चीनले अस्ट्रेलियाविरुद्ध उठायो कठोर कदम

डिसी नेपाल
१३ मंसिर २०७७ ११:३३

काठमाडौं। चीनले अस्ट्रेलियाविरुद्ध निकै कठोर कदम चालेको छ । चीनको वाणिज्य विभागले शुक्रबार अस्ट्रेलियन वाइनको डम्पिङ रोगनको लागि भारी कर बढाउने बताएको छ । चीनको वाणिज्य मन्त्रालयका अनुसार अस्ट्रेलियन वाइनमा १०७.१ प्रतिशतदेखि ११२.१ प्रतिशतसम्म कर लगाइनेछ । चीनले डम्पिङको अर्थ सामानको गुणस्तरसँग सम्झौता गर्नु भएको बताउँदै अब डम्पिङ रोक्ने बताएको द गार्डियनले जनाएको छ

अमेरिका र युरोपेली देशहरुसँगै अस्ट्रेलियाले पनि कोरोनाभाइरसको सुरुवात र यसको नियन्त्रणको लागि गरिएका प्रयासका विषयमा चीनमाथि औंला उठाएर स्वतन्त्र अन्तर्राष्ट्रिय जाँचको माग गरेपछि यी दुई देशबीच व्यापारयुद्ध सुरु भएको हो । अस्ट्रेलियाले हङकङका विषयमा पनि चीनको आलोचना गरेको थियो । एसिया प्यासिफिकमा चीनविरुद्ध अमेरिकाको नेतृत्वमा बनेको क्वाड समूहमा पनि अस्ट्रेलिया सहभागी भएपछि यी दुई देशबीचमो सम्बनध बिग्रिएको छ ।

चीन अस्ट्रेलियाका महत्वपूर्ण व्यापारिक साझेदारमध्ये एक हो । अस्ट्रेलियाको वाइन सबैभन्दा धेरै चीनमै निर्यात हुन्छ । वाइन अस्ट्रेलिया ग्रुपका अनुसार २०२० का ९ महिनामा अस्ट्रेलियाबाट भएको कूल वाइन निर्यातको ३९ प्रतिशत चीनमै निर्यात गरिएको थियो । अस्ट्रेलियाका व्यापार मन्त्री सिमन बर्मिंगमले मिडियासँग कुरा गर्दै भने ‘चीनको बजारमा आफ्नो स्थान बनाएका सबै अस्ट्रेलियन वाइन उत्पादकको लागि यो निकै कठिन समय हो ।’

अस्ट्रेलियाका कृषि मन्त्री डेभिड लिटलप्राउडले शुक्रबार आफ्नो सरकारले अस्ट्रेलियाको वाइन उद्योगलाई हरेक किसिमले सहयोग गर्ने बताए । उनले भने ‘हामी चीनको यो निर्णयले धेरै चिन्तित छौं । वाइन उद्योगको कुनै गल्ती छैन र प्रस्ट रुपमा चीनको यो निर्णयको कारण अरु नै केही हो ।हामी विश्व व्यापार संगठनमार्फत हरेक विकल्पको प्रयोग गर्नेछौं ।’ गएको अगष्टमै चीनले वाइन एसोसिएसन अफ चाइनाको गुनासोपछि वाइन सब्सिडी र डम्पिङको जाँच गरिने बताएको थियो ।

चीनमा अस्ट्रेलियन वाइन निकै सस्तो मूल्यमा बेचिन्छ । चीनको वाइन उद्योगले सस्तो अस्ट्रेलियन वाइनका कारण आफूहरुलाई ठूलो घाटा भएको बताएको थियो । चीनको वाइन उद्योगले अस्ट्रेलियन वाइनमाथि २०२.७ प्रतिशतसम्म ड्युटी लगाउन माग गरेको थियो । चीनले नोभेम्बरदेखि अस्ट्रेलियाबाट कोइला, चिनी, गहुँ, वाइन, तामा र काठको आयातमा अनाधिकारिक रुपमा प्रतिबन्ध लगाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *