यसअघिको ट्रायलमा गल्ती भएपछि अक्सफोर्डको भ्याक्सिनको फेरि ट्रायल गरिने

डिसी नेपाल
१४ मंसिर २०७७ १०:४३

काठमाडौं। यसअघि गरिएको फेज ३ ट्रायलमा गडबडी भएर भ्याक्सिनको विश्वसनीयतामै प्रश्न उठेपछि अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भ्याक्सिनको पुनः ट्रायल हुने भएको छ । भ्याक्सिनको ट्रायलको काम अगाडि बढाइरहेको फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले अर्को ग्लोबल ट्रायलको तयारी सुरु गरेको छ ।

ब्लुमबर्गको रिपोर्टअनुसार अक्सफोर्डको भ्याक्सिनमाथि उठिरहेका प्रश्नको अन्त्य गर्नको लागि एस्ट्राजेनेकाले नयाँ ट्रायल गर्न चाहन्छ । एस्ट्राजेनेकाका सीइओ पास्कल सोरिएटले नयाँ ट्रायलमा भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको डाटाको फेरि जाँच होस् भन्ने कम्पनीले चाहेको बताएका छन् । यसअघि गरिएको ट्रायलको एक भागमा यो भ्याक्सिनको प्रभावकारिता ९० प्रतिशत पाइएको थियो तर ट्रायलकै अर्को हिस्सामा भने प्रभावकारिता ६२ प्रतिशत मात्र पाइएको थियो ।

एस्ट्राजेनेकाले भ्याक्सिन उत्पादनको क्रममा भएको गल्तीका कारण केही व्यक्तिहरुलाई भ्याक्सिनको कम डोज दिइएको स्वीकार गरेको थियो । रोचक त के भने गल्तीवश कम डोज दिइएका व्यक्तिहरुमा भ्याक्सिन बढी प्रभावकारी पाइएको थियो । सीइओ सोरिएटले अब भ्याक्सिन अत्यन्तै प्रभावकारी रहेको थाहा भइसकेकोले नयाँ ट्रायलमा कम समय लाग्ने बताएका छन् । भ्याक्सिनको ट्रायलमा पश्न उठ्न थालेपछि एस्ट्राजेनेकाको शेयर मूल्यमा शुक्रबारसम्म ८ प्रतिशत गिरावट आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *