बलात्कारीलाई १ सय ४६ बेतको सजाय, शरीरमा लौरो बर्सिन थालेपछि सहन नसकेर बेहोस

डिसी नेपाल
१३ मंसिर २०७७ १३:०१

काठमाडौं। इण्डोनेसियामा १९ वर्षका एक व्यक्तिलाई बालिका बलात्कारको अभियोगमा १ सय ४६ बेतको सजाय सुनाइयो । तर, सजाय भोग्ने क्रममा उनको हालत यतिसम्म बिग्रियो कि उनी बेहोस भएर त्यहीँ ढले ।

रोनी नामका यी व्यक्तिले सजाय दिने धार्मिक पुलिसलाई केही बेर रोक्न पनि भनेका थिए र बीचमा उनलाई मेडिकल उपचारको व्यवस्था पनि गरिएको थियो । तर, त्यसपछि जब फेरि उनलाई सजाय दिने क्रमलाई निरन्तरता दिइयो र उनको शरीरमा लौरो बर्सिन थाल्यो त्यसपछि उनी बेहोस भएर ढले । यी व्यक्तिलाई २०२० को सुरुवातमा एक बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको थियो ।

इण्डोनेसियाको आचे क्षेत्रमा इस्लामिक शरिया कानुन लागू गरिएको छ । यो इण्डोनेसियाको एकमात्र यस्तो क्षेत्र हो जहाँ शरिया कानुन लागू छ । यो क्षेत्रमा ५० लाख मानिस बस्छन् जसमध्ये ९८ प्रतिशत मुस्लिम छन् । सन् २००१ मा इण्डोनेसिया सरकारले यो क्षेत्रलाई स्वायत्तता दिएको थियो त्यसपछि यहाँ शरिया कानुन लागू गरियो ।

डेलीमेलको रिपोर्टअनुसार सजाय पाउने क्रममा रोनी बेहोस भएर ढलेपछि उनलाई उपचारको लागि लगिएको थियो । खासमा यी व्यक्तिलाई १ सय ६९ बेतको सजाय दिइनुपर्ने थियो तर उनको स्वास्थ्यस्थितिलाई हेरेर उनलाई त्यो सजायको लागि अयोग्य ठहर गर्दै सजाय घटाएर १४६ बेत गरिएको थियो । एक डाक्टरले डेलीमेलसँग कुरा गर्दै सुरुवाती ५२ बेत खाँदा नै उनको शरीरमा निकै ठूलो फोडा परेको र यस्तै स्थिति भएका उनका नशाहरु फुटेर उनको हालत निकै गम्भीर हुन सक्थ्यो । डाक्टरले अहिलेको लागि उनको सजाय स्थगित गरेर उनी ठिक भएपछि सजाय दिनु उचित हुने बताएका छन् ।

डाक्टरका अनुसार सुरुमा आरोपी ठिक थिए तर शायत केही डराइरहेका थिए त्यसैले उनले पटक पटक आफ्नो हात उठाएर आफूलाई गाह्रो भएको बताइरहेका थिए । जब उनको हालत अत्यन्तै खराब भयो त्यसपछि जाँच गर्दा उनको घाउ निकै गहिरो भइसकेको थियो । यसअघि सेप्टेम्बरमा पनि एक व्यक्तिलाई यौन शोषणको अभियोगका ५२ बेतको सजाय दिइएको थियो । उनी पनि सजाय पाएपछि बेहोस भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *