काठमाडौं महानगरमा अब नेवारी भाषाको विषय अनिवार्य पढ्नुपर्ने

डिसी नेपाल
१९ मंसिर २०७७ १८:१९

काठमाडौं। काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पठन पाठन गराउन स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ। महानगरले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक पठनपाठन गराउने भएको हो।

नेपालको संविधानको भाग ३ मौलिक हक सम्बन्धी व्यवस्था छ। यसअन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ््यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। सोही व्यवस्थाका आधारमा महानगरले यो पाठ्यपुस्तक तयार गरेको हो।

यो पुस्तक महानगरभित्रका सबै संस्थागत र सामुदायिक विद्यालयहरूमा पठाइने छ। कक्षा १ देखि ८ सम्म स्थानीय नेपाल भाषाको अध्यापन गराउन ५१ आँै कार्यपालिका बैठकले चालु क्षैक्षिक सत्रबाटै पठन–पाठन सुरु गर्ने निर्णय गरेको थियो। शिक्षा विभागका अधिकृत मोती खनालकाअनुसार गएको वैशाख–जेठबाट तयारी सुरु गरिएको थियो। कोभिड १९ र त्यसको असरबाट उत्पन्न परिस्थितिका कारण पाठ््यपुस्तक छपाइलगायतका काममा ढिलाई भएको थियो। शिक्षा बिभागले महानगरको एफ. एम. रेडियोबाट पठनपाठन गराइरहेको छ।

महानगरपालिका भित्र ९२ वटा सामुदायिक विद्यालय मध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरुका लागि सञ्चालनमा छन्। संस्थागत विद्यालयको संख्या करीब ६ सय ४० रहेको छ। यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुनेछ।

‘पाठ्यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय समेटिएका छन्। ‘पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, परम्परागत खेलजस्ता विषय समेटिएका छन्। बालबालिकालाई नेवार भाषा लाद्ने गरी होइन।

परम्परागत ज्ञान सीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको हो। बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुनेछ। त्यस्तै कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ। कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको छ।

काठमाडौं महानगर ऐतिहासिक कालदेखि नेपालभाषाभाषीहरूको बसोवास रहँदै आएको स्थान हो। यही कारण महानगरले स्थानीय भाषाको पाठ्यपुस्तक नेपालभाषामा तयार गरेको हो। काठमाडौं महानगरको भित्रका अधिकांश ठाउँको नाम नेपाल भाषामै छन्। काठमाडौंको परिचयसँग जोडिने धेरै शव्द नेपाल भाषामा नै छन्। त्यसकारण नेपाल भाषाको स्थानीय पठनपाठनले नगरलाई अझ नजिकबाट बुझ्न सकिने अपेक्षा गरिएको छ।

पाठ्यपुस्तकर पाठ्यक्रम लेखनमा सुरुदेखि सहभागी हुँदै आएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा वज्राचार्यले पाठ्यपुस्तक नेपालभाषामा लेखिएको भए पनि यो भाषा सिकाउने पुस्तक नभएको जानकारी दिए।

पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिएको उनको भनाइ छ। ‘यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन। ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात समेत गर्न सकुन भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने तयारी भएको डा. वज्राचार्यको भनाइ छ।

महानगरपालिकाले सातौं नगरसभाबाट स्थानीय पाठ्यक्रमअन्तर्गत स्थानीय महत्वका विषय बारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरको थियो।

अहिले कक्षा १ का लागि पाठ््यपुस्तक तयार भइसकेको छ। कक्षा २ देखि कक्षा ८ सम्मका पुस्तकहरू डिजाइनको चरणमा छन्। पूर्ण रूपमा रङ्गीन ८० पृष्ठ रहेको यो पुस्तक नेपालभाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सकिने शैलीमा लेखिएको छ। पुस्तकमा नेपालभाषाका शब्द र पदावलीहरूको अर्थ नेपाली भाषामै लेखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *