एक वैज्ञानिकको हत्याले पूरै विश्वमा हलचल किन भयो ? को हुन् मोहसिन फखरिजादेह ?

डिसी नेपाल
१४ मंसिर २०७७ ११:४०

काठमाडौं। इरानी परमाणु वैज्ञानिक मोहसिन फखरिजादेहको राजधानी तेहरानमा हत्या गरिएको छ । यो हत्याले पूरै अन्तर्राष्ट्रिय राजनीतिलाई प्रभावित पारेको छ । यसको असर इरानको परमाणु कार्यक्रममा मात्र नभइ पूरै मध्यपूर्वको शान्ति प्रक्रियामा समेत पर्नेछ । यो हत्यापछि इजरायल र इरानको सम्बन्धको समीकरण पनि बदलिएको छ । र, यसको प्रभाव अमेरिकासम्म पुगेको छ ।

अमेरिकाले सम्भावित खतरासँग जुध्नको लागि भन्दै मध्यपूर्वको समुद्रमा विमानवाहक युद्धपोत पठाएको छ । युएसएस निमित्ज नामको युद्धपोतलाई वैज्ञानिक फखरिजादेहको हत्याको केही घण्टापछि नै त्यस क्षेत्रमा पठाइएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । पेन्टागनले कुनै पनि अनिश्चित घटनासँग जुध्नको लागि अतिरिक्त क्षमता बढाइएको बताएको छ । यस्तोमा यी वैज्ञानिक को हुन् भन्ने जिज्ञासा उत्पन्न हुनु स्वभाविक हो जसको इरानमा हत्या हुँदा यसले वाशिङटनमा हलचल ल्याएको छ ।

मोहसिन इरानका सबैभन्दा प्रमुख परमाणु वैज्ञानिक थिए । मोहसिनलाई इरानको परमाणु कार्यक्रमका पिता मानिन्छ । उनले इरानमा कथित परमाणु कार्यक्रम ‘अमाद’ वा ‘होप’को नेतृत्व गरेका थिए । पश्चिमी देशका सुरक्षा विशेषज्ञका अनुसार उनी इरानमा निकै शक्तिशाली थिए । इरानको पूरै परमाणु कार्यक्रमको जिम्मेवारी उनकै काँधमा थियो ।

२०१५ मा न्यूयोर्क टाइम्सले मोहसिनको तुलना जे रोबर्ट ओपनहाइमरसँग गरेको थियो । ओपरहाइमर यस्ता वैज्ञानिक थिए जसले म्यानहट्टन परियोजनाको नेतृत्व गरेका थिए । उनले दोस्रो विश्वयुद्धको क्रममा विश्वकै पहिलो परमाणु बम बनाएका थिए । इजरायलले २०१८ मा मोहसिनले पनि इरानको परमाणु हतियार कार्यक्रमको सुरुवात गरेको दावी गरेको थियो । त्यतिबेला इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक पत्रकार सम्मेलनमा मोहसिन इरानको परमाणु कार्यक्रमका प्रमुख वैज्ञानिक भएको बताएका थिए । उनले जोड दिएर मोहसिनको लामलाई सम्झिरहन भनेका थिए ।

मोहसिनको हत्याको आरोप इरानले इजरायलमाथि लगाएको छ । इरानका प्रधानमन्त्री हसन रुहानीले मोहसिनको हत्या इजरायलको योजनाअनुसार भएको बताएका छन् । इरानका सर्वोच्च नेता अयोतुल्लाह खमेनइले यो हत्यामा संलग्न र हत्याको पछाडिका रणनीतिकारलाई दण्डित गरिने प्रण गरेका छन् । खमेनइले अहिले इरानको प्राथमिकता दोषीलाई दण्ड दिनु रहेको बताएका छन् । अर्कोतर्फ यही समयमा अमेरिकामा सत्ता परिवर्तनको समय भएको छ । अमेरिकाको सत्ता परिवर्तनले मध्यपूर्वमा इजरायल र इरान सम्बन्धमा अमेरिका फ्याक्टरको अर्थपूर्ण उपस्थिति देखिनेछ ।

अमेरिकाको निर्वाचनमा डोनाल्ड ट्रम्पको पराजयले यता इरानका विषयमा इजरायलको चिन्ता बढाएको छ । इजरायलको यो चिन्ताको पछाडि ठोस कारण छ । अमेरिकाका बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता खारेज गरिदिएका थिए तर नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले २०१५ मा भएको त्यो परमाणु सम्झौताको पुनर्बहाली गर्ने घोषणा गरिसकेका छन् । बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हाल्नको लागि अब करिब डेढ महिना मात्र बाँकी छ ।

बाइडेनले परमाणु सम्झौता पुनर्बहाली गर्ने घोषणा गरेसँगै इजरायलको चिन्ता बढेको छ । यसअघि परमाणु सम्झौता रद्द गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणु अड्डाहरुमा आक्रमण समेत गर्न सक्ने चर्चा थियो । तर, ट्रम्पको पराजयसँगै त्यो सम्भावित आक्रमणको खतरा पनि टरेको छ । बाइडेनले इरानसँगको सम्बन्ध सुधार गर्ने घोषणा गरिसकेका छन् । यस्तोमा मोहसिनको हत्याले इरानको परमाणु कार्यक्रमलाई धक्का भने लाग्नेछ जुन इजरायलको लागि राहतपूर्ण हुन सक्छ ।

६२ वर्षका वैज्ञानिक फखरिजादेह पछिल्लो एक दशकमा मारिने पाँचौं इरानी वैज्ञानिक हुन् । पश्चिमी देश र इजरायलले फखरिजादेहलाई इरानको परमाणु कार्यक्रमको नेतृत्वकर्ता मान्थे । यसअघि २०१० देखि २०१२ को बीचमा ४ जना इरानी वैज्ञानिकको हत्या भएको थियो । तेहरानले यी हत्याहरु आफ्नो परमाणु कार्यक्रम बिगार्नको लागि भइरहेको आरोप लगाउँदै आएको छ । इरानले यी सबै हत्या इजरायलकै निर्देशनमा भएको मान्दै आएको छ किनकि इरानको परमाणु कार्यक्रम इजरायललाई निकै खट्किरहेको मानिन्छ ।

यसअघि १२ जनवरी २०१० मा पार्टिकल फिजिक्सका विशेषज्ञ मसूद अली मुहम्मदीको बम आक्रमणमा हत्या भएको थियो । २९ नोभेम्बर २०१० मा परमाणु वैज्ञानिक माजिद शहरियारलाई पनि बम आक्रमण गरेर मारिएको थियो । त्यसपछि २३ जुलाइ २०११ मा परमाणु गतिविधिसँग जोडिएका दरियाह रेजाइनजादको बन्दूकधारीहरुले गोली हानेर हत्या गरेका थिए । ११ जनवरी २०१२ मा युरेनियम संवद्र्धन केन्द्रका उपप्रमुख मुस्तफा अहमदी रोशनको पनि बम आक्रमणमा हत्या भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *