‘महिला साहित्यकारको लेखनलाई कम मूल्यांकन गर्न मिल्दैन’

नेपाली साहित्यमा उषा शेरचन नौलो नाम होइन। नेपाली चर्चित गीत संगीतमा चलेको उषाको कलम कथा, कविता र उपन्याससम्म लेख्न सफल भएको छ। साहित्यकार शेरचनले भाग्य प-यो चिरा, बाचा म गर्दिन, कहिलेकाहीँ अमिलो अमिलो हुन्छ, खोलाको दुई किनार भो जस्ता गीतहरुमा सृजना गरेकी छन्।

उनका, विभेदना (लघुकथा), साउनको व्रत, छाउपडी, तेस्रो रंग, अर्को क्षितिज, नरोजेका बाटाहरु लगायत (कथा), विद्रोहको पहिलो पाइला (संस्मण) लगायतका साहित्यिक कृति बजारमा उपलब्ध छन्। पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार र रत्नश्री सुवर्ण पदक प्राप्त साहित्यकार उषा शेरचनसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेकाे गरेकाे कुराकानीको सम्पादीत अंश :

पहिलो कविताको परिकल्पना कसरी गर्नु भएको थियो? पहिलो पटक मनमा कविताका हरफहरु गुथ्ने र त्यसलाई कागजमा उतार्ने काम गर्दा तपाईँको मन, मस्तिष्क र विचारले कसरी समन्वय गरेको थियो?

कुनै पनि कुरामा जन्मजात गुण त हुनैपर्छ। लेखनमा पनि त्यही गुणले काम गर्ने भएकोले नै होला सायद,म सानैदेखि अलि बढी नै संवेदनशील थिएँ। अनि मेरो जीवन र जगतप्रति हेर्ने दृष्टिकोण अलि बेग्लै थियोे!  कुनै पनि बिषयले छोएपछि मस्तिष्कमा तरङ्ग उत्पन्न हुन्छ कहिले भने कहिले यतिकै दिमागमा बिजुलीझैँ चम्किन्छ र लेख्छु कविता, मुक्तक र गीत भने।

तर कथा भने हाम्रो वरिपरि घटिरहेका कुरा र पात्रहरूको सुक्ष्म अध्ययन र पत्रपत्रिका र अन्य सञ्चारका माध्यमबाट अवगत हुने मुद्दाका विषयमा केन्द्रित रहेर परिवार एवम् समाजमा हुने गरेका विसंगति विकृति कुरीति अनि विभेद विरुद्ध लेख्ने गर्छु। “आधि/ उपन्यास भने मैले यौन हिंसामा आधारित रहेर लेख्छु भन्ने सोच राखेर निकै अनुसन्धानपछि दिमागमा एउटा खाका तयार गरेर मात्रै लेखेकी हुँ। यसकारण यस्तै हिसाबकिताबले लेख्ने गर्छु भनेर भन्न चाहिँ अलि मुस्किललै पर्छ मलाई चाहिँ।

 लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ। के कस्ता लैङ्गिक हिंसा विरुद्धमा यहाँको कलम चलेको छ?  हाम्रो समाजमा लैङ्गिक हिंसाको अन्त्यका लागि साहित्यकारको भूमिका कस्तो हुन्छ?

हामी अक्षरका खेती गर्नेहरूको धर्म र कर्म भनेकै लेख्नु हो ! मैले कथा कविता मुक्तक र गीत मात्रै नभइ एउटा सिङ्गै उपन्यास “आधि” नै लेखेकी छु।  नाेभेम्वर २५ तारिख संयुक्त राष्ट्रसंघकाे महासभाले सन १९९९ “अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ” काे घाेषणा गरेको पनि एक्काइसौं वर्ष पूरा भइसकेको छ।

बीस वर्ष देखि १६ दिने महिला हिँसा विरुद्धका अभियान चलाएर पनि खासै परिवर्तन भएझैँ लाग्दैन। उल्टै महिला हिंसा झन् बढ्दो छ। जबसम्म आफूलाई पूरा ढाक्ने कपडा किन नलगाएको? छोटो स्कर्ट वा स्विमसूट किन लगाएको ? अहिलेसम्म बिहे किन नगरेको? बिहेपछि फेरि बच्चा किन नपाएको?आइमाई भएर पनि यो के गरेको ? त्यो के गरेको ? यो किन नगरेको ? त्यो किन नगरेको? केही भन्ने साहस गरेछन् भने “घरायसी कुरा अनि लोग्नेस्वास्नीको झगडा” भन्दै सहज रूपमा लिने गरेसम्म।

हामी अक्षरका खेती गर्नेहरूको धर्म र कर्म भनेकै लेख्नु हो ! मैले कथा कविता मुक्तक र गीत मात्रै नभइ एउटा सिङ्गै उपन्यास “आधि” नै लेखेकी छु।  नाेभेम्वर २५ तारिख संयुक्त राष्ट्रसंघकाे महासभाले सन १९९९ “अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ” काे घाेषणा गरेको पनि एक्काइसौं वर्ष पूरा भइसकेको छ।

बलात्कारको शिकार वा अन्य कारणले कुमारी आमा बनेकालाई वा स्वइच्छाले नै विवाह नगरी अहिलेको प्रविधि मार्फत आमा बन्न चाहनेलाई समाज र परिवारले सहजरूपमा नस्विकारेसम्म।  दाइजो प्रथा नरोकिएसम्म र छाउगोठ जान बाध्य पारिएसम्म। एकल महिलालाई गलत नजरले हेर्न र हेप्न नछाडेसम्म।छोरीलाई पनि छोरा सरह हुर्काएर समान अवसर प्रदान नगरेसम्म।

अनि इज्जतको खातिर जस्तै घरेलु वा अन्य हिंसा र विभेदलाई चुपचाप सहन बाध्य पार्दै उल्टै रुढीबादी सोच सहित अनेकन लाञ्छना लगाएर शंका उपशंका गर्न नछाडेसम्म।  हरेक कुरामा जज गर्न बन्द नगेरसम्म महिला माथि हुने हिंसा तबसम्म अन्त्य हुने छैन भनेर सोच्न आवश्यक छ। र, आआफ्नो सोचमा परिवर्तन गर्न जरुरी छ। नत्र यो अभियानकै रुपमा मात्रै रहनेछ।

महिला साहित्यकारको नाम लिदा अझै नि नगन्यको नाम आउछ, यसको कारण के होला ?

महिला लेखनको इतिहासको हिसाबले धेरैपछि भए तापनि महिला साहित्यकारहरूको लेखनलाई कम मूल्यांकन गर्न नमिल्ने भए तापनि पितृसत्तात्मक समाजको सोचबाट साहित्य पनि अछुतो छैन। त्यसैले महिला साहित्यकारको नाम उल्लेख गर्न कन्जुस्याइँ गर्ने कारण नै प्रमुख हो भन्ने लाग्छ मलाई।!

 संख्या पो कम होला, क्वालिटी नि कम छ र ?

अवश्य छैन। अहिले त संख्यामा पनि र क्वालिटीमा पनि कम छैन। तर सही मूल्यांकन भने हुन सकेको छैन। “साउनमा आँखा फुटेको गोरु सधैं हरियो देख्छ” भन्ने उखान चरितार्थ हुन्छ यस मामिलामा सायद।

 पारिजातको नाम बाहेक महिला साहित्यकारको नाम खासै लिएको नि पाइन्न किन होला ?

म स्वयं पनि आश्चर्यचकित हुन्छु सधैंभरि किन होला भनेर? साँच्चिकै पनि किन होला?

सन्तान हुर्काउन र साहित्य रचना गर्न उस्तै हो ?

उस्तै त नहोला। किनभने संसारका सबै आमाले आफ्ना सन्तानलाई हुर्काउन सक्छन्। तर संसारका सबै आमाले साहित्य सिर्जना गर्न भने सक्तैनन्। यश अर्थमा आफ्ना सन्तान पनि हुर्काउने र साहित्य रचना पनि गर्ने आमाहरू भने दुवैको आनन्द बराबर हिसाबले उठाउन सक्ने भाग्यमानी भित्र पर्छन् भन्न चाहिँ सकिन्छ बरु।

यहाँले कविता, कथा, उपन्यास र गीतहरु सबै विधामा कलम चलाउनु हुन्छ, यहाँले सबै विधामा कलम चलाउँदा सबैभन्दा महत्वका साथ कुन विषयमा कलम चलाउनु भएको छ? बिशेषगरि साहित्यको कुन विधामा कलम चलाउँदा यहाँलाई आनन्द आउछ ?

सिर्जना फोटोकपी नभएको कारणले साहित्यका सबै विधालाई उतिकै महत्त्व दिन्छु मैले। कथा र उपन्यास लेखनले समय अलि बढी खाने मात्रै हो । यो त्यो भन्ने छैन जुनसुकै विधामा कलम चलाउँदा पनि आनन्द भने उस्तैउस्तै लाग्छ।

महाकवि लक्ष्मिप्रसाद देवकोटाले सबै कृतिहरु जलाए पनि मेरो मुना मदन नजलाउनु भन्नु भएको थियो। यहाँलाई आफूले लेखेको कुन कृति यस्तो लाग्छ जुन शेष पछि पनि जिवीत राखोस?

महाकविले किन त्यस्तो भन्नुभयो ? त्यो त महाकवि स्वयंलाई थाहा हुने कुरा भयो। तर मैले त यस्तो भन्ने हिसाबले लेख्न सकेकै छैन।

एकजना साहित्यकारले साहित्य लेख्नु भनेर लेखिँदैन। देउता चडेजस्तो रनन… आउछ भन्नु भएको थियो। यहाँको साहित्य लेखन कसरी सुरु हुन्छ?

केही हदसम्म सही हो पनि। लेख्न नै बस्ने भनेर त विरलै लेखिन्छ नलेखिने त होइन तथापि अधिकांश चाहिँ दिमागमा बिजुली चम्केझैँ सिर्जना चम्केपछि र मुड आएपछि मात्रै लेख्ने गर्छु मैले पनि।

यहाँको लेखनले राजतन्त्र र गणतन्त्र दुईवटै व्यवस्थामा कलम चलाएको छ। उतिबेलाको लेखन र अहिलेको लेखनमा के कति फरक पाउनुहुन्छ?

उतिबेला लेखन स्वतन्त्रता उति नभएको कारणले अलि गाह्राे भए तापनि लेख्न त लेखिन्थ्यो। अहिले लेखनमा स्वतन्त्रता छ। तर देशमा कुनै आमूल परिवर्तन नभएको हिसाबले होला चालिस वर्ष पहिले लेखिएका रचनाहरू पनि अहिलेसम्म पनि उस्तै सार्थक र समयसापेक्ष लाग्छ।

गृहणी र साहित्यकार हुनमा कुन सजिलो। यहाँले गृहणी भनेर नै चिनाउनु हुन्छ किन ?

दुवै भिन्दा भिन्दै बिषय हुन्। तथापि दुवै चुनौतीपूर्ण भने हुन्छन् नै। तर छोरीलाई अरूको घरमा जाने भनेर घरखानसक्ने हिसाबले हाम्रो अभिभावकले हुर्काउने भएको कारणले गृहिणीकै भूमिका सजिलो होला साहित्यकारभन्दा त।

 लेखेर जीवन यापन हुन्छ ?

विदेशमा त अवश्य पनि ! तर हाम्रो नेपालको सानो बजारको कारण अौँला भाँच्न सकिने एकाध होलान्। त्यो बेग्लै कुरा भयो। बाँकी त जीवन यापनका लागि वैकल्पिक बाटो वा पेशा नै अपनाउनु पर्छ आजसम्मको हकमा भने!

 यहाँलाई साहित्यकार बन्ने प्रेरणा कहाँबाट आयो?

खोइ यस्तै भन्न सक्दिनँ । तर म नियतिमा अत्यन्तै विश्वास गर्ने भएको कारणले नियति नै हुनुपर्छ अनि जीवन र जगत नै हुन् मेरा प्रेरणाका श्रोतहरू पनि।

 साहित्यकार बन्न चाहने युवा पुस्तालाई के सुझाव दिनहुन्छ?

साहित्य तपस्या हो साधना हो ।। ख्यालख्यालको रहर अवश्य होइन। जन्मजात गुण हुने आजका युवा पुस्ताले विश्व साहित्य बुझ्न र पढ्न जरुरी छ।  हाम्रो पालामाजस्तो गाह्राे छैन। उच्च प्रविधिको विकास र विभिन्न माध्यमबाट ग्रहणका लागि। तर सिर्जना भने नितान्त आफ्नै शैलीको हुनुपर्छ ! ताकि आफ्नो सिर्जनामा आफ्नै अनुहार देखियोस्।

सहित्यको चास्नीमा डूबुल्की मार्दा फाइदा के र बेफाइदा के के हुन्छ?

फाइदा बेफाइदा भन्दा पनि पैसाले किन्न नसकिने आत्मसन्तुष्टि पाइन्छ यो नै सबैभन्दा ठूलो फाइदा हो भने बेफाइदा गृहिणीको सबै काम कुरा र भूमिका सकेर भ्याइनभ्याई पनि समय दिनुपर्ने हुन्छ।

अन्त्यमा डिसी नेपालमा यहाँ सँगको कुराकानी पढीरहेका पाठकवर्गलाई केही भन्नु छ कि! 
हामीले लेख्ने भनेकै आदरणीय पाठक गणकै लागि हो। एउटा साहित्यकारका लागि मान सम्मान र पुरस्कारभन्दा ठूलो कुरा आदरणीय पाठकगणकै माया हो भन्ने लाग्छ मलाई। त्यसैले मैले मेरो उपन्यास “आधि” आदरणीय पाठकगणकै सम्मानमा आदरणीय पाठकगणप्रति नै समर्पण गरेकी हुँ।

सबै सुरक्षित रहनु होला। मलाई सम्झनु भएकोमा डिसी नेपाल अनि बौद्धिक सुन्दरी यसोदा तिम्सिना लगायत सम्पूर्णप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो