प्रचण्डविरुद्ध ओलीको आक्रामक प्रत्यारोप, यस्ता छन् ओलीले लगाएका आरोप

डिसी नेपाल
१४ मंसिर २०७७ १४:०२

काठमाडौं। मंसिर १३ गते शनिबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालमाथि संगीन आरोपहरु लगाएका छन्।

भारतको नाम नलिई तर प्रष्ट बुझिने गरी भारतको इशारामा काम गरेकोदेखि लिएर दलाल व्यपारीका लागि सरकारलाई अनावश्यक दवाव दिने गरेको, शान्ति प्रक्रियामा आएदेखि नै छलछामपूर्ण राजनीति गरेको जस्ता आरोप लगाएका छन्।

ओलीको ३८ पेजको दस्तावेजमा प्रचण्डको यसअघिको १८ पेजको ओलीप्रतिको अरोपमाथि जवाफी हमला गरिएको छ। ओलीले मुख्यरुपमा निम्न आरोपहरु प्रचण्डमाथि लगाएका छन् :

१. पार्टीका बैठकहरुलाई अग्रगामी एजेण्डाबाट बरालेको र व्यक्तिगत आरोप–प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहको।

२. मनमा धेरै आक्रोश, आग्रह, घृणा र कुण्ठा पाली सरकार र पार्टी सञ्चालनमा असहयोग गरेको।

३. एकतर्फी लिखतमार्फत् पार्टीभित्रका असहमतिहरुलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदलेको र कम्युनिष्ट आन्दोलनलाई गंभीर संकटमा धकेलेको।

४. राजनीतिक अस्थिरताका पक्षधरहरुलाई हौसला दिएको। आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध झूठको खेती गर्दै आरोपपत्र तयार गरेर हात हातमा बाँडेर आफ्नै पार्टीलाई खुल्याउने काम गरेको।

५.कुनै संस्थागत निर्णयबिनै आफ्ना आरोपहरुलाई पार्टीको लोगो र केन्द्रीय कार्यालयको नाम अनधिकृत रुपमा प्रयोग गरेर प्रकाशन गरेको।

६. पहिलो संविधानसभा निर्वाचनयता पनि अरुकै इशारा (भारतको) मा र निर्वाचन सफलताको उन्मादमा पहिले गिरिजाप्रसाद कोइरालालाई र पछि माधवकुमार नेपाललाई अन्तिम अवस्थामा धोखा दिएको र राष्ट्रपति पदमा उम्मेदवारी दाखिला गर्नुभन्दा केही मिनेट अगाडि मात्र संसदीय दलको कार्यालयमा तत्कालीन नेकपा (एमाले) महासचिव झलनाथ खनाललाई बोलाएर माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन गर्न सकिँदैन भन्दै धोखापूर्ण राजनीति गरेको। ती दाउपेचहरु अरुकै इशारामा गरेको।

७. मुलुकलाई संविधानसभा भंग गरी जनप्रतिनिधि शून्य बनाई इतिहासमै भुल्न नसकिने गलत काम गरेको।

८. यस संविधानको पूर्ण कार्यान्वयनमार्फत् अपेक्षित परिणाम निकाल्नेमा होइन, संशोधनको नाममा निरन्तर प्रयोग एवं परीक्षण र विभिन्न बहानामा अन्ततः अस्थिरतामै रम्न खोजेको ।

९. आफ्नै पार्टीको प्रधानमन्त्रीका विरुद्ध आफ्नै दलका सांसदहरुलाई हस्ताक्षर गराउन विकास निर्माणका योजना माग गर्न सही गराएको भन्दै छल गरेर हस्ताक्षर संकलन गराएको।

१०.  सूर्य चिन्ह लिने भनेर दुई पार्टीबीच हस्ताक्षर गरिसकेपछि अरुकै दवाव (भारत?) मा भोलिपल्टै त्यसलाई अस्वीकार गरेको।

११. सत्तालिप्साले ग्रस्त व्यवहार गरेको। एउटै चुनावी घोषणापत्रसहित, वाम गठबन्धन बनाएर चुनाव लडेको अवस्थामा आफू प्रधानमन्त्री बन्न आरु पार्टीसँग प्रयास गरी अनैतिकता देखाएको। प्रधानमन्त्री बन्ने अवसर गुमाएको होइन नसकेर नबनेको।

१२. आफ्नै दलको सरकारलाई गठन हुँदाको प्रारम्भ देखिनै असयोग गर्ने नियोजित सरकार बिरुद्ध षडयन्त्र गर्ने, राज्यका संयन्त्रमाथि अनधिकृत हस्तक्षेप गर्ने र दबाब दिने काम गरेको।

१३. निर्वाचन परिणाम, नयाँ सरकार गठन र एकीकरणले ल्याएको उत्साहमा चिसो पानी खन्याउने गरीे आफ्नो भारत भ्रमणको क्रममा आलोपालो प्रधानमन्त्रीको सहमति भएको खुलासा गरेको। यसबाट राष्ट्रिय स्वाधिनता, हित र स्थायीत्वमाथि गम्भिर प्रतिकूल असर पुर्याएको। विदेशी भूमिमा गएर राजनीतिक अस्थिरताको सन्देश दिन खोजेर देश विरोधी काम गरेको।

१४. आफू अव छिट्टै प्रधानमन्त्री बन्छु तपाईंका इस्यूहरु त्यसपछि सल्टाउँला भन्दै मित्रराष्ट्रहरुका कतिपय विषय अल्झाएको। (एमसीसीका सन्दर्भमा प्रचण्डले अमेरिकालाई यस्तो आश्वासन दिने गरेकोतर्फ लक्षित आरोप हो यो।)

१५.कार्यकारी अध्यक्षका रुपमा जिम्मेवारी प्राप्त व्यक्तिले आफ्नो निवासलाई निश्चित समूहका साथीहरुमात्रै बस्ने गुटबन्दीको हेडक्वार्टर बनाएको। पार्टी बैठकहरुलाई गुटका निर्णय अनुमोदन गर्ने थलोमात्र बनाएको।

१६. पार्टी सञ्चालनको जिम्मा पाएर पनि काम गर्न नसकेको।

१७. सरकारलाई असफल बनाउन कामै गर्न नदिने, आफ्ना गुटका मन्त्रीहरुलाई आफैं चलाउने गरेको।

१८. कार्यकारी अधिकार सहित पार्टी सञ्चालनको जिम्मा पाएपछि पछिल्लो चोटी १५ दिनभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको काम शुरु नै नगरेको, सचिवालय बैठकमा १० दिनभित्रका यस सम्बन्धी लिखित प्रस्ताव ल्याउँछु भनेर नल्याएको। महाधिवेशनका लागि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेन्डा तय गर्न गृहकार्य नगरेको।

१९. पार्टी एकीकरणपछि पनि आफ्नो पूर्वमाओवादी केन्द्रको कुरा गर्ने र पूर्वमान्यता बोकेरा हिड्ने काम गरेको। चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल गरेको।

२०. बाहिर बाहिर लाल पुँजीवादको चर्को विरोध गर्ने, तर भित्रभित्र आफूमाथि लगानी गर्ने व्यवसायीको संरक्षणका लागि अनेकौँ दबाब दिने, अवैध स्रोतबाट भित्रिन खोज्ने रकमलाई सहजीकरणका लागि लबिङ गर्ने र मन नपरेका लगानीकर्ता या व्यवसायीलाई दलाल पुँजीवादीको आरोप लगाउँदै हतोत्साही गर्ने काम गरेको।

२१. दुखान्तका रुपमा त इतिहास दोहोरिइनै सकेको छ, के तपाईं अर्को प्रहसनको पर्खाइमा हो ?

२२. विरोधीभन्दा चर्को गरी सरकारको विरोधमा उभिनुहुन्छ, सरकार ढाल्न भित्रभित्रै खेल खेल्नुहुन्छ।

२३. इस्युमा हाम्रा समर्थन र विरोध हुन सक्छ भनेर चल्छौँ कि खास देश या देशहरु निश्चित कित्ताका, निश्चित प्रणालीका हुनाले तिनको स्थायी रुपमा विरोध गर्छौँ?

२४. विप्लवले अगाडि बढाइरहेको हिंसा निन्दनीय हो कि रातो झण्डाको आवरणमा भएकाले त्यसप्रति नरम हुन मिल्छ? मिल्दैन भने, किन स्पष्ट भाषामा खण्डन र भत्र्सना गर्नुहुन्न?

२५. मलाइ नातावादको निराधार आरोप लगाउनु पूर्व तपाईंले एकचोटी आफैलाई नियालेर हेर्नुभएको भए हुन्थ्यो।

२६. म ‘धर्म’ र ‘पाप’मा विश्वास गर्दिनँ। तर यस्ता आरोप सुन्दासुन्दा कहिलेकाँही दिक्क लागेर सोच्ने गर्छु, साथीहरुले यति घटिया ‘पाप’ पनि कसरी चिताउन सक्दा हुन्?

२७. विशेष अवस्थामा राष्ट्राध्यक्ष, सरकार प्रमुखले गैर कूटनीतिक क्षेत्रका प्रतिनिधि पठाउने प्रचलन विश्व राजनीतिमा छ कि छैन? त्यसरी पठाइएका प्रतिनिधिलाई उनको पदीय हैसियत सोधेर भेट्ने नभेट्ने तय गरिन्छ?

२८. मलाइ निकै दुःख लाग्छ ती साथीहरुको आरोप सुन्दा, जसको विदेशी गुप्तचर पदाधिकारीहरुसँगको अपारदर्शी भेट र सम्बन्धमा एकखालको लत नै बसेको छ।

२९. भ्रष्टाचारका थुप्रै विषय जनस्तरमा चर्चामा छन्। कतिपय विषय सम्बन्धित संवैधानिक अंगको टेबुलमा पनि छन्। मान्छेहरुले कतिपयमा तपाईंलाई पनि जोड्ने गरेको देखेको छु। म त अख्तियार प्राप्त संस्थाले विधिसम्मत ढंगले गर्ने काममा राजनीतिक व्यक्तिहरु बोल्नु उचित हुँदैन भन्ने ठान्छु।

३०. वाइडबडी भनिने ‘एयरबस ३३०’ खरिद गर्दा सरकारमा को थियो? ३८ क्विन्टलभन्दा बढी सुनको तस्करी हुँदा को सत्तामा थियो? ललितानिवास प्रकरण कहिलेबाट र को को हुँदै अगाडि बढेको थियो?

३१. कि यी आरोपहरु पुष्टि गर्नुस्, होइन भने परिणामको जवाफदेही लिन तयार हुनुस्।

३२. म आज खुल्ला आह्वान गर्न चाहन्छु–त्यागको यो सिलसिला आजै सुरु गरौँ। बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरूले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ। म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो?

३३. प्रधानमन्त्री बनाउने, तर उसले विश्वास गरेको टिम छनोट गर्न नपाउने,उपयुक्त ठाउँमा नियुक्ति गर्न पनि नपाउने, मन्त्रीहरुलाई उसले होइन अरु कसैले चलाउने,उसका हातखुट्टा चारैतिर बाँधिने,तर परिणाम भने उसैले दिनु पर्ने, जवाफदेही पनि उही हुनु पर्ने?

३४. केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक–एमालेको एकजना भए पनि बढी संख्या छ। बहुमतको त्यो अंकगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो?

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *