनले केयर होमका स्टाफ र त्यहाँ रहेका वृद्धहरु भ्याक्सिनेसनको प्रमुख प्राथमिकतामा हुनुपर्ने भनेको थियो । यसपछि ८० वर्षमाथिका जो कोही र स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा कार्यरतहरु दोसे प्राथमिकतामा हुनुपर्ने निर्णय गरिएको थियो । पब्लिक हेल्थ इङल्याण्डले शुक्रबार एनएचएसको हितमा हुने गरी यो प्राथमिकता सूची परिमार्जन गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *