इरानी वैज्ञानिकको हत्यापछि मध्यपूर्वमा हलचल, अमेरिकाले विमानवाहक युद्धपोत पठायो

डिसी नेपाल
१४ मंसिर २०७७ ११:१६

काठमाडौं। इरानका प्रमुख परमाणु वैज्ञानिक मोहसिन फखरिजादेहको हत्यापछि पश्चिम एसियामा फेरि संकट गहिरिएको छ । इरानले हत्याको बदला लिने धम्की दिएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह खमेनइले बदला लिने प्रण गर्दै भने – ती व्यक्तिहरुलाई अवश्य दण्डित गरिनेछ जसको वैज्ञानिकको हत्यामा संलग्नता छ । यसका साथै खमेनइले फखरिजादेहको हत्या भए पनि देशको परमाणु कार्यक्रम नरोकिने घोषणा गरे ।

खमेनइले शनिबार एक बयान जारी गर्दै इरानी अधिकारीहरु यो हत्यामा संलग्नहरु र यो हत्याको निर्देशन दिनेहरुको खोजीमा जुटेको बताए । इरानको प्राथमिकता दण्ड दिने भएको बताउँदै खमेनइले मोहसिन देशका प्रतिष्ठित र रक्षात्मक परमाणु वैज्ञानिक रहेको बताए । राष्ट्रपति हसर रुहानीले यसअघि वैज्ञानिकको हत्या इजरायलको योजनाअनुसार भएको आरोप लगाएका थिए ।

अमेरिकाले सम्भावित खतरासँग जुध्नको लागि भन्दै मध्यपूर्वको समुद्रमा विमानवाहक युद्धपोत पठाएको छ । युएसएस निमित्ज नामको युद्धपोतलाई वैज्ञानिक फखरिजादेहको हत्याको केही घण्टापछि नै त्यस क्षेत्रमा पठाइएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । पेन्टागनले कुनै पनि अनिश्चित घटनासँग जुध्नको लागि अतिरिक्त क्षमता बढाइएको बताएको छ ।

वैज्ञानिक फखरिजादेहको हत्याले पश्चिम एसियामा पुनः स्थिति बिग्रिन सक्ने खतरा निम्तिएको छ । यो वर्षको सुरुमा पनि यस क्षेत्रमा स्थिति बिग्रिएको थियो जब ३ जनवरीमा बगदादमा अमेरिकाले ड्रोन आक्रमण गरेर इरानको रिभोल्युसनरी गार्डस कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीलाई मारिदिएको थियो । त्यतिबेला इरानले इराकमा रहेका अमेरिकी सैन्य अड्डामा कैयौं मिसाइल आक्रमण गरेको थियो ।

६२ वर्षका वैज्ञानिक फखरिजादेह पछिल्लो एक दशकमा मारिने पाँचौं इरानी वैज्ञानिक हुन् । पश्चिमी देश र इजरायलले फखरिजादेहलाई इरानको परमाणु कार्यक्रमको नेतृत्वकर्ता मान्थे । यसअघि २०१० देखि २०१२ को बीचमा ४ जना इरानी वैज्ञानिकको हत्या भएको थियो । तेहरानले यी हत्याहरु आफ्नो परमाणु कार्यक्रम बिगार्नको लागि भइरहेको आरोप लगाउँदै आएको छ ।

यसअघि १२ जनवरी २०१० मा पार्टिकल फिजिक्सका विशेषज्ञ मसूद अली मुहम्मदीको बम आक्रमणमा हत्या भएको थियो । २९ नोभेम्बर २०१० मा परमाणु वैज्ञानिक माजिद शहरियारलाई पनि बम आक्रमण गरेर मारिएको थियो । त्यसपछि २३ जुलाइ २०११ मा परमाणु गतिविधिसँग जोडिएका दरियाह रेजाइनजादको बन्दूकधारीहरुले गोली हानेर हत्या गरेका थिए । ११ जनवरी २०१२ मा युरेनियम संवद्र्धन केन्द्रका उपप्रमुख मुस्तफा अहमदी रोशनको पनि बम आक्रमणमा हत्या भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *